
नेपाल आयल निगम लिमिटेडको नायब कार्यकारी निर्देशक वीरेन्द्र गोइतले बुधबारबाट अनिवार्य अवकाश लिएका छन् । निगममा ३० वर्षे सेवा अवधि पूरा गरेका गोइत ५८ वर्षे उमेरहदले अवकाश भएका हुन् । उनले पछिल्लो अढाई वर्ष सबैभन्दा महत्त्वपूर्ण मानिने आपूर्ति तथा वितरण विभाग प्रमुख रहेर काम गरेका थिए । उनले दशकअघि निगम प्रवक्ताको जिम्मेवारी पनि सम्हालेका थिए ।
निगममा नायब कार्यकारी निर्देशकको कार्यावधि चार वर्ष हुने भए पनि गोइतले करिब अढाई वर्ष मात्रै बिताए । चार वर्षअघि आफ्नो बढुवा हुने पालोमा गोइतले तत्कालीन निर्देशक करुणा क्षेत्रीलाई अवसर प्रदान गरेका थिए । त्यतिवेला गोइत बढुवा हुँदा क्षेत्री निर्देशक तहबाटै अवकाश हुने स्थिति बनेपछि गोइतले आफ्नो बढुवा हुने अवधि एक बर्ष धकेलेर क्षेत्रीलाई अवसर दिएका थिए । क्षेत्री नायब कार्यकारी निर्देशक बनेको डेढ वर्षमै अवकाश भएपछि गोइत माघ, ०७९ मा बढुवा भएका थिए ।
आफ्नो बढुवा हुने पालोमा अरू कर्मचारीलाई अवसर प्रदान गरेका गोइतले भने नायब कार्यकारी निर्देशकको चारवर्षे कार्याकल पूरा नगरी बिदा भएका छन् । ०५२ मा निगम प्रवेश गरेका गोइतले थानकोट, भैरहवा, नेपालगन्ज, विराटनगरलगायतका डिपो प्रमुख भएरसमेत काम गरेका थिए । सेवाको दौरान उनी ‘पेट्रो केमिकल्स’ बाट सिर्जित हुने रोग (शरीरको पूरै भागमा फोका निस्कने) सँग पनि लडेका थिए । उक्त रोग अहिले पनि समयसमयमा बल्झिने गरेको गोइतले निकटस्थहरूलाई बताउने गरेका छन् ।
गोइतले इन्डियन आयल कर्पोरेसनका अधिकारीसँग राम्रो सम्बन्ध स्थापित गरेका थिए । जसकारण निगम र आइओसीबिच हुने वार्षिक बैठक, दुई देशका आपूर्ति मन्त्रालयका सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठक र प्रत्येक पाँच वर्ष हुने आपूर्ति सम्झौता नवीकरणका दौरान गोइतले प्रभावकारी भूमिका खेल्दै आएका थिए। उनी निर्माणाधीन पेट्रोलियम पूर्वाधारलाई चाँडो अघि बढाउन पनि सक्रिय थिए ।
निगम प्रवक्ता मनोज ठाकुरले आपूर्ती क्षेत्रमा प्रभावकारी कार्यकुशलता भएका गोइतको अवकाशले संस्थालाई क्षति पुगेको बताए । ‘म आफैँ ०६६ मा निगमको सेवा प्रवेश गर्दा गोइत सरले अन्तर्वार्ता लिनुभएको थियो । त्यो वेलादेखि म उहाँलाई चिन्दछु,’ पवक्ता ठाकुर भने, ‘देशको कुनै ठाउँमा इन्धन आपूर्तिमा समस्या भयो की आफै दौडिएर सहजताका लागि प्रयास गर्ने स्वभाव थियो । उहाँले आफूले जानेको विषय अन्य कर्मचारीलाई पनि सिकाउने गर्नुहुन्थ्यो ।’
करिब एक महिना अघि इआरपी प्रणालीमा आएको समस्याले उपत्यकामा इन्धन वितरण रोकिएपछि समाधानका लागि गोइत आफैँ थानकोट डिपो पुगेको प्रसंग ठाकुरले सम्झिए । ‘उहाँ त्यतिवेला डिपोमा पुगेर ट्यांकर लोड–अनलोडको अवस्था, अघिल्लो दिनको बिक्री र पेट्रोल पम्पहरूमा रहेको मौज्दातलगायतको विवरण हेर्नुभएको थियो । माथिल्लो तहको कर्मचारीले यसरी दौडधुप गरेपछि समस्या समाधान गर्न अरूलाई दबाब हुने रहेछ,’ ठाकुरले भने ।
गाइतेले पनि निगममा रहँदा संस्था र देशको पेट्रोलियम आपूर्ति प्रणाली सुधारका लागि इमानदारीपूर्वक काम गरेको बताए । ‘देशभरमा सहज इन्धन वितरण र उपभोक्तामैत्री सेवालाई प्राथमिकता दिएर काम गरेको छु,’ उनले भने । गोइतलाई बिदाइ गर्दै निगमको आधिकारिक ट्रेड युनियन राष्ट्रिय कर्मचारी संघका अध्यक्ष मधुमास पुनले कुशल व्यवस्थापक गुमाएको बताए । गोइतले आर्जन गरेको विज्ञता निगमले निकट भविष्यमै उपयोग गर्नुपर्ने धारणा पनि पुनले राखे ।