
न्युयोर्क सिटीको डेमोक्य्राटिक प्राथमिक निर्वाचनमा जोहरान ममदानीको विजय केवल अप्रत्याशित नतिजा होइन । यो अनुशासन, दूरदृष्टि र जोससाथ अघि बढाइने प्रगतिशील राजनीतिले अझै जनमानसमा प्रभाव पार्न सक्छ भन्ने कुराको पुष्टि पनि हो । परम्परागत सत्ताका गहिरा संरचना भएको सहरमा यो जित सम्भव हुनु महत्वपूर्ण छ । पूर्वगभर्नर एन्ड्र्यु कुओमो, जो अर्बपतिको सहयोग र संस्थागत समर्थनमा भरोसा गरेर मैदानमा उत्रिएका थिए, मंगलबार राति पराजित भएका छन् । क्विन्सका ३३ वर्षीय सांसद ममदानीले जीवनयापनको खर्च, आवास, यातायात, बाल हेरचाहजस्ता विषयमा केन्द्रित, अनुशासित अभियान चलाएका थिए । उनलाई ‘मुसलमान समाजवादी’ भन्दै बदनाम गर्ने प्रयास पनि असफल भएका छन् । ममदानीको करिस्मा, स्पष्ट दृष्टिकोण र आत्मीयताले उनलाई विभिन्न समुदायसँग विश्वसनीय संवाद गर्न सक्ने नेता बनाएको छ । उनी केवल क्रियाशील राजनीतिज्ञ नभई एक स्वाभाविक, नैतिक र भरोसायोग्य नेता साबित भएका छन् ।
एन्ड्र्यु कुओमोको न्युयोर्क सिटी राजनीतिमा पुनरागमनको प्रयास सुरुबाटै त्रुटिपूर्ण देखिएको थियो । धेरै मतदाताले उनको उम्मेदवारीलाई गम्भीर प्रतिबद्धता नभई घमण्डपूर्ण सत्तालिप्साका रूपमा बुझेका थिए । उनले नयाँ ‘र्यांक्ड–चोइस’ प्रणालीलाई बेवास्ता गरे र सहकार्य बनाउन असफल रहे । ममदानीको अभियान समुदाय–आधारित, युवाको सहभागिता र सामाजिक सञ्जालमार्फत नीतिगत सन्देश प्रवाह गर्ने आधुनिक रणनीतिमा आधारित थियो । प्रारम्भिक मतमध्ये झन्डै एकचौथाइ पहिलोपटक मतदान गर्ने मतदाताबाट आएको थियो । उनको समर्थन केवल युवा वा शिक्षित वर्गमा सीमित थिएन । बे रिज, सन्सेट पार्कजस्ता दक्षिणपन्थतर्फ झुकाव राख्ने क्षेत्रमा पनि उनले उल्लेखनीय जित निकालेका थिए ।
ममदानीको सफलताको आधार डेमोक्य्राटिक पार्टीबाट विमुख भएका युवा र श्रमिक वर्गलाई सम्बोधन गर्ने निरन्तर प्रयास थियो । गत नोभेम्बरमा ट्रम्प समर्थक न्युयोर्कवासीसँग जीवनयापनको खर्चबारे कुराकानी गरेको भाइरल भिडियोले उनको पहुँच बढाएको थियो । उनी लोकतान्त्रिक समाजवादलाई एक साझा, समावेशी राजनीतिका रूपमा प्रस्तुत गर्न सफल भए । यसबाहेक ब्य्राड ल्यान्डरजस्ता सिद्धान्तनिष्ठ नेताको समर्थनले गठबन्धन निर्माणमा निर्णायक भूमिका खेलेको थियो । ल्यान्डरले र्यांक्ड–चोइस प्रणालीलाई स्विकार्दै ममदानीलाई समर्थन गरे, जसले प्राय: विखण्डित प्रगतिशील वृत्तमा दुर्लभ देखिने एकता सम्भव बनायो र अन्तत: ममदानीको जितमा महत्वपूर्ण योगदान पुर्यायो ।
वास्तवमा मतदाता परिवर्तनका लागि तयार थिए । ममदानीको जितसँग अपराध र यहुदीद्वेष फैलिने भनेर भयको प्रोपगान्डा असफल भयो । जनताले डेमोक्य्राटिक पार्टीको असफलता मूल्यांकन गर्दै नयाँ र ताजा विकल्प रोजेका छन् । तर, अब चुनौती थप जटिल छन् । नोभेम्बरमा ममदानीको भिडन्त एरिक एडम्स र सम्भवत: फेरि उम्मेदवार बन्ने कुओमोसँग हुनेछ । त्यसपछिको परीक्षा भने शासन सञ्चालनको हुनेछ । सिकागोका वामपन्थी मेयर ब्रान्डन जोनसनजस्तै संकटमा नपर्न, ममदानीले प्रतिरोध र प्रशासनिक अवरोधलाई चतुर ढंगले सामना गर्नुपर्नेछ ।
