
नागरिक उड्डयन प्राधिकरणले नयाँ स्थानमा जग्गा उपलब्ध गराउन आलटाल गर्दा सिनामंगलस्थित हवाई इन्धन डिपो स्थानान्तरण गर्न ढिलाइ भएको आयल निगमले जनाएको छ।
नयाँ गुरुयोजना बनाएर त्रिभुवन विमानस्थल बिस्तार गरिरहेको प्राधिकरणले हाल हवाई इन्धन डिपो रहेको निगमको सिनामंगलस्थित कार्यालयमा ‘ट्याक्सी वे’ बनाउने र इन्धन डिपोका लागि विमानस्थलको उत्तर–पश्चिम कुना गुह्येश्वरीमा जग्गा उपलब्ध गराउने नीति लिएको छ। तर, नाै महिनायता उक्त स्थानको जग्गा उपलब्ध गराउन प्राधिकरणका तर्फबाट ठोस प्रगति नभएको आइतबार पत्रकार सम्मेलन गरेर निगमका उपनिर्देशक प्रदीप यादवले जानकारी दिए।
मन्त्रिपरिषद्ले गत २८ भदौमा सिनामंगलस्थित हवाई इन्धन डिपो गुह्येश्वरीमा स्थानान्तरण गर्न स्वीकृति दिइसकेको छ। त्यसयता प्राधिकरणले जग्गा खाली गर्नका लागि माटोको ढिस्को कटान गर्नेबाहेक अन्य केही काम नगरेको उपनिर्देशक यादवले जानकारी दिए। ‘मन्त्रिपरिषद्ले नयाँ डिपो निर्माण गर्न स्वीकृति दिएपछि हामीले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन गत ५ मंसिरमा इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकको कन्सल्टेन्सी सेवा विभागसँग सम्झौता गरिसकेका छौँ,’ यादवले भने, ‘आगामी २७ असारमा डिपिआर हस्तान्तरणसमेत हुँदै छ।’
डिपिआर तयार हुनै लाग्दासमेत प्राधिकरणले जग्गा खाली गर्नुपर्ने काममा बेवास्ता गरेको उनको आरोप छ। ‘यहाँ दुई सयजति रुख छन्। यी रुख काट्न मन्त्रिपरिषद्ले स्वीकृति दिइसके पनि काम भएको छैन,’ उनले भने, ‘त्यस्तै, नेपाली सेनाका केही भवनहरू भत्काउनुपर्नेछ। यी दुई काम सकेर निगमलाई जग्गा लिजमा दिने विषयमा सम्झौता गर्नुपर्नेमा प्राधिकरणका तर्फबाट पहलकदमी भइरहेको छैन।’
पछिल्लो समय प्राधिकरणलाई जग्गाको चार किल्ला तोकेर लिज सम्झौता गर्नका लागि पटक–पटक ताकेता गरिरहे पनि सुनुवाइ नभएको उनले बताए। जग्गा उपलब्ध गराउन ढिलाइ भएकाले पुल्चोक कन्सल्टेन्सी सेवा विभागबाट डिपिआर आउनासाथ निर्माण प्रक्रिया थाल्न कठिनाइ भएको यादवले बताए।
‘जग्गा तयार भएको भए आगामी २७ असारमा डिपिआर प्राप्त भएपछि साउनमै टेन्डर खोलेर निर्माण प्रक्रिया थाल्ने योजनामा थियौँ,’ उनले भने, ‘निर्माण सुरु भएको दुई वर्षमा नयाँ डिपो तयार गर्ने लक्ष्य छ।’
सो परियोजनाका ‘स्थलगत संयोजक’ मानबहादुर सिंहले नयाँ डिपो निर्माणको काम गर्न निगमका तर्फबाट अस्थायी प्रकृतिको चारकोठे भवन र प्रवेशद्वार बनाई जग्गाको संरक्षण गर्न सुरक्षाकर्मी पनि परिचालन गरिसकेको बताए। ‘हाम्रोतर्फ नयाँ इन्धन डिपो बनाउन आवश्यक काम भइसकेका छन्,’ उनले भने।
निगमले नयाँ डिपोमा जहाज र्पािकङस्थलमै जमिनमुनि हुँदै पाइपबाट तेल लैजाने र पाइपकै सहायताले तेल भर्ने प्रविधि जडान गर्ने जनाएको छ। अहिले रिफ्युलर (हवाई इन्धन ढुवानी गर्ने ट्यांकर) जहाज भएको स्थानसम्म लैजाने र तेल भर्ने गरिएको छ।
निगमको सिनामंगल कार्यालयमा कार्यरत इन्जिनियर अनुपम पराजुलीले नयाँ गुरुयोजनाअनुसार हालको डिपोमा ट्याक्सी वे परेकाले नयाँ स्थानमा आधुनिक प्रविधियुक्त डिपो बनाउन लागिएको बताए। ‘सिनामंगल चोककै घना बस्तीमा डिपो रहेकाले सुरक्षाका दृष्टिकोणले पनि स्थानान्तरणको आवश्यकता छ। अर्कातिर, अहिले कार्यालय भएको ठाउँमा ट्याक्सी वे बनाउने गरी विमानस्थल विस्तार कार्य भइरहकाले नयाँ स्थानमा छिटोभन्दा छिटो स्थानान्तरण गर्नु जरुरी छ,’ उनले भने।
सिनामंगलबाट इन्धन डिपो छिटो स्थानान्तरण गर्न प्रधानमन्त्री केपी ओली र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पनि निर्देशन दिइसकेका छन्।