
आफ्ना व्यवसायीहरूको हितका लागि रामेछाप उद्योग वाणिज्य संघले विपत् स्थापना कोष स्थापना गर्ने भएको छ । कुनै व्यवसायी विपत्मा परेका बखत उनीहरूलाई राहत तथा उद्धारका लागि संघले पहिलोपटक कोष स्थापना गर्न लागेको हो । कोष स्थापनाका लागि हाल कार्यविधि बनाउने काम भइरहेको छ ।
कार्यविधिका लागि संघका विशिष्ट सदस्य जयप्रकाश श्रेष्ठको संयोजकत्वमा महासचिव कुमार श्रेष्ठ, कोषाध्यक्ष झनकबहादुर बुढाथोकी, सदस्य जया सुवेदी र कार्यकारी अधिकृत नवीनकुमार घिमिरे सदस्य रहने गरी उपसमिति गठन गरिएको रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नवीनकुमार थापामगरले जानकारी दिए । यसअघि संघले व्यवसायीको हितका लागि कोषहरू स्थापना गरेको थियो ।
ती कोषहरूसमेत यसैमा समेटेर लैजाने गरी काम भइरहेको र कार्यविधि बनाउने काम अन्तिम चरणमा पुगेको रामेछाप उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत नवीनकुमार केसीले जानकारी दिए । हाल रामेछाप उद्योग वाणिज्य संघमा एक हजार सात सय ५० जना सदस्य रहेका छन् ।
आफ्ना सदस्यलाई संघले यसअघि बिरामी पर्दा रामेछाप सामुदायिक अस्पताल, मन्थली अस्पताल र काठमाडौंको चाबहिलमा रहेको ओम अस्पतालमा १० देखि १५ प्रतिशतसम्म औषधि र उपचारमा छुट सुविधा दिँदै आएको छ ।