
सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा–पत्थरमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गर्दै देशभरका सुनचाँदी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघको संयुक्त आह्वानमा व्यवसायीहरू बिहीबारदेखि आन्दोलनमा उत्रिएका हुन् । यसमा जिल्लास्थित सुनचाँदी व्यवसायीका संघसंस्थाले पनि ऐक्यबद्धता जनाएका छन् ।
बिहीबार काठमाडौं, पोखरा, बुटवललगायतका बजारमा व्यवसायीले पसल नै बन्द गरेर आन्दोलन गरेका छन् । व्यवसायीहरूले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार पनि पसल बन्द गरेर आन्दोलन गर्ने व्यवसायीहरूको तयारी छ ।
सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहूमूल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने उनीहरूको माग छ । यसैगरी सुनमा लगाइएको भन्सार दर पनि १० प्रतिशतबाट घटाएर ६ प्रतिशतमा झार्नुपर्ने उनीहरूको माग छ । यसैगरी सुनचाँदीको कारोबारका लागि प्रस्ट नीति–नियमावली निर्माण गर्नुपर्ने व्यवसायीले माग गरेका छन् । उपभोक्ता, कर्मचारी, कालीगड तथा व्यवसायीमैत्री ऐन जारी गर्नुपर्ने पनि व्यवसायीको माग छ ।
यसअघि १० लाख रुपैयाँभन्दा माथिको सुनको कारोबारमा २ प्रतिशत विलासिताको कर लगाउने व्यवस्था थियो । सरकारले हालै ल्याएको आगामी आवको बजेटबाट भने सबै रकममा गरिने सुनको कारोबारमा २ प्रतिशत विलासिताको कर लगाउने व्यवस्था गरिएको छ । यस्तै, पहिला बहुमूल्य हिरा–पत्थरमा १३ प्रतिशत भ्याट लाग्ने थिएन । आगामी आवको बजेटमार्फत यसमा भ्याट लगाउने व्यवस्था गरिएको छ । यसले उपभोक्ता मर्कामा परेको व्यवसायीको भनाइ छ ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारले सरकारको यो नीतिले उपभोक्ता मर्कामा पर्ने बताए । साथै, व्यवसायी, कालीगड र कर्मचारीलाई प्रत्यक्ष असर पुग्ने उनको भनाइ छ । सुनमा भारतसरह भन्सार लगाउनुपर्ने उनको भनाइ छ । ‘अहिले भारतमा ६ प्रतिशत भन्सार लाग्छ । नेपाल–भारत खुला सिमाना छ । भारतमा भन्सार कम हुँदा त्यहाँ सुनको मूल्य कम हुन गई नेपालमा अवैध रूपमा भित्रिने जोखिम उच्च छ,’ उनले भने, ‘तसर्थ, सुनको भन्सार दर ६ प्रतिशत कायम गर्न माग गरेका हौँ ।’
सुनचाँदी व्यवसायीले शुक्रबार पनि पसल बन्द गरेर आन्दोलन गर्ने कार्यक्रम छ । त्यसपछि पनि सरकारले माग सम्बोधन नगरेमा असार १ गते काठमाडौंकेन्द्रित प्रदर्शन गर्ने तयारी छ । असार ४ गते देशभरका व्यवसायीलाई काठमाडौंमा भेला भएर संघर्षका कार्यक्रम गर्ने अध्यक्ष सुनारले बताए ।