
राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडाले कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्न संसदीय समिति बनेपछि आफू समितिमा नजाने घोषणा गरेका छन् । सभापतिको हैसियतले पाउने गाडी पनि नचढ्ने उनको भनाइ छ । समितिका सचिव सुरजकुमार दुराले भने जिम्मेवारी छाडिसकेका छन् ।
बुधबारको बैठकमा सांसदहरूले दुरालाई प्रतिवेदन लेखेको नैतिक जिम्मेवार ठहर्याउँदै अब समितिमा सचिव स्विकार्न नसकिने र यो जिम्मेवारीबाट हट्न भनेका थिए । सांसदहरूको मागपछि दुराले समिति छाडेका हुन् ।
सहसचिव हुँदा समिति सचिव रहेका दुरा हालै सचिव पदमा बढुवा भएका थिए भने उनलाई संसदीय अध्ययन तथा अनुसन्धान महाशाखामा पदस्थापन गरिएको थियो ।
तर, समिति सभापति खतिवडाले निजामती विधेयकमा राम्रो काम गरेको भन्दै प्रहरी विधेयक सकाउँदासम्म समिति सचिवकै रूपमा काम गर्न दुरालाई रोकेका थिए । ‘मलाई समिति छोड भन्नुभयो, मैले छोडेँ,’ सचिव दुराले भने ।