न्युयोर्कका मेयरको अग्रपंक्तिमा रहेका उम्मेदवारको सफलताको कामना गर्नेका लागि ऐतिहासिक उदाहरणले केही आश्वासनको प्रत्याभूति गर्न सक्छ । मिलवाकीको ‘सिवर समाजवादी’ शासन र बर्नी स्यान्डर्सको बर्लिङटन नेतृत्व अमेरिकाभित्रका सफल नगरपालिका समाजवादका उदाहरण हुन् । यी अनुभव प्रभावकारी, सक्षम र लोकप्रिय समाजवादी शासनका वास्तविक नमुना हुन् । विशेषत: बर्नी स्यान्डर्सले बर्लिङटनमा छाडेको विरासत ममदानीका लागि एउटा मार्गचित्र बन्न सक्छ, अर्थात् व्यावहारिक तर गहिरो सिद्धान्तमा आधारित शासन, जसले सन्देह गर्ने र विपक्षीबिच पनि क्रमश: वैधता निर्माण गर्न सक्छ ।
राजनीतिक हिसाबले हेर्दा न्युयोर्कका मेयर परम्परागत रूपमा ‘कुनै ठाउँबाट नआएका र अन्तत: कतै नजाने’ पात्रका रूपमा चिनिँदै आएका छन् । तर, ममदानीले स्यान्डर्सको पदचिह्न पछ्याउँदै प्रभावशाली स्थानीय नेतृत्वबाट राष्ट्रिय राजनीतिमा दीर्घकालीन उपस्थिति बनाउने यात्रा क्रममा पुरानो प्रवृत्तिलाई नै तोड्न सक्छन् । यद्यपि, सफल हुन ममदानीले आफ्नै निर्णयशक्ति र राजनीतिक विवेकमा भरोसा गर्नुपर्नेछ र यो अहिलेसम्म स्पष्ट, तीक्ष्ण र रणनीतिक रूपमा सशक्त साबित भएको छ । यसबाहेक उनलाई दुइटा नगरका संस्थापन शक्ति केन्द्रबाट स्वतन्त्रता कायम राख्नुपर्नेछ, अर्थात् पहिलो– कर्पोरेट सञ्जाल, जसले उनलाई प्रत्येक मोडमा विरोध गर्यो र दोस्रो– गैरसरकारी संस्थाद्वारा सञ्चालित प्रगतिशील संस्थापन, जसका राजनीतिक चेत र रणनीति हालका निर्वाचन चक्रमा असफल साबित भएका छन् ।
ममदानीको कार्यक्रम, जसले आपूर्ति केन्द्रित ‘प्रचूरता एजेन्डा’लाई न्यायपूर्ण पुनर्वितरण र सार्वजनिक क्षेत्रमा व्यापक लगानीको मागसँग जोड्छ, ठिक त्यही खालको सामाजिक–लोकतान्त्रिक शासन मोडल न्युयोर्कलाई अहिले अत्यन्त जरुरी छ । यी मागमा आधारभूत रूपमा केही आमूल परिवर्तनकारी विषय केही छैन, बरु साँच्चै आमूल परिवर्तनकारी विषय के हो भने यी मागले ती मतदाता, विशेषत: ती, जो स्थानीय राजनीतिबाट पूरै विमुख भइसकेका थिए, तिनलाई नयाँ उत्साह र सक्रियता प्रदान गरेको छ । ममदानीले नि:सन्देह अमेरिकाको सबैभन्दा ठुलो सहरमा एक ठुलो जित हासिल गरेका छन् । तर, आगामी चुनौतीको यथार्थतापूर्वक मूल्यांकन गर्नु जरुरी छ । निर्वाचनमा जित मात्र अर्थपूर्ण हुँदैन, अर्थात् जितले जनजीवनमा ठोस परिवर्तन ल्याउनुपर्छ । यदि शासनमा कमजोरी भयो भने राजनीतिक ऊर्जाले धेरै चाँडै आफ्ना पखेटा गुमाउन सक्छ । ममदानीमाथि अब अपार जिम्मेवारी आइपरेको छ, अर्थात् केवल आफ्ना तत्कालीन क्षेत्रीय मतदाताका लागि मात्र नभई बरु सारा देश र विश्वभरका बृहत् प्रगतिशील आन्दोलनप्रति पनि जवाफदेही हुन जरुरी छ ।
(सुनकारा द नेसन मासिकका अध्यक्ष एवं अमेरिकी समाजवादी पत्रिका ज्याकोबिनका संस्थापक सम्पादक हुन्)
द गार्डियनबाट