१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 15 June, 2025
पवन तिमिल्सिना काठमाडाैं
Invalid date format o६:४९:oo
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सहरी विकासको झन्डै एक अर्ब बजेट कांग्रेस–एमाले नेताका नाममा

Read Time : > 5 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:४९:oo
  • सहरी विकासमन्त्री प्रकाशमान सिंहले बुबा गणेशमान र आमा मंगलादेवीको नामका ४९ परियोजनामा छुट्याए ६९ करोड ६२ लाख, कांग्रेस भ्रातृ संस्था तरुण दलको भवनका लागि समेत विनियोजन गरेर बजेट दुरुपयोग

एमाले–कांग्रेस गठबन्धन सरकारले राज्य ढुकुटीको पैसा पार्टीका भ्रातृ संस्थाका भवन बनाउनसमेत विनियोजन गरेर हाकाहाकी बजेटको चरम दुरुपयोग गरेको छ । ती पार्टीका नेताका नाममा सहरी विकास मन्त्रालयअन्तर्गत दर्जनौँ परियोजना खडा गरी ९५ करोड ७७ लाख विनियोजन गरिएको हो । 

सहरी विकासमन्त्री प्रकाशमान सिंहले सबैभन्दा धेरै बजेट आफ्ना दिवंगत बाबुआमा गणेशमान र मंगलादेवीको नामका परियोजनामा छरेका छन् । कांग्रेसका संस्थापक गणेशमानको नामका ३७ संस्था तथा परियोजनाका लागि मात्रै ५६ करोड ८५ लाख र मंगलादेवीको नामका १२ परियोजनालाई १२ करोड ७६ लाख गरी ६९ करोड ६२ लाख छुट्याइएको छ । गणेशमानको नाममा विनियोजित बजेट कांग्रेसको भ्रातृ संगठन तरुण दलको भवन निर्माणमा समेत खर्च गरेर राज्य ढुकुटीको दुरुपयोग गर्न लागिएको छ । 

‘काठमाडौं महानगरपालिका– १३ मा गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा तीन करोड छुट्याइएकोमा उक्त भवन तरुण दलका लागि बन्न लागेको तरुण दलकै अध्यक्ष विद्वान गुरुङले नै खुलाइसकेका छन् । ‘काठमाडौं महानगरपालिका– १३ रविभवनमा नेपाल तरुण दलको भवन निर्माणार्थ ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा सहरी विकास मन्त्रालयबाट बहुवर्षीय योजनाअन्तर्गत तीन करोड विनियोजन भएको छ,’ गुरुङले २४ जेठमा संगठनको लेटरहेडमा विज्ञप्ति जारी गरेर भनेका छन् । उनले बजेट छुट्याइदिने मन्त्री सिंह र बजेटका लागि पहल गरिदिएको भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई धन्यवादसमेत दिएका छन् । 

त्यस्तै, एमाले नेता दिवंगत मदन भण्डारीका नाममा चार परियोजनामा १२ करोड छुट्याइएको छ । कांग्रेस नेता एवं पूर्वप्रधानमन्त्री दिवंगत बिपी कोइरालाको नाममा तीन करोड ५५ लाखका परियोजना छन् । कांग्रेसकै नेता एवं पूर्वप्रधानमन्त्री दिवंगत कृष्णप्रसाद भट्टराईका नामका परियोजनामा तीन करोड ९० लाख छुट्याइएको छ । कतिपय परियोजनामा मंगलादेवीसँगै कांग्रेसका दिवंगत नेतृहरू नोना कोइराला, सुशीला कोइराला र शैलजा आचार्यको नाम जोडिएको छ । त्यस्तै, मदनको नामका कतिपय परियोजनामा जीवराज आश्रितको नाम पनि राखिएको छ । कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठका नाममा रामेछापमा एउटा परियोजनाका लागि ७० लाख र माओवादीका दिवंगत नेता पोस्टबहादुर बोगटीलगायतको नाममा हुम्लामा एउटा परियोजनामा तीन करोड विनियोजन गरिएको छ ।

