
कपिलवस्तुको बाणगंगा नगरपालिकालाई पूर्ण संस्थागत प्रसुति सेवा युक्त दिगोपना पालिका घोषणा गरिएको छ । नगरपालिकाले दिगोपनाका सबै आवश्यक सूचकहरू पुरा गरेपछि शुक्रबार एक औपचारिक कार्यक्रमकाबिच जिल्ला समन्वय समिति, कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले नगरपालिकालाई पूर्ण संस्थागत प्रसुति सेवा युक्त दिगोपना पालिका घोषणा गरेका हुन् ।
यस क्रममा आचार्यले प्रसुति सेवाको सुदृढीकरण र मातृ तथा नवजात शिशु मृत्यु दर घटाउन नगरपालिकाले पुर्याएको योगदानको प्रशंसा गर्दै भविष्यमा अझ स्तरीय सेवा विस्तार गर्नुपर्नेमा जोड दिए । बाणगंगालाई विभिन्न सुचकहरुमा देशकै सर्वोत्कृष्ट पालिका बनाउन सबै लाग्नु पर्ने आचार्यले बताए ।
कार्यक्रमा वाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले बाणगंगालाई पूर्णसरसफाईयुक्त पालिका घोषणा गर्ने तयारी रहेको बताए । त्यसका लागि ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनको भनाइ छ ।
नगरका सवै वडा, स्वास्थ्य संस्थाहरू र समुदायको सहकार्यका कारण यो उपलब्धि सम्भव हुने उनले बताए । अबको लक्ष्य गुणस्तरीय सेवामा ध्यान केन्द्रित गर्नुपर्ने उनको भनाइ छ । नगरपालिकाले सबै महिला तथा गर्भवती आमाहरूलाई सुरक्षित प्रसुति सेवा सुनिश्चित गर्न प्राथमिकताका साथ काम गरेको र आगामी दिनमा अझ प्रभावकारी सेवा विस्तार गरिने उनको प्रतिबद्धता छ । नगरपालिकाले सुरक्षित मातृत्वका लागि निरन्तर सचेतना, स्वास्थ्य पूर्वाधारको सुदृढीकरण तथा समुदायमै पुगेर सेवा दिने रणनीति कार्यान्वयन गर्दै आएको छ ।
यसै कार्यक्रममा बोल्दै नगर उपप्रमुख रिता कुमारी चौधरीले बाणगंगा नगर स्वास्थ्य क्षेत्रमा अग्रसर बन्दै गएको बताइन् । महिलाहरूको स्वास्थ्य सुरक्षित बनाउन समुदायकै सक्रियता आवश्यक हुने उनको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले स्थानीय तहको योजना, कार्यान्वयन र अनुगमन प्रभावकारी भएकाले सेवा परिणाममा गुणात्मक सुधार आएको बताए ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले प्रसुति सेवा प्रवाहका सन्दर्भमा नगरपालिकाको प्रगति विवरण प्रस्तुत गरेका थिए । जसअनुसार बाणगंगामा ९९ प्रतिशतभन्दा बढी प्रसुति संस्थागत माध्यमबाट सम्पन्न हुने गरेको पौडेलले बताए । पुर्ण संस्थागत प्रस्तुति सेवा दिगोपना घोषणा गर्नमा विशेष भुमिका निर्वाह गरेका नगरका ११ वटा वडाका स्वास्थ चौकीमा कार्यरत नर्सिङ स्टाफलाई नगरले सम्मान समेत गरेको छ ।