१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 30 June, 2025
शिवहरि घिमिरे काठमाडाैं
Invalid date format ११:१३:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पानीको निकास रोक्ने चोभार गल्छीका पाँचवटा ठुला ढुंगा फुटाउने तयारी

स्थानीयवासी, जलविद्, ललितपुर महानगर र कीर्तिपुर नगरपालिकाको विरोध

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:१३:oo

मञ्जुश्रीले चोभारको डाँडा काटेर काठमाडौंमा बस्ती बसालेको किंवदन्ती युगौँदेखि चल्दै आएको छ । उनले चोभारको डाँडामा खड्ग प्रहार गरी काटेकै कारण दहको रूपमा रहेको उपत्यकाको पानीले निकास पाएको र बस्ती बसेको ऐतिहासिक भनाइ प्रशस्त पाइन्छन् । त्यही चोभारस्थित गल्छी साँघुरो भएको भन्दै सरकारले फेरि डाँडा काट्ने तथा ढुंगा फुटाउने योजना ल्याएपछि यसले चर्चासँगै विवाद सिर्जना गरेको छ । 

जल सम्पदाविद् तथा स्थानीय तह सरकारी योजनाको विरोधमा छन् भने सहरी विकास मन्त्रालय चोभारको गल्छीलाई चौडा नपारे त्यसमाथिको बस्ती डुबानमा पर्ने बताउँदै आएको छ । सहरी विकास मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीका अनुसार नेपाली सेनाको सहयोगमा चोभारस्थित पाँचवटा ढुंगा फुटाएर नदीलाई खारेर गहिरो बनाउने योजना बनिसकेको छ । ‘सहरी विकास मन्त्रालयसँगको समन्वयमा पाँचवटा ढुंगा फुटाउने भनिएको हो, डाँडा काट्नेचाहिँ होइन । चोभार गल्छीमा पोखरीजस्तै बनेको स्थानमा बडेमानका पाँचवटा ढुंगा छन्,’ उनले भने, ‘त्यसलाई नेपाली सेनाको सहयोगमा फुटाउने योजना हो ।

कतिपयले फुटाउनुहुन्न भनेर विरोध पनि गरिरहेका छन् ।’ उनले केही समयभित्रै कम्प्रेसर प्रयोग गरेर फुटाउनेबारे सेनासँग समन्वय भइरहेको बताए । यसबारेमा मन्त्रालयको टोलीले अध्ययनसमेत गरेको थियो । सो क्रममा ढुंगाले पानी निकास राम्ररी नभएको र डुबान तथा पहिरो जान सक्ने अवस्था देखिएको थियो । सोहीकारण पनि ढुंगा फुटाउनुपर्ने आवश्यकता रहेको प्रवक्ता मैनालीको भनाइ छ । यसपटकको बर्खामै समस्या आउने भएकाले तत्काल यो काम गर्नुपर्ने उनले बताए । 

यसको मुख्य नेतृत्व अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गरेको छ । समितिका इन्जिनियर उद्धव नेपालले यसबारेमा सहरी विकास मन्त्रालयसँगको समन्वयमा अध्ययन भएको र अध्ययनले निकासका लागि ढुंगा फुटाउनुपर्ने र गेग्रान हटाउनुपर्ने निष्कर्ष निकालेको थियो । ‘अध्ययन गर्दा पानीको फ्लो हुने स्थानमा ढुंगाले अवरोध गरेको र ग्रेगान भरिएको पाइयो । यो स्थान गल्छी सुरु हुनुभन्दा २० मिटर माथिपट्टि पर्छ । त्यो घाँटीजस्तो छ, केही गएर अड्कियो भने पानी निकास रोकिन्छ । यसअघि एउटा ग्यास बुलेटले गएर अड्किँदा समस्या भएको थियो,’ उनले भने, ‘अहिले कुनै रुख वा वस्तु त्यहाँ अड्कियो भने पानी निकास बन्द हुन्छ ।’ उनका अनुसार यसबारेमा सहजीकरण गर्नका लागि काठमाडौं र ललितपुरको सिडिओ कार्यालयलाई पत्र पठाइएको छ । साथै, कीर्तिपुर र ललितपुर महानगरपालिकालाई पनि सहजीकरण गर्न पत्र पठाइएको छ । 

 ललितपुर महानगर र कीर्तिपुर नगरपालिकाद्वारा विरोध
उक्त स्थान ललितपुर महानगरपालिका– १८ र कीर्तिपुर नगरपालिका– ६ को सिमानामा पर्छ । यी दुवै स्थानीय तहले केन्द्र सरकारबाट ढुंगा फुटाउन लागेकोमा विरोध गरेका छन् । यो कार्य अघि बढाउन नहुने उनीहरूको भनाइ छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले त्यहाँ डाँडा काट्ने वा ढुंगा फुटाउन नदिइने बताए । ‘डाँडा काट्न वा उपकरण र बारुद प्रयोग गरेर ढुंगा फुटाउन दिँदैनौँ, मानिसले उचालेर पन्छाउने कुरा अर्कै हो, हजारौँ वर्षसम्म अवरोध नभएको कुरा अहिले कसरी अवरोध हुन्छ,’ उनले भने, ‘गलत तर्क गरेर हुँदैन, हामीले यसको विरोध गरिरहेका छौँ ।’ 

कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले पनि चोभारको कुनै पनि भाग फुटाउन तथा काट्न नदिने बताए । ‘ढुंगा फुटाउन दिँदैनौँ, त्यो पुरानो ढुंगा हो, त्यसले असर गरेको छैन, यसलाई चलाउँदा अर्को आपत्ति आउँछ,’ उनले भने, ‘यसबारेमा आउँदो मंगलबार सार्वजनिक सुनुवाइ गर्दै छौँ ।’ 

 जलविद्हरू भन्छन्–गलत काम हुँदै छ 
विज्ञहरूले उपत्काका विभिन्न स्थान जलमग्न हुनुको कारण यही चोभारको गल्छी मात्रै नभएको बताउँदै आइरहेका छन् । उनीहरूले खोलाको क्षेत्र ओगटेर बस्ती बसाल्ने, खोलाको जग्गा किनबेच गर्ने, हाउजिङ बनाउनेलगायतका कारणले उपत्यकाका खोलाको बहाव क्षेत्र साघुँरो बनेको बताएका छन् । उपत्यकाका परम्परागत खानेपानी प्रणालीका विज्ञ पद्मसुन्दर जोशीले खोलाको ढुंगा फुटाउने र डाँडा काट्ने काम गलत भएको बताए । ‘यो काम गलत हो, हजारौँ वर्ष केही नभएको अहिले हुन्छ, यसअघि चौडा गर्ने, टनेल बनाउने किसिमका काँचो सोच इन्जिनियरबाट आयो । तर, हजारौँ वर्षसम्म त्यही गल्छीबाट पानी बगिरहेको छ, अहिले आएर डुबान हुन्छ भन्न मिल्छ,’ उनले भने । उनले बागमती नदीको गल्छी एउटा मात्रै नभएको बताउँदै पशुपति र गौरीघाटको बिच, गोकर्ण, कोड्कु र बल्खुमा पनि रहेको बताए ।