राजनीतिक दलका नेताका नाममा यसरी बजेट विनियोजन गर्नु नै एक प्रकारको नीतिगत भ्रष्टाचार हुने पूर्वसचिव डा. मुकुन्द पौडेल बताउँछन् । त्यसमा पनि उक्त बजेट उनीहरूका नाममा खुलेका गैरसरकारी संस्था र प्रतिष्ठानलाई दिएर पार्टीका संगठन संरचना निर्माणलगायतमा छुट्याउनु अर्को गलत काम हुने उनको टिप्पणी छ । ‘कुनै राजनीतिक दलका नेताका नाममा कार्यक्रम राख्ने र बजेट विनियोजन गर्ने कार्य नीतिगत भ्रष्टाचारको उच्चतम नमुना हो । त्यसमा पनि उनीहरूका नाममा खुलेका गैरसरकारी संस्था एवं प्रतिष्ठानलाई बजेट छुट्याउनु अर्काे गलत काम हो,’ पौडेलले भने, ‘नागरिकले तिरेको कर नेताका नाम र राजनीतिक प्रचारप्रसारका लागि खर्च गर्नु बदनियतपूर्ण काम हो ।’ 

बजेटमा भएको यस्तो दुरुपयोगमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्नुपर्ने पौडेल बताउँछन् । ‘हामी बजेटमा विनियोजन कुशलताका कुरा गर्छाैँ । तर, भनाइ र गराइमा आकाश र पातालको फरक देखिन्छ,’ उनले भने, ‘प्रधानमन्त्री र राष्ट्रपतिका नाममा त कार्यक्रम नै राख्न नपाइने हो ।’

गणेशमानको नामका ३३ संस्था तथा परियोजनामा ५८ करोड १७ लाख
काठमाडौंको जहरसिंहपौवा क्षेत्रमा गणेशमान सिंह पार्क तथा स्टेडियमको निर्माणका लागि विस्तृत आर्किटेक्चरल ड्रइङ, डिजाइनलगायत कार्यमा ३५ लाख ९६ हजार रुपैयाँ बजेट छुट्याइएको छ । यसको गुरुयोजना तथा आर्किटेक्चरल डिजाइन तयार पार्न अर्को १८ लाख र वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्न १३ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, जहरसिंहपौवामा गणेशमान सिंह पार्क निर्माणमा चार करोड छुट्याइएको छ ।

पाँचथरको फिदिममा समेत उनको नाममा पार्क निर्माणका लागि तीन करोड विनियोजन भएको छ । त्यस्तै, झापाको सताक्षी नगरपालिकामा अध्ययन प्रतिष्ठानको पूर्वाधार र भवन निर्माणका लागि सात करोड रुपैयाँ छुट्याइएको छ । त्यस्तै, भवन निर्माणको दायित्व भुक्तानीका लागि २० लाख विनियोजन गरिएको छ । मोरङको बेलबारीमा रंगशाला निर्माणका लागि तीन करोड, बाराको निजगढमा पार्क मोहरी व्यवस्थापनका लागि तीन करोड रुपैयाँ र काठमाडौंका विभिन्न वडामा स्मृति भवन तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको स्तरोन्नति र पूर्वाधार विकासका लागि तीन–तीन करोडका दरले विनियोजन भएको छ । भक्तपुर, पोखरा, पर्सा, ललितपुर, दैलेख, सुर्खेत, कैलाली, रुकुम, सिन्धुपाल्चोक, अछाम, दाङ, बझाङ, प्युठान, इलामलगायत जिल्लामा पनि पार्क, भवन, बाटिका, स्पोर्टस् पार्क, पुस्तकालय र सभा हल निर्माण तथा स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ । गणेशमान सिंह नामका यस्ता परियोजनामा कुल ५८ करोड १७ लाख ४६ हजार छुट्याइएको छ ।

