
सुदूरपश्चिममा लागुऔषधको केन्द्र बनेको कैलालीमा प्रहरीले लागुऔषधविरुद्धको अभियान सञ्चालन गर्ने भएको छ। अभियान सञ्चालन गर्नका लागि जिल्ला प्रहरी कार्यालयले लागुऔषध नियन्त्रण कार्यविधि तयार पारी प्रदेश प्रहरी कार्यालयबाट स्वीकृत गराएर कार्यान्वयनको तयारी गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख बालनरसिंह राणाले लागुऔषध प्रयोगकर्ता र अभिभावकलक्षित गरेर जिल्लाभरि लागुऔषधविरुद्धको अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए । ‘यहाँ लागुऔषधको अवस्था भयावह रहेछ, कारागारमा रहेकामध्ये ७० प्रतिशतभन्दा बढी लागुऔषध मुद्दाका छन्,’ हालै सरुवा भएर आएका उनले भने, ‘लागुऔष नियन्त्रण गर्न पालिकाहरूको सहयोगमा जिल्लाभरि अभियान चलाउन लागेका हौँ ।’
अभियानअन्तर्गत अभिभावक, प्रयोगकर्ता तथा लागुऔषधको जोखिममा रहेका व्यक्ति पहिचान गरी उनीहरूलाई प्रशिक्षण दिइने कैलाली प्रहरीले जनाएको छ । त्यस्तै लागुऔषधको दुर्व्यसनीमा फसेकाहरूको पहिचान गरी अभिभावकको समन्वयमा उनीहरूलाई पुनर्स्थापना केन्द्र पठाउने, विद्यालय, क्याम्पसमा विद्यार्थीलाई लागुऔषधविरुद्ध सचेत गराउने प्रहरीको योजना छ ।
सचेतना फैलाउन क्लब, समितिहरू गठन गर्ने र प्रयोगकर्ताको सूक्ष्म निगरानी गरिने कार्ययोजनामा उल्लेख छ । लागुऔषध मुद्दामा पक्राउ परेकामध्ये अधिकांश १३ देखि २५ वर्ष उमेर समूहका युवायुवती रहने गरेकाले अभिभावकसँगै यो उमेर समूहलाई लक्षित गरेर कार्यक्रमहरू गरिने प्रहरी उपरीक्षक राणाले बताए । दुर्व्यसनमा फसेका व्यक्तिका लक्षण, लागुऔषधको असर, दुर्व्यसनमा फस्न नदिन अभिभावकले खेल्नुपर्ने भूमिका, दुर्व्यसनमा छुटाउने उपायलगायत विषयमा विज्ञहरूबाट अभिभावक, लक्षित वर्ग र प्रयोगकर्तालाई प्रशिक्षण दिने योजना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अभियानका क्रममा लागुऔषधमा फसेकाहरूलाई मनोपरामर्श दिएर दुर्व्यसनीमा लाग्नुहुँदैन भन्ने महसुस गराउन प्रयास गरिने प्रहरी उपरीक्षक राणाले बताए ।
‘लागुऔषध प्रयोगकर्तालाई यो गलत बाटो हो भन्ने महसुस गराउन जरुरी छ । पुनर्स्थापनमा जान उनीहरूलाई मनोपरामर्श दिन्छौँ,’ पत्रकार सम्मेलन गरेर अभियानबारे जानकारी दिँदै उनले भने, ‘प्रशिक्षणले कस्तो नजिता दियो भनेर दुर्व्यसनीको सूक्ष्म निगरानी गर्ने र अन्तिममा कानुन कार्यान्वयनको चरणमा जाने गरी कार्ययोजना बनाएका छौँ ।’
लागुऔषध प्रयोगकर्ता लक्षित प्रशिक्षणमा दुर्व्यसनीमा लागेर सुधारको बाटो लिएकाहरूको प्रेरणादायी कथा सुनाउने र पुनर्स्थापित हुने उपायबारे जानकारी दिने प्रहरीको योजना छ । कार्ययोजनाअनुसार अभिभावकलाई एक दिन र प्रयोगकर्तालाई तीन दिन दुर्व्यसनीविरुद्ध प्रशिक्षण दिइनेछ । प्रशिक्षणपछि अभिभावकबिच अब लागुऔषध खान्नौँ भनेर लक्षित समूहलाई प्रतिबद्धता गराउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आफ्ना छोराछोरीलाई लागुऔषधमा फस्न नदिन अभिभावकको भूमिका महत्त्वपूर्ण रहने भएकाले अभिभावकलाई सचेत गराउन लागिएको प्रहरी उपरीक्षक राणाले बताए । ‘अभिभावकले आफ्ना छोराछोरी कहाँ जान्छन्, के खान्छन्, व्यवहारमा कस्तो परिवर्तन आइरहेको छ हेर्नुपर्छ । त्यसैले अभिभावलाई जिम्मेवार बनाउन खोजिएको हो,’ उनले भने, ‘१३ देखि २५ वर्षसम्मका युवायुवती लागुऔषधमा बढी फसेको देखिन्छ । हामीले यो समूहलाई टार्गेटमा राखेका छौँ ।’
१० महिनामा ६७५ जना पक्राउ
कैलालीमा १० महिनाको अवधिमा लागुऔषधसम्बन्धी मुद्दामा ६७५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि बैशाख मसान्तसम्म लागुऔषधका चार सय दुईवटा मुद्दामा ६७५ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमध्ये अधिकांश १३ देखि २५ वर्ष उमेरका रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्षमा प्रहरीले यहाँ लागुऔषधका ३१५ वटा मुद्दामा ४४७ जनालाई पक्राउ गरेको थियो । भारतसँगको खुला सिमानाका कारण कैलाली लागुऔषध प्रयोग तथा कारोबारको केन्द्र बनेको छ । कैलालीको एक सय किलोमिटर सीमा भारतसँग जोडिएको छ । चरेसबाहेक सबैजसो लागुऔषध भारतीय बजारबाट लुकिछिपी ल्याउने गरिएको छ । खुला सिमानाका कारण त्यसलाई रोक्न चुनौती रहेको प्रहरीको भनाइ छ । कैलाली, कञ्चनपुरबाट सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा समेत लागुऔषध पुग्ने गरेको पाइन्छ ।