१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १५ आइतबार
  • Sunday, 29 June, 2025
२o८२ असार १५ आइतबार १८:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपचारका क्रममा बालकको मृत्यु भएपछि आफन्त आन्दोलित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १५ आइतबार १८:३७:oo

सिराहा सदरमुकामस्थित प्रादेशिक अस्पतालमा उपचाररत एक बालकको मृत्यु भएपछि परिवार र आफन्त आन्दोलित भएको छ। सिराहा नगरपालिका–६ बसबिट्टाका झल्कु महराका १२ वर्षीय छोरा राजन महराको उपचारको क्रममा मृत्यु भएपछि आफन्त आन्दोलित भएका हुन्।

उनीहरूले अस्पतालको गेटअगाडि टायर बालेर विरोध गरेका छन्। असहज महसुस भएका प्रादेशिक अस्पतालमा उपचार गराउन आएका महराको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रादेशिक अस्पतालमा उपचार गराउन आउनेसँग पटक-पटक हेलचेक्र्याइँ हुने गरेको सिराहा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष इन्द्रजित यादवले बताए। अस्पतालको सेवा प्रवाहलाई सुधार गर्न आग्रह गर्दा बेवास्ता गर्दै आएकाले उपचारको क्रममा रोगीहरूको मृत्यु हुने गरेको उनको दाबी छ।

अस्पतालले भने गम्भीर प्रकारको रक्तअल्पता भएको, हेमोग्लोबिनको मात्रा २.५ ग्राम–डिएल मात्र भएकाले बचाउन नसकिएको जनाएको छ। उनलाई सिभियर एनिमिया (रक्तअल्पता) भएको बताइएको छ। अस्पतालका सूचना अधिकारी रामनारायण चौधरीले ब्लड ट्रान्सफरको तयारी भैरहँदा बिरामीको निधन भएको बताए।

यसैबिच प्रहरीले भिड नियन्त्रणमा लिन एक राउन्ड अश्रुग्यास प्रहार गरेको छ। प्रदर्शन रोक्न प्रहरीले लाठीचार्जसमेत गरेको छ भने प्रदर्शनकारीले ढुंगामुढा गरेका छन्। ढुंगामुढाबाट ६ जना प्रहरी घाइते भएका प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्रकुमार पासवानले बताए। 

प्रहरीको लाठीचार्जवाट १० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका स्थानीय रामचन्द्र यादवले बताए। पीडित परिवार र आफन्तलाई आन्दोलन गर्न उक्साएको भन्दै प्रहरीले सिराहा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष इन्द्रजित यादव र स्थानीय रामपुजन यादवलाई नियन्त्रणमा लिएको छ।