
छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रमा अत्यधिक मात्रामा वर्षा हुने हुँदा सुनकोशी नदीमा बाढी आई नदीआसपासका बस्ती जोखिममा पर्न सक्ने भएकाले सतर्क र चनाखो रहन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासकीय अधिकृत प्रकाश प्रधानले बिहीबार एक सूचना जारी गर्दै असार ३ गतेदेखि ७ गतेसम्म चीनको तिव्बत क्षेत्रमा अत्यधिक मात्रामा वर्षा हुने सम्भावना रहेकाले सुनकोशी नदीमा बाढी आई आसपासको बस्ती जोखिममा पर्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेका हुन् ।
सुनकोशी नदीतटीय क्षेत्रमा पर्ने सुनापति गाउँपालिका, खाँडादेवी गाउँपालिका, मन्थली नगरपालिका र रामेछाप नगरपालिकाको नदी आसपास बाढीको जोखिम हुन सक्ने भएकाले उक्त क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको हो ।
रामेछापको सुनकोशी किनारमा च्याँयडटार, सिन्धुरेटार, लुभुघाट, खैरनीघाट, कोथपे, बेलघारी, सित्खा, डब्खा, पुछिघाट, नबुघाट, हर्दिनीघाट र भोटटारलगायतको क्षेत्रमा बाक्लो बस्ती रहेको छ । ती सबै बस्तीमा गत वर्षको असोज १० देखि १२ गतेसम्म सुनकोशी नदीमा आएको बाढीले समेत धेरै ठुलो क्षति पुर्याएको थियो ।
चीनको प्रहरी कार्यालयले हिजो नै तिब्बत क्षेत्रमा असार ४ गतेदेखि ७ गतेसम्म अत्यधिक मात्रामा वर्षा हुने भन्दै सार्वजनिक सूचना जारी गरेको थियो । तिब्बतले हिजो नै उक्त सूचना जारी गरेसँगै सिन्धुपाल्चोक, काभ्रे र सिन्धुली जिल्ला प्रशासन कार्यालयहरूले सुनकोशी नदीतटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सतर्कता अपनाउन अनुरोध गरेका थिए ।