
वर्षभरि खान पुग्ने धान, मकै, कोदोलगायतका खेती छाडेर व्यावसायिक अकबरे खुर्सानी उत्पादनमा लागेका कृषकलाई बजारको चिन्ताले पिरोल्न थालेको छ । उदयपुरको कटारी नगरपालिकाका पहाडी क्षेत्रमा अघिल्लो वर्ष अकबरे खुर्सानी खेतीबाट करिब दुई सय घर कृषकले प्रतिघर झन्डै दुईदेखि तीन लाखसम्म आम्दानी गरेका थिए । त्यही देखेर दुईवटा वडाका झन्डै दुई हजारभन्दा बढी किसानले यस वर्ष व्यावसायिक अकबरे खुर्सानी खेती गरेको नगरपालिका– ११, गोठडाँडाका कृषक भेषराज राउतले बताए । उनले भने, ‘यसपटक अकबरे खुर्सानीको खेती गर्नेको संख्या झन्डै दुई हजार घरभन्दा माथि छ, उत्पादन बढ्ने भयो, कहाँ लगेर बेच्नु ? समस्या हुने भएको छ ।’
नगदे बालीमा अदुवा खेती गर्दै आएका यस क्षेत्रका कृषक पाँच वर्षअघिबाट अकबरे खुर्सानीमा आकर्षित भएका हुन् । राउत भन्छन्, ‘धान, मकै, कोदो, भटमासलगायतका खाद्यान्न बाली फल्ने खेतभरि अकबरे खुर्सानीको खेती छ । बिक्री सुरु भएको छ । तर, बजार अभावका कारण मूल्य घटिरहेको छ ।’
उत्पादन भर्खर सुरु भएको र हाल प्रतिकिलो काँचो एक सय ८० र पाकेको तीन सय रुपैयाँमा बिक्री भइरहेको कटारी नगरपालिका– ११ मा रहेको गहुँबारी तरकारी संकलन तथा बिक्री केन्द्रका अध्यक्ष केशव बस्नेतले जानकारी दिए । ‘दुई हप्ताअघि मात्र काँचो प्रतिकिलो तीन सय ५० ले बिक्री भइरहेको थियो । अहिले ह्वात्तै घटेको छ । व्यापारी आउन छाडेका छन्,’ उनले भने, ‘थोरै मात्रामा उत्पादन हुँदा जिल्लाकै कटारी, गाईघाट, घुर्मीलगायतमा बिक्री हुन्थ्यो । तर, यसपालिका उत्पादन विगतको तुलनामा धेरै ठुलो छ ।’
यो वर्ष यस क्षेत्रमा झन्डै डेढ सय टनभन्दा बढी अकबरे खुर्सानी उत्पादन हुने उनको अनुमान छ । यसैगरी, अर्का स्थानीय जानबहादुर राउतले गएको वर्ष अकबरे खेतीबाट पाँच लाख आम्दानी गरेपछि यसपालिको खेती बढाएको बताए । उनले भने, ‘यसपटक भएजति सम्पूर्ण जग्गामा अकबरे खुर्सानी खेती गरेर वार्षिक १५ लाख कमाउने योजनामा छु, बिक्री नहुने पो हो कि भन्ने डर छ ।’
कटारी नगरपालिका– ११ का वडा अध्यक्ष अनन्त हायुले कटारी नगरपालिकाका पहाडी क्षेत्रका ८, ९, १०, ११, १२, १३ नम्बरमा अनुमातित एक हजार पाँस सय रोपनीभन्दा बढी जग्गामा अकबरे खुर्सानी खेती गरिएको बताए । उनले भने, ‘तरकारीका ठूला व्यापारी नआएको र स्थानीय व्यापारीले उत्पादन बजारमा पुर्याउन समस्या भएको छ । विगतका वर्षको तुलनामा कृषकले मूल्यसमेत नपाएको अवस्था छ ।’ सरकारी तथा गैरसकारी क्षेत्रको अनुदानबाट त्यस क्षेत्रका कृषकलाई अकबरे खुर्सानी खेतीमा आकर्षित गरिएको वडाअध्यक्ष हायूको भनाइ छ ।
कटारी नगरपालिकाकी कृषि शाखा प्रमुख एलिका मगरले अकबरे खुर्सानीको खेती गरिएको जग्गाको क्षेत्रफल थाहा नभएको, तर पहाडी क्षेत्रमा अकबरे खेती हुने गरेको जानकारी दिइन् । कटारीको पहाडी भेगबाट मध्यपहाडी लोकमार्गबाट राजधानी काठमाडौं र सिद्धिचरण लोकमार्गबाट पूर्वी नेपालका सहरसँग सम्पर्क हुन्छ । अनि गाउँ–गाउँ पुगेका कच्ची कृषि सडक निर्माण भएपछि त्यस क्षेत्रका कृषक व्यावसायिक तरकारीमा जुटेका छन् । तर, बजार नपाउँदा समस्या हुने गरेको कृषकको भनाइ छ । त्यसमा उदयपुरको पहाडी क्षेत्रका अधिकांश कृषकले अकबरे खुर्सानी खेतीमा लाग्न लागेपछि बजारको समस्या हुने गरेको स्थानीय संकलन केन्द्रका प्रमुख तथा व्यापारीहरू बताउँछन् ।
कटारी नगरपालिका– ११ का वडाध्यक्ष अनन्त हायु भन्छन्–कटारी नगरपालिकाका पहाडी क्षेत्रका ८, ९, १०, ११, १२, १३ नम्बरमा अनुमातित एक हजार पाँस सय रोपनीभन्दा बढी जग्गामा अकबरे खुर्सानी खेती गरिएको छ । तर, अहिले तरकारीका ठूला व्यापारी आएका छैनन् । स्थानीय व्यापारीले उत्पादन बजारमा पुर्याउन समस्या भएको छ । विगतका वर्षको तुलनामा कृषकले मूल्यसमेत नपाएको अवस्था छ ।