१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
यानिस भारुफाकिस
Invalid date format ११:४५:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

मौजुदा लोकप्रियतावादमा मार्क्सवाद थप सान्दर्भिक

Read Time : > 2 मिनेट
यानिस भारुफाकिस
नयाँ पत्रिका
Invalid date format ११:४५:oo
  • जब हामी ठुला प्रविधि कम्पनी, वित्तीय पुँजी र राज्यको घेराबन्दीलाई बुझ्ने प्रयास गर्छौं, मार्क्स थप सान्दर्भिक देखिन्छन्

हालै भेट भएकी एक युवतीले आफूलाई काल्पनिक ‘राक्षसी दुष्टता’ नभई राम्रो गर्न सक्ने क्षमता हुँदाहुँदै पनि मानवतालाई हानि पुर्‍याउने व्यक्ति वा संस्थाले बढी क्रुद्ध बनाउने बताएकी छिन् । यो सुन्दा मैले मार्क्सलाई सम्झिएँ । उनका अनुसार पुँजीवादको मूल दोष यसको शोषण नभई त्यसले मानिसलाई अमानवीय बनाउने र उसलाई आफ्नै श्रम एवं जीवनबाट अलग्याउने क्षमता हो भनेका छन् ।

अघिल्ला सामाजिक प्रणाली पुँजीवादभन्दा बढी दमनकारी वा शोषणकारी हुन सक्छन् । तर, पुँजीवादअन्तर्गत मात्र मानिस आफ्नो उत्पादन र वातावरणबाट अलग्गिएका छन्, आफ्नो श्रमसँग अपरिचित भएका छन् र आफूले के सोच्ने र गर्ने भन्नेमा लाचार एवं निर्णयविहीन भएका छन् । अहिलेको प्रविधिमुखी–सामन्ती चरणमा पुँजीवादले हामीलाई कालिबान वा साइलकजस्ता एक्ला पात्रमा परिणत गरेको छ, जहाँ अत्याधुनिक उपकरणबिच बस्दा पनि जीवनको गुणस्तर खस्किँदो छ । यस साता म ‘मार्क्सवाद २०२५’ महोत्सवमा सहभागी हुँदै छु, र मलाई आजका युवामा देखिएको यो गहिरो अलगावको अनुभूति र यसलाई एल्गोरिदमिक रूपमा विकृत बनाउने प्रवृत्तिले उत्पन्न पंगुताले सताइरहेको छ । यिनै अवस्थामा मार्क्सका पुराना सल्लाह ओझेलमा परेका भए पनि अझै उपयोगी छन् ।

पश्चिममा अल्पसंख्यकले मूलधार संस्कृतिमा घुलमिल हुनुपर्छ भन्ने सन्दर्भमा मार्क्सको प्रतिक्रिया उल्लेखनीय छ । २५ वर्षको उमेरमा उनले प्रशंसा गर्ने चिन्तक ओटो बाउरको पुस्तक पढेका थिए, जहाँ जर्मन यहुदीले नागरिकता पाउन यहुदी धर्म त्याग्नुपर्ने भनिएको थियो । धर्ममा रुचि नभए पनि मार्क्सले यो तर्कप्रति कडा आपत्ति जनाएर जसरी त्यसको खण्डन गरे, त्यो आज पनि प्रेरणादायक छ । ‘राजनीतिक स्वतन्त्रताका आधारमा यहुदीले आफ्नो धर्म त्याग्नुपर्ने वा कुनै अन्य मानिसले आफ्नो धर्म त्याग्नुपर्छ भन्ने माग गर्न पाइन्छ त ? राज्यले यहुदीप्रति इसाई दृष्टिकोण अपनाउँछ भने त्यो राज्यको धर्मप्रचार हो, त्यसैगरी यहुदीले आफू यहुदी हुँ भनेर नागरिक अधिकारको माग गर्छ भने त्यो राजनीतिक कार्य हो’ मार्क्सले लेखेका थिए ।

मार्क्स यहाँ हामीलाई एउटा गहिरो पाठ सिकाइरहेका छन्, अर्थात् यहुदी, इस्लाम, इसाईलगायत जुनसुकै धर्ममा आस्था राख्नेको धार्मिक स्वतन्त्रताको समर्थन गर्न सकिन्छ । तर, धार्मिक स्वतन्त्रताको समर्थनले वर्गीय समाजमा राज्यले सबैको साझा हित प्रतिनिधित्व गर्छ भन्ने भ्रमलाई स्वीकार गर्नु भने होइन । निश्चित रूपमा यहुदी, इस्लाम वा अरू कुनै पनि धर्म मान्ने मानिसलाई (सो धर्म हामीले नमानौँ वा मन नपरोस्) धर्म अभ्यासको पूर्ण स्वतन्त्रता हुनुपर्छ । महिला, अश्वेत र लैंगिक एवं यौनिक अल्पसंख्यक व्यक्तिलाई कुनै पनि किसिमको समाजवादी क्रान्ति ल्याउनुअगावै समान अधिकार दिइनुपर्छ । तर, यत्तिले मात्रै स्वतन्त्रता भने आउँदैन ।