मंगलादेवीका नामका आठ संस्था तथा परियोजनामा १२ करोड ७६ लाख
मन्त्री सिंहकी आमा मंगलादेवी सिंहका नाममा आठ परियोजनामा कुल १२ करोड ७६ लाख रुपैयाँ विनियोजित छ । सुनसरीको रामधुनी नगरपालिका– २, डुम्राहा क्षेत्रमा मंगला, नोना, सुशीला, शैलजा स्मृति प्रतिष्ठानको भवन निर्माण कार्यका लागि १३ करोड ५० लाख रकम दायित्व भुक्तानीका लागि छुट्याइएको छ । काठमाडौंको टोखा– ६ मा मंगला–शैलजा स्मृति भवन निर्माणमा ६३ लाख बजेट विनियोजित भएको छ भने सोही ठाउँमा स्मृति भवनको पूर्वाधार निर्माणका लागि तीन करोड छुट्याइएको छ । मंगलादेवी फाउन्डेसन भवन पूर्वाधार निर्माणका लागि पनि तीन करोड छुट्याइएको छ । काठमाडौंको नागार्जुन नगरपालिका– १ मा वनदेवी महिला उत्थान संघका नाममा मंगलादेवी सिंह स्मृति भवन र सामुदायिक भवन निर्माणका लागि कुल तीन करोड २० लाख विनियोजन गरिएको छ ।

त्यस्तै, गुल्मीको इस्मा गाउँपालिका– ६ मा मंगलादेवी स्मृति भवन निर्माणका लागि ७० लाख विनियोजन गरिएको छ भने कैलालीको लम्कीचुहा नगरपालिका– १ मा मंगलादेवी सिंह स्मृति पार्क निर्माणका लागि ७० लाख छुट्याइएको छ । काभ्रेको मन्डनदेउपुर नगरपालिका–  ५ मा मंगलादेवी सामुदायिक भवन निर्माणका लागि पनि ७० लाख बजेट विनियोजित छ ।

मदन भण्डारीका नामका चार परियोजनामा १२ करोड
मदन भण्डारीको नाममा सञ्चालन गरिएका योजनाअन्तर्गत विभिन्न स्थानमा पूर्वाधार निर्माण तथा सौन्दर्यकरणका कार्यहरू अघि बढाउन बजेट विनियोजन गरिएको छ । उदयपुरको त्रियुगा क्षेत्रमा सभाहल भवन निर्माणको पहिलो र दोस्रो चरणका लागि पाँच करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । यस्तै, काठमाडौंको तीनकुने–बागमती क्षेत्रमा मदन भण्डारी वाटिकाको सौन्दर्यकरणका लागि एक करोड छुट्याइएको छ । साथै, कलैया क्षेत्रमा मदन भण्डारी भवन निर्माणका लागि तीन करोड रुपैयाँको बजेट व्यवस्था गरिएको छ । बर्दियाको गुलरियामा मदन–आश्रित स्मृति प्रतिष्ठान निर्माणका लागि तीन करोड विनियोजित छ । यी योजनाहरूको कुल बजेट १२ करोड रुपैयाँ छ ।

त्यस्तै, रामेछाप नगरपालिका– ८, भँगेरीमा पुष्पलाल स्मृति पार्कको डिपिआरबमोजिम निर्माणका लागि ७० लाख र काभ्रेको मन्डनदेउपुर– ५ मंगलादेवी सामुदायिक भवन निर्माणका लागि ७० लाख विनियोजन गरिएको छ । हुम्लाको वक्त बुढा स्मृति पूर्वाधार विकास योजना, रामपाल माडु पर्यटन पूर्वाधार प्यारापिट निर्माण योजना तथा पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठान पूर्वाधार विकास निर्माणका लागि तीन करोड विनियोजित छ ।

बिपी र कृष्णप्रसाद भट्टराईका नाममा ७ करोड ४५ लाख
कांग्रेस नेता एवं पूर्वप्रधानमन्त्री दिवंगत बिपी कोइरालाका नाममा सञ्चालित योजनाअन्तर्गत विभिन्न जिल्लामा स्मृति भवन र पार्क निर्माण तथा पूर्वाधार स्तरोन्नतिको कार्यका लागि बजेट विनियोजित छ । प्युठानमा बिपी स्मृति समाज भवन निर्माणका लागि ७० लाख छुट्याइएको छ । सिन्धुलीमा स्मृति पार्क निर्माणका लागि दुई चरणमा गरी ८० लाख विनियोजन गरिएको छ । बागलुङ र मोरङमा स्मृति भवन निर्माणका लागि ७०–७० लाख व्यवस्था गरिएको छ । त्यस्तै, कञ्चनपुरमा अधुरो भवनको स्तरोन्नति कार्यका लागि ४० लाख र अर्घाखाँचीमा स्मृति प्रतिष्ठान परिसरको पूर्वाधार विकासका लागि २५ लाख छुट्याइएको छ । यी योजनाको कुल बजेट तीन करोड ५५ लाख छ ।

त्यस्तै, कांग्रेस नेता एवं पूर्वप्रधानमन्त्री दिवंगत कृष्णप्रसाद भट्टराईको नामका परियोजनामा तीन करोड ९० लाख विनियोजित छ । मोरङको विराटनगर– ४ मा कृष्णप्रसाद भट्टराई फाउन्डेसनको पूर्वाधार निर्माणका लागि तीन करोड छुट्याइएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ५ मा स्मृति भवन निर्माणमा ७० लाख र ललितपुरको बाडेगाँउमा रहेको कृष्णप्रसाद भट्टराई आश्रममा मन्दिर निर्माण तथा विभिन्न मर्मत कार्यका लागि २० लाख विनियोजन गरिएको छ । 

गणेशमानका नाममा तरुण दलको भवन बनाउन भन्दै तीन करोड विनियोजन

‘काठमाडौं महानगरपालिका– १३ मा गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा तीन करोड छुट्याइएकोमा उक्त भवन तरुण दलका लागि बन्न लागेको तरुण दलकै अध्यक्ष विद्वान गुरुङले नै खुलाइसकेका छन् । उनले बजेट छुट्याइदिने मन्त्री सिंह र बजेटका लागि पहल गरिदिएको भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई धन्यवादसमेत दिएका छन् ।

प्रदेश सरकारको बजेटमा कांग्रेस दोलखाको कार्यालय, नाम भने ‘बिपी स्मृति भवन’

बागमती प्रदेशको बजेटमा कांग्रेस दोलखाको कार्यालय निर्माण भइरहेको छ । बिपी स्मृति भवनका नाममा भीमेश्वर नगरपालिका– ६ मा निर्माण हुने भवनको कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले १७ जेठमा शिलान्यास गरेका थिए । चालू बजेटमा १५ लाख बजेट विनियोजन गरिएकोमा कांग्रेस नेतासमेत रहेका आर्थिक मामिलामन्त्री कुन्दन काफ्लेले थप रकम रकमान्तर गरी बजेट चार करोड २० लाख पुर्‍याएका थिए ।

यो अनियमितता हो, अख्तियारले हेर्नुपर्छ : डा. मुकुन्द पौडेल, पूर्वसचिव
कुनै राजनीतिक दलको नेताका नाममा कार्यक्रम राखेर बजेट विनियोजन गर्नु नीतिगत भ्रष्टाचारको उच्चतम नमुना हो । त्यसमा पनि उनीहरूका नाममा खुलेका गैरसरकारी संस्था एवं प्रतिष्ठानलाई बजेट छुट्याउनु अर्काे गलत काम हो । नागरिकले तिरेको करको पैसा राजनीतिक पार्टीविशेष नेताका नाम र राजनीतिक प्रचारप्रसारका लागि खर्च गर्नु बदनियतपूर्ण काम हो । यो अख्तियारले हेर्नुपर्ने अनियमितता हो । बजेटमा विनियोजन कुशलताका कुरा गर्छाैँ, तर भनाइ र गराइमा आकाश र पातालको फरक देखिन्छ ।