१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 20 June, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
Invalid date format o८:o६:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

असार लागेसँगै अरनिको राजमार्ग ठप्प : दुई ठाउँमा भासियो,  पहिरोको जोखिम जताततै

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
Invalid date format o८:o६:oo

चीनको सीमासँग जोडिएको अरनिको राजमार्गअन्तर्गत कोदारीखण्डको सडक असार सुरुदेखि नै ठप्प छ । नेपाल प्रहरीका अनुसार अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका– २, कोदारीमा १ असार तथा वडा नम्बर २ को कोप्लाङ र ३ को लार्चामा ३ असारमा पहिरो खस्दा अवरुद्ध बनेको हो ।

चीनको सिमानाबाट डेढ किलोमिटर नेपालमा भोटेकोशी गाउँपालिकाभित्र कोदारी इकोरिसोर्ट साइड भासिएर नदीमा मिसिएकाले सडक उठाउन कठिन परेको हो । इकोरिसोर्टदेखि लिपिङसम्म मालवाहक कन्टेनर लामबद्ध छन् । ती कन्टेनरलाई जतिवेला पनि पहिरोले पुर्न सक्ने जोखिम छ ।

तातोपानीका स्थानीय कर्म शेर्पाले दिएको जानकारीअनुसार लिपिङमा भोटेकोशी नदीले भग्नावशेष तानिरहेको छ । चीनपट्टि सिमेन्टेड वाल भएको र नेपालपट्टि खुला रहेकाले यो बर्खामा लिपिङ बजारलाई बाढीले कटान गर्ने जोखिम रहेको शेर्पाले बताए ।

त्यस्तै, तातोपानीको कोप्लाङमा केही हप्ताअघि उकासेको सडक पुनः भासिएको छ । नेपाल–चीन सिमानाबाट तातोपानी छिचोल्ने सडक पूर्ण बन्द छ । लार्चास्थित भोटेकोशी नदीमा हालेको ह्युमपाइप बगाएकाले नदी पार गर्न सकिने अवस्था छैन । सो स्थानमा बेलिब्रिज तयार भइसकेको छ । तर, वारिपारिको सडक बेलिब्रिजसम्म तयार भएको छैन । बेलिब्रिज चालू हुन केही दिन लाग्छ ।

भोटेकोशी गाउँपालिकाभित्र खोकुन्डोल, डाक्लाङ, चाकु र नयाँपुलआसपास सडक जीर्ण छ । पहिरोको उत्तिकै जोखिम छ । तालुक निकाय सडक डिभिजन कार्यालय चरिकोटको उपस्थित न्यून छ । पहिरो भासिँदा होस् वा पहिरो जाँदा नाकामा क्रियाशील व्यापारी र हाइड्रोपावर कम्पनीको मेसिन प्रयोग गरेर सडक पन्छाउनुपर्ने बाध्यता छ । सडक बनाउँदा–बनाउँदा सबै पक्ष निराश बनेका छन् । सडक डिभिजनका कर्मचारी तातोपानी क्षेत्रमा छन् । तर, उनीहरू मेसिन लिएर बेलुका आउँछन्, एक–दुई घण्टा काम गर्छन् । रातभरिको वर्षाले फेरि बगाउँछ ।

बाह्रबिसे नगरपालिकाभित्र बसेरी, जम्बु, खागदल र जुरेमा पहिरोको जोखिम रहेको बाह्रबिसे नगरका मेयर बालकृष्ण बस्नेतले बताए । बाह्रबिसेदेखि लिपिङसम्म २६ किलोमिटर सडकखण्ड बाढी र पहिरोको उच्च जोखिममा छ । बुधबार र बिहीबारको वर्षाले बसेरी र जुरेमा सडक बगाएको छ ।

१ असारदेखि सडक बन्द हुँदा चाडपर्वलक्षित सामान खरिद गर्ने तयारीमा रहेका व्यापारी निराश देखिएका छन् । छोटो दूरीको नाका तातोपानी हुँदै सामान आयात गर्ने व्यापारीलाई पटकपटक सडक अवरुद्ध हुँदा कुन नाका तय गर्ने भन्ने दोधार उत्पन्न भएको छ ।

तातोपानी भन्सारका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले दिएको जानकारीअनुसार फलफूलजन्य सामग्री आयात गर्न समस्या परेको छ । मालवाहक कन्टेनर र चालक सधैँ जोखिममा रहेको उनले बताए । बाटोमा अलपत्र परेको स्याउ र अन्य फलफूल मानिसले बोकेर भन्सार ल्याउनुपरेको छ ।