आप्रवासी मजदुरले स्थानीय मजदुरको तलब घटाउँछन् भन्ने बहस आजका युवाका लागि पनि जटिल विषय हो । सन् १८७० मा मार्क्सले न्युयोर्कमा रहेका दुई सहयोगीलाई लेखेको पत्रमा अमेरिकी र बेलायती मालिकले सस्तो आइरिस मूलका श्रमिकको श्रम प्रयोग गरेर श्रमिकबिच फुट ल्याउँदै एकताको कमजोरी दोहन गरेका थिए भनेर उनले देखाएका थिए । र, मार्क्सका लागि समाधान आप्रवासीमाथि दोष थोपर्नु नभई बरु उनीहरूलाई पनि संगठित गर्नु थियो । मार्क्सले यदि समस्या ट्रेड युनियनको कमजोरी वा राज्यको खर्च कटौती हो भने दोष आप्रवासीलाई दिनु गलत हो पनि भनेका थिए । त्यसैगरी, उनले ट्रेड युनियनलाई केवल तलब वृद्धिमा सीमित नहुन भन्दै त्यस्तो प्रणाली परिवर्तन गर्न आग्रह गरे, जसले श्रमिक र स्वामित्वबिचको गहिरो विभाजन कायम राखेको छ ।

मार्क्सका शब्दमा भन्ने हो भने ‘ट्रेड युनियनले पुँजीको अतिक्रमणविरुद्ध प्रतिरोध केन्द्रका रूपमा राम्रोसँग काम गर्छन् । तर, उनीहरू सामान्यतया असफल हुन्छन् किनभने यी युनियन विद्यमान प्रणालीका परिणामसँग मात्र ‘गुरिल्ला युद्ध’ गर्छन्, प्रणाली परिवर्तन गर्नेतर्फ अग्रसर हुँदैनन् ।’ तर, त्यो प्रणालीलाई केमा रूपान्तरण गर्ने ? यसको उत्तर हो, त्यस्तो नयाँ संरचनामा जहाँ कम्पनीको स्वामित्व ‘एक कामदार, एक सेयर, एक मत’को सिद्धान्तमा आधारित हुन्छ । यस्तो विचारले अधिनायकवादको नियन्त्रण बाँधिन नचाहने, विशुद्ध नाफाखोर कम्पनीमा करारमा बस्न नचाहने युवालाई प्रेरित गर्छ । अन्त्यमा, मार्क्सको दृष्टिकोण आज झनै सान्दर्भिक लाग्छ, जब हामीले व्यहोरिरहेको आजको ठुला प्रविधि कम्पनी, ठुला वित्तीय पुँजी र राज्यको घेराबन्दी अर्थात् प्रविधि–सामन्तवादले कसरी काम गर्छ भनेर बुझ्ने कोसिस गर्छौं । यसलाई केवल ‘सर्भेइलेन्स क्यापिटलिज्म’ (निगरानी–आधारित पुँजीवाद) भनेर बुझ्नु पर्याप्त हुँदैन, यो त थप खतरनाक ‘प्रविधि–सामन्तवाद’ हो ।

यसलाई मार्क्सले जसरी बुझ्न आवश्यक छ, अर्थात् स्मार्टफोन, ट्याब्लेटजस्ता उपकरणलाई केवल ग्याजेट नभई पुँजीको नयाँ रूप अर्थात् ‘क्लाउड क्यापिटल’का रूपमा हेर्नुपर्छ । यो पुँजीले हाम्रो व्यवहारलाई प्रत्यक्ष रूपमा परिवर्तन गर्छ । विज्ञानका चकित पार्ने आविष्कार, चमत्कारी न्युरल नेटवर्क र कल्पनाभन्दा परका आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रणालीले यति सशक्त विश्व बनाएको छ, जहाँ एकातिर निजीकरण र पुँजीगत लगानीकर्ताले हाम्रो वरपरको भौतिक सम्पत्ति हत्याउँदै गएका छन्, अर्कातिर क्लाउड क्यापिटलले हाम्रो मस्तिष्कबाट ‘सम्पत्ति लुट’ मच्चाइरहेको छ । साँचो स्वतन्त्रता हासिल गर्न अर्थात् हाम्रो आफ्नै मनमस्तिष्कको स्वामित्व लिन हामीले यो क्लाउड क्यापिटललाई सामूहिक रूपमा स्वामित्वमा लिनुपर्छ । र, मार्क्सको दृष्टिकोणविना यसलाई बुझ्न गाह्रो हुन्छ ।

(भारुफाकिस ग्रिसका पूर्वअर्थमन्त्री एवं अर्थशास्त्रका प्राध्यापक हुन्) 
द गार्डियनबाट