
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुम्कीबासको विनयी खोलामा डाइभर्सन बगाएपछि वैकल्पिक मार्गको रूपमा सञ्चालन गरिएको विनयी त्रिवेणी– ३ स्थित खरङ्गे खोलामा वर्षातको कारण पानीको बहाव बढ्न गई सडक अवरुद्ध भएको हो ।
खोलामा पानीको बहाब बढेपछि खरङ्गे खोलामा कुनै पनि सवारीसाधन पास हुन सकेका छैनन् । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड पछिल्लो १५ दिनयता राम्ररी सञ्चालनमा आउन सकेको छैन ।
दैनिकजसो सडक अवरुद्ध हुने गरेको छ । दुम्कीबासको विनयी खोलामा बनाएको डाइभर्सन पनि बगाएको छ । पाल्पालगायत नवलपुरका पहाडी क्षेत्रमा पानी पर्ना साथ दुम्कीबासको विनयी खोला र त्यसका आसपासका सहायक नदीहरूमा पानीको बहाव बढ्ने गर्दछ ।
पछिल्लो दुई दिन घाम लागेका कारण यस सडकखण्डको दाउन्ने र दुम्कीबासमा यात्रा केही सहज भए पनि रातिदेखि परेको पानीले पुनः असहज भएको छ । दुम्कीबासको विनयी खोलामा पुल भाँचिएको करिब ६ महिना पुगिसक्दा पनि यहाँ नयाँ पुल निर्माण कार्यले अझै पूर्णता पाउन सकेको छैन ।
दुम्कीबासको विनयी खोलामा डाइभर्सन नबन्दा र पुल निर्माण कार्य नसकिएका कारण यो बाटो भएर सञ्चालन हुने सयौँ सवारीसाधन दुम्कीबास–सर्दी–होङसी गेट आउने २८ किलोमिटर बढी यात्रा गर्न बाध्य छन् । उक्त बाटो पनि आज बिहानदेखि अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ ।
यता दुम्कीबासको विनयी खोलामा पुल निर्माणको काम सकिएको आज २२ दिन कटेको छ, तैपनि यो पुल तत्काल खोल्ने पक्षमा बुटवल–नारायणगढ सडक विस्तार गरिरहेको ठेकेदार पक्ष चाइना स्टेट कम्पनी देखिएको छैन । असार १४ गते सञ्चालनमा ल्याइने भनेको पुल असार १५ सम्म पनि सञ्चालनमा ल्याइएको छैन ।
विनयी खोलामा बनेको नयाँ पुल छिटोमा असार २० गतेसम्म सञ्चालनमा आउने ठेकेडार पक्ष चाइना स्टेट कम्पनीले जनाएको छ । चाइना स्टेट कम्पनीका इन्जिनियर राकेश झाले असार २० भन्दा अगाडि पुल सञ्चालनमा आउने कुनै सम्भावना नरहेको बताए ।