१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format ११:oo:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बज्रबाराही चापागाउँ अस्पताल विस्तार र सुधारमा सरोकारवालाको जोड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:oo:oo

ललितपुरको बज्रबाराही चापागाउँ अस्पताललाई गुणस्तरीय, उत्तरदायी र जनमैत्री सेवाको नमुना बनाउन सरोकारवालाहरूले जोड दिएका छन्। नेपाल पत्रकार महासंघ ललितपुर शाखाले बिहीबार आयोजना गरेको अस्पतालको सामाजिक परीक्षणमा सहभागीहरूले अस्पतालको सुधार, सेवा विस्तार र जनविश्वास निर्माणमा जोड दिनुपर्ने आवाज उठाएका हुन् ।

सामाजिक परीक्षण कार्यक्रममा मन्तव्य राख्दै बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले बज्रबाराही चापागाउँ अस्पताललाई प्रभावकारी अस्पतालको रूपमा विकास गर्नुपर्नेमा जोड दिए।  ‘महानगर वा नगरपालिकाले आफ्नै स्रोतले पनि अस्पताल सञ्चालन गर्न सक्छ, तर स्रोत र साधनको अभावमा गाउँपालिकालाई गाह्रो पर्छ,’ उनले भने, ‘नागरिकको हितलाई हामीले ध्यान दिनुपर्छ, कुनै पनि बिरामीले यहाँ आएपछि सेवा नपाउने अवस्था हुनुहुँदैन, जनचेतनाको माध्यमबाट यहाँको सेवाबारे जानकारी दिँदै रोग लागेर उपचार गर्नुभन्दा रोग न्यूनीकरणतर्फ ध्यान दिनुपर्छ।’ 

गोदावरी नगरपालिका– १३ का अध्यक्ष भास्कर थापाले आफूले थाहा पाउँदा ‘ससिखेल हेल्टपोस्ट’ भनेर चिनिने यो अस्पताल आज प्रदेशस्तरीय अस्पतालका रूपमा विकास भएको उल्लेख गर्दै यस क्षेत्रका स्थानीयहरूको विश्वासिलो सेवा प्रवाह जरुरी भएको बताए। 

वडा नं. ११ का अध्यक्ष नीलबहादुर देसारले बिरामीको चाप बढ्दासमेत अस्पतालमा सेवा लिनेको संख्या घट्नु चिन्ताको विषय भएको बताए। उनले जनतामा अस्पतालप्रति विश्वास कायम गर्न प्रभावकारी सेवा प्रवाह जरुरी रहेकाे बताए । अस्पताल सञ्चालक समितिका अध्यक्ष रामहरि घिमिरेले सामाजिक परीक्षणबाट आएका सुझावलाई सुधारको अवसरको रूपमा लिएर कार्ययोजनामा समावेश गरिने बताए ।

‘हामी राजनीतिमा होइन, सेवामा केन्द्रित छौँ, समितिले बनाएको योजनाअनुसार साउनदेखि सुधारका काम हुन्छन्,’ उनले भने । मेडिकल सुपरिटेन्डेन्ट डा. अंकुर पौडेलले अस्पतालमा पछिल्लो एक वर्षमा उल्लेखनीय प्रगति भएको उल्लेख गर्दै ९८ प्रकारका औषधि सधैँ उपलब्ध नभएको, एम्बुलेन्स बिग्रिएको, अस्पतालको नाम नहुँदा सेवा प्रवाहमा समस्या आएकाेलगायतका गुनासाे गरे । यद्यपि, सेवाको गुणस्तरमा ध्यान दिँदै टोकन प्रणाली, सर्जरी सेवा, नाक, कान, घाँटीको उपचारजस्ता क्षेत्रमा सुधार गरिएकाे उनकाे भनाइ छ । 

यसैगरी डा. अमरदीप शाहले विगतको तुलनामा भर्ना हुने बिरामीको संख्या उल्लेख्य रूपमा बढेको बताए।  उनले भने, ‘विशेषज्ञ सेवाको पहुँच वृद्धि भएको छ, तर बिमा भुक्तानी नआउनुले समस्या बढाएको छ ।’

नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीको अध्यक्षता भएको सामाजिक परीक्षण कार्यक्रममा पत्रकार, सेवाग्राही, जनप्रतिनिधि, डाक्टर, नर्सलगायतका नागरिक समाजका ७९ जनाको उपस्थिति रहेको थियो ।