
गत साल असोज दोस्रो साता रोशी खोलाको बाढीले क्षतिग्रस्त बिपी राजमार्ग हालको वर्षायाममा अवरुद्ध हुन नदिन विभिन्न उपाय अपनाउँदै अस्थायी संरचनासमेत बनाइएको छ ।
डिभिजन सडक कार्यालय भक्तपुरले बाढीपश्चात् पहिलाको भन्दा केही फिट उचाइमा अस्थायी भरान गरी यातायात सञ्चालनार्थ निर्माण गरिएको सडक हालको वर्षाले क्षति हुन नदिन सतर्कता अपनाउँदै ‘इक्युपमेन्ट’ र संरचना निर्माण गरेको जनाएको छ ।
बाढीले क्षति गर्न सक्ने काभ्रेपलाञ्चोकतर्फको चौकीडाँडा, कटुञ्जेबँसी, मंगलटार र माम्तीमा हुन सक्ने क्षति रोक्न ग्याबिन जालीको पर्खाल लगाइएको र सडक अवरुद्ध भइहाले पन्छाउन ठुला बोल्डर ‘स्ट्यान्डबाई’ राखिएको कार्यालयले जनाएको छ ।
कार्यालयले वर्षायाममा बाढीपहिरोका कारण हुन सक्ने राजमार्ग अवरुद्ध तत्काल हटाउन सडक पुनर्निर्माणका लागि ठेक्का लागेको सडकखण्डमा निर्माण व्यवसायीको १५–१५ वटा उपकरणका साथै डोजर, टिपर, लोडरलगायतका सात उपकरण तयारी अवस्थामा राखेको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताए ।
नेपाल सरकारले गत सालको बाढीका कारण क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत २९ किलोमिटर सडकखण्डलाई चार खण्डमा पुनर्निर्माण गर्ने गरी प्रक्रिया अघि बढाएको छ । क्षतिग्रस्त बिपी राजमार्गको पुनर्निर्माणका लागि काभ्रेपलाञ्चोक क्षेत्रमा तीन खण्ड र सिन्धुलीतर्फ एक खण्डमा दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम हुने भएको हो ।
योगेशका अनुसार काभ्रेपलाञ्चोकतर्फ पुनर्निर्माण हुने सडकमध्ये डालाबेँसीदेखि चार सय बेँसीसम्मको साढे आठ किलाेमिटरका लागि खानी–कमलजित–एवान जेभी छनोट भएको छ । उक्त सडकखण्ड पुनर्निर्माण गर्न निर्माण व्यवसायीसँग एक अर्ब ४२ करोड कबोल भएको जनाइएको छ । काभ्रेपलाञ्चोकतर्फको चार सय बेँसीदेखि भकुण्डेबेँसीसम्मको ११ किलाेमिटर सडक पुनर्निर्माणका लागि भने प्राविधिक मूल्यांकनको काम भइरहेको योगेशले बताए ।
यस्तै, काभ्रेपलाञ्चोकतर्फकै बर्खेखोलादेखि डालाबेँसीसम्मको साढे पाँच किलाेमिटर सडकखण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र नेपाल सरकारले पुनर्निर्माण गर्ने भएका छन् । उक्त ३.२ किलाेमिटर जाइकाले र २.३ किलाेमिटर सडक नेपाल सरकारले पुनर्निर्माण गर्ने जनाइएको छ । सिन्धुलीको खाल्टे डिभिजन सडक कार्यालयले ठेक्का लगाएको नेपालथोकदेखि बर्खेखोलासम्मको चार किलाेमिटर सडक भने सम्झौताका चरणमा रहेको छ ।
क्षतिग्रस्त सडक नेपाल सरकारबाट आठ अर्ब ५० करोडको बजेट सुनिश्चितता प्राप्त भएको छ । काभ्रेपलाञ्चोकतर्फको तीन खण्डका लागि सात अर्ब ५० करोड र सिन्धुलीको सडकखण्डका लागि एक अर्ब बजेट सुनिश्चितता भएको डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।
कार्यालयका अनुसार हालको वर्षायाममा राजमार्ग पुनर्निर्माणको काम सुरु हुँदैन । भकुण्डेबेँसीदेखि नेपाल थोकसम्मको पुनर्निर्माण हुने सडक इन्टरमिडियट लेनबाट डबल लेन सडक बनाइनेछ । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष ०५३/५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दीबास १६० किलाेमिटर सडक) निर्माण कार्य सुरु गरिएको थियो ।
खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको ०७२ असार १८ गते औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । उक्त राजमार्ग केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा लिइएको छ । रासस