१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३१ शनिबार
  • Saturday, 14 June, 2025
गणेश लम्साल विराटनगर
२o८२ जेठ ३१ शनिबार o६:२८:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

जेलबाट निस्किएपछि विराटनगरका साहुकार मन्टुको आतंक : हुलाकमार्फत पत्र पठाएर  पैसा नदिए जे पनि गर्न सक्ने धम्की

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८२ जेठ ३१ शनिबार o६:२८:oo

विराटनगरका मिटरब्याजी सञ्जयप्रसाद रौनियार ‘मन्टु’जेलबाट छुटेपछि फेरि पीडितलाई धाकधम्की दिएर आतंक मच्चाउन थालेका छन् । ठगी र आपराधिक लाभ मुद्दामा पुर्पक्षका लागि दुई वर्ष जेल बसे पनि ९ जेठ ०७९ मा मोरङ जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको इजलासबाट सफाइ पाएका मन्टुले पीडितलाई हुलाकमार्फत पत्र पठाउँदै भनेजति पैसा नदिए जे पनि गर्ने धम्की दिइरहेका हुन् । हुन त मन्टुले जेलबाटै १७ जना पीडितको जग्गा र पैसा फिर्ता गरिदिने प्रलोभन दिएर बकपत्र उल्टाएको आरोप थियो । अहिले फेरि धनपालथान, जहदा, रंगेली, सुनवर्षी र विराटनगरका ११ जनालाई पत्र पठाएर धाकधम्की दिन थालेका हुन् ।

साँवा र ब्याज गरी पैसा तिरेर जग्गा फिर्ता लिए पनि मन्टुले ‘अझै पैसा तिर्नु बाँकी छ’ भन्दै पत्र पठाएको मोरङको सुनवर्षी नगरपालिका– ४ का अमितकुमार यादवले बताए । 

अमितका बुबा महावीरले ६ वर्षअघि एक बिघा एक कट्ठा १५ धुर जग्गा राजीनामा पास गरेर मन्टुबाट दुई लाख रुपैयाँ ऋण लिएका थिए । ‘मन्टुसँग लिएको दुई लाखको ब्याज र साँवा गरी २० लाख रुपैयाँ तिरसके । तर, मन्टुले अझै २५ लाख ५० हजार दिएपछि मात्रै महावीरको जग्गा फिर्ता गरिदिने भनेर पत्र पठाएका छन्,’ अमितले विराटनगरमा पत्रकार सम्मेलनमा भने । मन्टुले १४ जेठमा मात्र पत्र पठाएका हुन् । 

त्यस्तै, विराटनगर महानगरपालिका– ८ का गणेश रायले आफ्नी बहिनीलाई मन्टुले हुलाकमार्फत पत्र पठाएर २५ लाख रुपैयाँ तिर्न भनेको बताए । गणेशका ज्वाइँ महानन्द रायले मन्टुसँग एक कट्ठा जग्गा र टिनको घरसहित राजीनामा पास गरेर दुई लाख ५० हजार रुपैयाँ लिएका थिए । ‘विभिन्न मितिमा मन्टुलाई ज्वाइँले पाँच लाख रुपैयाँ दिए । पछि मन्टु जेल गएपछि उनकी पत्नीलाई २५ लाख रुपैयाँ दिएपछि एक कट्ठा जग्गा र घर फिर्ता ल्याइएको हो,’ गणेशले भने । गणेशका ज्वाइँको निधन भइसकेको छ ।

धनपालथान गाउँपालिका– १ नोचाका गुल्जार मियाँले आफ्नो बाबु युनुस मियाँको नाममा मन्टुले पठाएको पत्र बुझेका छैनन् । ‘पैसा दिन भनेर बुबाको नाममा पत्र आएको छ,’ उनले भने, ‘कानुनी रूपमै सहमति भइसकेको कुरामा फेरि मन्टुले मिटरब्याज धन्दा चलाउन थालेका छन्, हामी त्रासमा छौँ ।’ 

मिटरब्याजपीडित १७ जनाले मोरङ प्रहरीमा ठगी र आपराधिक लाभ कसुरमा उजुरी दिएपछि २९ मंसिर ०७७ मन्टु पक्राउ परेका थिए । मन्टुले १७ जनालाई ९२ लाख ८८ हजार रुपैयाँ कर्जा दिएर थप एक करोड ९२ लाख ८५ हजार असुल गरेको निष्कर्ष प्रहरीले निकालेको थियो । सोहीबराबरको बिगो मागदाबीसहित दायर मुद्दामा २० माघ ०७७ मा मोरङ अदालतका तत्कालीन न्यायाधीश ईश्वर पराजुलीको इजालसले मन्टुलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर, जेलमै रहेका मन्टुले सबै १७ जना पीडितको जग्गा र पैसा फिर्ता गरिदिने प्रलोभन दिएर बकपत्र उल्टाएका थिए । त्यसपछि मन्टुले ९ जेठ ०७९ न्यायाधीश कपिलमणि गौतमको इजलासबाट मन्टुले ठगी र आपराधिक लाभ मुद्दामा सफाइ पाएका थिए । 

मन्टु भन्छन्– बिक्री गरेको जग्गाको पैसा मागेको हुँ
मिटरब्याजी सञ्जयप्रसाद रौनियार ‘मन्टु’ले भने बिक्री गरेको जग्गाको पैसा मागेर पत्र पठाएको दाबी गरेका छन् । ‘जेलमा छँदा जग्गा बिक्री गरेको थिएँ । पैसा अहिलेसम्म पाएको छैन । त्यही पैसा मागेको हुँ,’ उनले दाबी गरे, ‘चिट्ठी पठाएर धम्की दिएको होइन ।’ मन्टुका अनुसार सम्बन्धित व्यक्तिहरूले जग्गा बिक्री गर्दा खातामा पैसा राख्ने भनेका थिए, तर अहिलेसम्म आएको छैन । ‘पैसा दिइएन भने कानुनी प्रक्रिया अगाडि बढाउँछु,’ उनले भने ।