१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २० शुक्रबार
  • Friday, 04 July, 2025
२o८२ असार २० शुक्रबार २o:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सहमति कार्यान्वयन नभएको भन्दै प्रतिपक्षी विरोधमा उत्रियो, बागमती प्रदेश सभा फेरि अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २० शुक्रबार २o:२१:oo

सहमति कार्यान्वयन नभएको भन्दै प्रतिपक्षी विरोधमा उत्रिएपछि बागमती प्रदेश सभाको बैठक पुनः अवरुद्ध भएको छ ।

बिहीबार सत्तारूढ दल र प्रतिपक्षबिच बजेटसम्बन्धी विषयमा भएको सहमति कार्यान्वयनमा समस्या देखिएपछि शुक्रबारको प्रदेश सभाको दोस्रो बैठक अगाडि बढ्न नसकेको हो । 


प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रस्तुत गरेको विनियोजन विधेयक टेबुल गर्ने कार्यसूची तय भए पनि प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले बिहीबारको सहमति कार्यान्वयन नभएको बताएपछि प्रदेश सभा बैठक अवरुद्ध भएको हो ।

माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले सरकार सहमतिबाट पछि हटेको आरोप लगाउँदै सहमति कार्यान्वयन नभएसम्म संसद् सञ्चालन नहुने स्पष्ट पारे । 
प्रमुख सचेतक ढकालका अनुसार सरकारले बिहीबारको सहमति सरकारबाट उल्लंघन गरेपछि बैठक अवरुद्ध भएको हो । सहमति कार्यान्वयन नभएसम्म बैठक चल्न नसक्ने उनले चेतावनी दिएका छन् ।

प्रदेश सभा रोकेर केहीबेर दलहरूबिच भएको बैठकमा समेत सहमति नजुटेपछि माओवादी केन्द्रले संसद्को काम अघि बढ्न नसक्ने अडान लिएको उनको भनाइ छ ।
शुक्रबारको बैठकमा विनियोजन विधेयक टेबुल गर्न ३० मिनेटका लागि प्रदेश सभा बैठक स्थगित गरिएको थियो । सोबिचमा केही समय दलहरूबिच छलफल भए पनि सहमति जुट्न नसकेको ढकालको भनाइ छ ।

बैठकपछि बसेको दलहरूबिचको छलफल निष्कर्षविहीन बनेपछि प्रदेश सभा बैठक अवरुद्ध भएको हो । बैठक सञ्चालन हुन नसकेपछि प्रदेश सभा सचिवालयले सूचना टाँस गरेर शनिबार १ बजेसम्मका लागि प्रदेश सभा बैठक सारिएको छ । 

यसअघि पनि बजेटमाथिको छलफलका क्रममा पटक–पटक प्रदेश सभा अवरुद्ध हुँदै आएको थियो । बजेटमाथिको छलफलका लागि १२ असारमा बोलाइएको बैठक १६ गतेसम्म सारिएको थियो । त्यसपछि १९ गतेबाट सुरु भएको बैठक पुनः अवरुद्ध भएको हो ।