
मरुभूमिको बिचमा बसेको एक सहरमा फलको निकै कमी थियो । भगवान्ले आफ्ना दूत पठाएर मानिसलाई सकभर दिनमा एउटा मात्र फल खाएर फलफूल जोगाउन सिकाउन लगाए । मानिसहरूले उनको सल्लाह मानेर त्यसै गर्न थाले ।
त्यसयता पुस्तौँपुस्तासम्म त्यही चलन चलिरह्यो । बिस्तारै त्यहाँको पर्यावरण संरक्षित हुँदै गयो । फलफूलका बोट पनि थपिँदै गए । केही दशकमै सहर फलफूलका बोटकै कारण हराभरा बन्यो । अब त्यहाँ फलफूलको कुनै कमी थिएन । तैपनि, मानिसहरूले दिनमा एउटा मात्र फल खाने प्रथामा फेरबदल ल्याएका थिएनन् । उनीहरू पुस्तौँदेखि चल्दै आएको पुरानो चलनप्रति बफादार थिए । उनीहरू अन्य सहरबाट फलफूल किन्न आउनेलाई पनि बेच्दैनथे । परिणामतः त्यहाँ टनकाटन फलफूल खेर जान्थ्यो । जमिनमा जताततै फलफूल नै फलफूल फ्याँकिएका देखिन्थे ।
यो देखेर भगवान्ले फेरि अर्का एक दूतलाई बोलाएर सहरमा गएर सहरवासीलाई उनीहरूले जति चाहन्छन्, त्यति फलफूल खान र बचेको फलफूल अन्य सहरमा बेच्न सल्लाह दिन लगाए । दूतको सल्लाह मान्नुको साटो परम्परामाथि अगाध विश्वास भएका सहरवासीले उनलाई ढुंगाले हानेर लखेटे । उनीहरू आफ्नो परम्परा बदल्न कत्ति पनि तयार थिएनन् ।
तर, समयक्रममा केही युवाले यस्तो परम्पराको विरोधमा आवाज उठाउन थाले । पुरानो परम्परा बदल्न कठिन भएकाले उनीहरूले आफ्नो धर्म नै छाडिदिए र मन लागेजति फलफूल खान थाले । बचेको फलफूल अरूलाई पनि बेच्न थाले । केही वर्षभित्रै पुरानो धर्म मान्ने मानिस लगभग सकिए । आफूलाई सन्त मान्ने सीमित बुढापाका मात्र पुरानो धर्मप्रति आस्थावान रहे । समाज कसरी परिवर्तन हुँदै छ भन्ने बुझेर समयअनुसार आफूहरू चल्न नसकेका कारण आफ्नो पुरानो धर्ममा संकट आएको उनीहरूले बुझ्न नसक्दा यस्तो भएको थियो ।