
अवरुद्ध भएको १६ घण्टापछि राप्ती राजमार्ग पुनः सञ्चालनमा आएको छ। गएराति करिब १० बजेदेखि अविरल वर्षासँगै आएको पहिरोले राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।
राप्ती राजमार्गअन्तर्गत कपुरकोट–दाङ सडकखण्डअन्तर्गत कपुरकोट गाउँपालिका– ३ चोरखोलालगायतका विभिन्न स्थानमा झरेको पहिरो हटाएपछि दिउँसोबाट दुईतर्फी सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
निरन्तरको वर्षा र पहिरो झरिरहेका कारण रातको समयमा पहिरो हटाउन समस्या भएकाले शुक्रबार बिहानबाट मात्र पहिरो हटाउने कार्य भएकाले लामो समयसम्म राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिए।