१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 15 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o५:५८:oo
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : सफल सिकारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o५:५८:oo

सेरा नामको एक सिंहले भर्खरै सिकार गर्न सुरु गरेको थियो । तर, ऊ एकपछि अर्को सिकारमा असफल भइरहेको थियो । उसको असफलतामा हाप्सिलो (हाइना) हरूले हाँसेर खिल्ली उडाउँथे । यसले गर्दा सेरा निकै दुःखी थियो । हाप्सिलोहरूले आफ्नो खिल्ली उडाउँदा सेरा गर्जेर उनीहरूलाई तर्साउने प्रयास त गथ्र्यो, तर बदमास हाप्सिलोहरू झनै जोडले हाँसेर सेरालाई गिज्याउँथे । सेराको समूहका सिंहहरू उसलाई हाप्सिलोमाथि ध्यान नदिन सल्लाह दिन्थे, तर ऊ जब–जब सिकार गर्न जान्थ्यो, तब–तब तिनै हाप्सिलोहरूको हाँसो उसको कानमा गुन्जिरहन्थ्यो ।

दिनदिनैको असफलता र हाप्सिलोहरूको हाँसोले सेरा आफूलाई साँच्चैको असफल सिकारी ठान्न थालेको थियो । जसले गर्दा निराश भएर ऊ अब सिकारको प्रयास नै नगर्ने विषयमा सोच्न थाल्यो । यो कुरा सेराकी आमाले थाहा पाई । ऊ आफ्नो समूहकी सबैभन्दा सफल सिकारी मानिन्थी । उसले एक रात सेरालाई बोलाई र भनी– सिकारका केही प्रयासमा असफल भयौ भन्दैमा तिमी निराश नबन । हामी सबै यो अवस्थाबाट गुज्रिएका छौँ । म पनि कैयौँपटक असफल भएकी थिएँ । सानोतिनो सिकारसमेत गर्न सक्दिनथेँ । हाप्सिलोहरू ममाथि पनि खुब हाँस्थे ।

त्यतिखेर मैले सिकार गर्न छाडिदिने हो भने ती हाप्सिलोहरूकै जित हुनेछ भन्ने बुझेँ । त्यसैले, तिमी पनि खुब मन लगाएर सिकारका लागि एकपछि अर्को कोसिस जारी राख, अवश्य पनि तिमी एक दिन कुशल सिकारी बन्नेछौ । अनि, अहिले तिमीमाथि हाँस्ने हाप्सिलोहरू हाँस्नु त के तिम्रो वरिपरि आउनसमेत सक्नेछैनन् । समय बित्दै गयो । केही महिनामै सेरा एक सानदार सिकारी बनेर जंगलमा विचरण गर्न थाल्यो । एक दिन उसको पञ्जामा ऊमाथि हाँस्नेमध्येकै एक हाप्सिलो पर्‍यो । 

उसले रुँदै आफूलाई नमार्न अनुनय गर्‍यो । सेराले उसलाई भन्यो– ठिकै छ, म तँलाई मार्दिनँ । म तँमार्फत मेरो असफलतामा हाँस्ने सबैलाई एक सन्देश दिन चाहन्छु । तिमीहरूको उपहासले मलाई रोक्न सकेन । त्यसले मलाई सफल सिकारी बन्न झनै प्रेरित गर्‍यो । अब गएर आफ्ना साथीहरूलाई बताइदे– हिजोसम्म तिमीहरू जसको खिल्ली उडाउँथ्यौ, जसमाथि हाँस्थ्यौ, आज त्यही यो वनको राजा भएको छ ।