
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिले भिजिट भिसा प्रकरणको विस्तृत छानबिन गरिरहेको छ । विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएर उनको डिभाइसलगायतमाथि छानबिन गरिरहेको छ । फरेन्सिक रिपोर्टसमेतका आधारमा भट्टराईको ‘लिंकेज’ पनि अख्तियारले खोजिरहेको छ । उनको सम्बन्ध अध्यागमन विभाग र गृह मन्त्रालयसम्मै रहेको संकेत पाए पनि यसका प्रमाणहरू खोज्ने क्रम जारी रहेको अख्तियार स्रोत बताउँछ ।
ट्राभल एजेन्सी र एयरलाइन्स कम्पनीमाथि पनि अख्तियारले अनुसन्धान गरिरहेको छ । पछिल्लो समय अध्यागमनमा भिजिट भिसाको असुली बढेको उजुरीका आधारमा अख्तियारले सहसचिव भट्टराईलाई निगरानी गरी रंगेहात पक्राउ गर्ने तयारी गरेको थियो । तर, सूचना चुहिएपछि गृहले गत ७ जेठमा हतारहतार उनको सरुवा गरेको थियो । सोही दिन अख्तियारले उनलाई नियन्त्रणमा लिई मोबाइल र ल्यापटप जफत गरेको थियो ।
भट्टराईलाई हाजिरी जमानीमा राखेर अनुसन्धान भइरहेको छ । उनका मोबाइलमा भेटिएका प्रमाणमा केन्द्रित भएर अख्तियार अनुसन्धानमा छ । भट्टराईले ग्रिनलाइन होलिडेजका सञ्चालक बालकृष्ण खड्कासँग मिलेर भिजिट भिसाको सेटिङ चलाउँदै आएका थिए । उनको पैसा व्यवस्थापन गर्ने कविता पौडेल र खगेन्द्र सुवेदीमाथि पनि अनुसन्धान भइरहेको छ ।
गृहमन्त्री रमेश लेखकको रोजाइका आधारमा भट्टराई गत असोजमा अध्यागमनमा गएका थिए । अध्यागमनमा गएपछि सुरुमा उनले भिजिट भिसामा विदेश जान निकै कडाइ गरी फर्काउने गरेका थिए । पछि रेट बढाएर लाइन खुलाएको उजुरी अख्तियारमा परेको थियो । अध्यागमनमा दिनमा औसत ५० लाखसम्म असुली हुने गरेको अख्तियारको प्रारम्भिक छानबिनले देखाएको छ । त्यो पैसा गृह मन्त्रालयदेखि शक्तिकेन्द्रसम्म पुग्ने गरेको स्रोत बताउँछ ।
अध्यागमनमा सेटिङ बढेको विषयमा अख्तियारले लिखित रूपमै गृह मन्त्रालयलाई ध्यानाकर्षण गराउँदा पनि गृह नेतृत्वले चासो नदिएपछि अख्तियारले अन्डरकभर अप्रेसन चलाएर प्रमाण संकलन गरेको थियो ।
छानबिनका लागि अख्तियारले सिआइबीलाई गर्यो पत्राचार
पीडितहरू मंगलबार टंगालस्थित अख्तियारको गेटमा पुगेर रोइकराइ गरेपछि उजुरी लिइएको थियो । त्यसपछि अख्तियारले थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई समेत पत्राचार गरेको छ । गृहमन्त्रीले आफूविरुद्ध न उजुरी परेको न आफूमातहतका निकायले छानबिन गरिरहेको भन्दै राजीनामा दिनुपर्ने कुनै कारण नरहेको दाबी गरेर उम्किँदै आएका छन् । नेपाल प्रहरी गृह मन्त्रालयमातहतको निकाय हो । यसअघि पनि भिजिट भिसा प्रकरणमा सिआइबीले छुट्टै अनुसन्धान गर्दै आएको थियो ।
तर, सरकारका प्रवक्ता भन्छन्– एउटा कर्मचारीमाथि छानबिन हुँदा मन्त्रीले राजीनामा दिने हो भने सरकार नै चल्दैन
भिजिट भिसामा ठगिएका पीडतहरूले नै गृहमन्त्री रमेश लेखकमाथि पनि प्रश्न उठाएर छानबिनको माग गर्दै अख्तियारमा उजुरी दिइसक्दासमेत सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले लेखकको बचाउ गरेका छन् । मन्त्रालयअन्तर्गतको एक कर्मचारीमाथि छानबिन हुँदा गृहमन्त्रीले नै राजीनामा दिने हो भने सरकार नै नचल्ने भन्दै राजीनामा नआउने अडान दोहोर्याएका छन् । ‘विषय जे उठिरहेको छ । मैले त सुरुमै भनेको थिएँ, अख्तियारले एउटा कर्मचारीमाथि छानबिन सुरु गरेको हो । गृह मन्त्रालयअन्तर्गतको एउटा कर्मचारीमाथि छानबिन हुँदा मन्त्रीले नै राजीनामा दिने हो भने सरकार नै चल्दैन, त्यसकारण गृहमन्त्रीको राजीनामा आउँदैन,’ मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले भने ।