
राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही ३ मा हुन लागेको उपनिर्वाचनमा सक्षम उम्मेदवार छनोट गर्ने जनाएको छ । बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीका तर्फबाट योग्य उम्मेदवार छनोट गर्न सचिवालय बैठकमा उम्मेदवार छनोट विधि पेस भएको र व्यापक छलफल भएको प्रवक्ता मनीष झाले बताए । बैठकमा प्राप्त सुझावसमेतलाई समेटेर आगामी आइतबार हुने सचिवालय बैठकमा उम्मेदवार छनोट कार्यविधि अनुमोदनका लागि प्रस्तुत गर्ने निर्णय भएको उनले बताए ।
‘पार्टीले रुपन्देही ३ मा त्यहाँको आमनागरिक, पार्टी शुभेच्छुकसमेतको चाहनाअनुसार छनोट विधिमार्फत योग्य, सक्षम उम्मेदवार प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्दछ,’ उनले भने ।
रास्वपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन नभएसम्म संसद्मा जारी प्रतिरोध कायमै राख्ने निर्णय गरेको छ । बैठकले उच्चस्तरीय छानबिन आयोग गठन र गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद्मा प्रतिरोध कायमै राख्ने निर्णय गरेको हो । ‘भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्ने र छानबिनका लागि सहजीकरणका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले लिएको अडानबारे छलफल गरियो र पार्टीको अडान कायम राखी संसद्मा यस विषयमा भइरहेको प्रतिरोध कायम राख्ने,’ प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिमा छ ।
निर्वाचन परिचालन कमिटी गठन
राप्रपाले रुपन्देही ३ मा हुने उपनिर्वाचनका लागि चुनावी तयारी अगाडि बढाएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बिहीबारको बैठकले चुनावलाई परिणामुखी बनाउन परिचालन समिति बनाउनुका साथै उम्मेदवार छनोट प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । बैठकपछि पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले उपचुनावको तयारीको सिलसिलामा भएका निर्णय जानकारी गराए । उनका अनुसार उपनिर्वाचनका लागि उम्मेदवारको प्रारम्भिक सूची तयार पारी असार मसान्तसम्म केन्द्रमा पठाउन जिल्लालाई निर्देश गर्नुका साथै आवश्यक तयारी थाल्न जिल्ला, क्षेत्र र सबै कमिटीलाई अनुरोध गरिएको छ ।