
एमाले विद्यार्थी संगठन अनेरास्ववियुले हालै सम्पन्न २४औँ राष्ट्रिय महाधिवेशनबाट ३२ वर्षे उमेरहद लागू हुँदा संगठन जेन्जी पुस्तासँग औपचारिक रूपमै जोडिएको निष्कर्ष निकालेको छ । शनिबार बसेको पहिलो कार्यसमिति बैठकबाट अनेरास्ववियुले त्यस्तो निष्कर्ष निकालेको हो ।
‘यो महाधिवेशन संगठनको इतिहासमै नीतिगत, वैचारिक र सांगठनिक दृष्टिले विशेष महत्व बोकेको कोसेढुंगाका रूपमा रहनेछ किनभने ३२ वर्षमुनिका युवाहरू मात्र नेतृत्वमा रहने निर्णयले ‘कक्षाकोठासँग जोडिएको वास्तविक विद्यार्थी नेतृत्व’ र ‘जेन्जी’ पुस्तासँग संगठनलाई जोड्ने हाम्रो प्रतिबद्धतालाई औपचारिक मान्यता प्रदान गरेको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
उमेरका आधारमा अलग भएका संगठनका नेता–कार्यकर्तालाई समुचित जिम्मेवारी दिन पनि बैठकले एमालेको ध्यानाकर्षण गरेको छ । बैठकले आर्थिक सचिवमा आकाश घर्ती मगर, संगठन सचिवमा अधिवक्ता गोपाल नेपाल, प्रचारसचिवमा समिमबाबु खान र विदेशसचिवमा इन्जिनियर रचना सापकोटालाई चयन गरेको अध्यक्ष डा. सुजन कडरियाले बताए ।