
मुलुक संघीयतामा प्रवेश गरेसँगै केन्द्रीय सरकारले स्थानीय र प्रदेश सरकारलाई अधिकारसँगै जिम्मेवारी पनि दियो । तर, दिएको जिम्मेवारी पूरा गर्नुको साटो प्रदेश र स्थानीय सरकार उल्टोउल्टो बाटोमा डुलिरहेको कञ्चनपुरको एक ताजा उदाहरण सडक योजना छ। जिल्लाको दक्षिणी क्षेत्र जोड्ने कलुवापुर–बेलौरी सडक दशकदेखि निर्माण हुन नसेको छैन । ठेक्का भएको १० वर्षसम्म पनि बेलौरी सडक कालोपत्रे हुन नसक्दा दक्षिणका जनता मारमा परेका छन् । ०७३ सालमा संघ सरकारबाट ठेक्का भएको सडक प्रदेश सरकारले अधुरै उद्घाटन गरेर जग हँसायो । सुदूरपश्चिम प्रदेश सरकारका तत्कालीन भौतिक पूर्वाधार तथा योजनामन्त्री पठानसिंह बोहराले २१ मंसिर ०७६ मा उक्त सडक उद्घाटन गरे।
तामझामका साथ अलपत्र परेको सडक कालोपत्रेका लागि रिबन काटेर नाटक मञ्चन गरेका मन्त्रीले ठेकेदारलाई न काम लगाउन सके न ठेकेदारले सम्झौता अवधिमा काम गरेको छ। उक्त सडक संघले प्रदेशको जिम्मा लगाएपछि बेलौरीको वैशाखदेखि शुक्लाफाँटाकोे कलुवापुरसम्म सडक टुक्रा पारेर ठेक्का लगाउने काम गरे पनि सडक अझै बन्न सकेन। बरु संघीय सरकारमातहत रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले पाँच किलोमिटर सडक कालोपत्रे गर्न दिएको छैन । जिल्लाबाट अहिले संघमा एक मन्त्री, तीन केन्द्रीय सांसद, प्रदेशमा दुई मन्त्रीसहित ११ प्रदेश सांसद भए पनि प्रदेश र संघीय सरकारका निकायबिचको यो तहको अड्चनको गाँठो फुकाउन सकेका छैनन्।
सन्तोषी थेगिम जेभीले उक्त सडकअनतर्गत बन्साहदेखि उत्तर दोमिल्लासम्म ११.५ किलोमिटर कालोपत्रेका लागि वैशाख मसान्त ०७७ सम्म गरिसक्नुपर्ने प्रदेश सरकारसँग सम्झैता भएको थियो । २० साउन ०७७ मा पहिलोपटक, २० वैशाखमा ०८१ मा दोस्रोपटक र त्यसपछि २० चैत ०८१ मा तेस्रोपटक म्याद थप भएको छ । तैपनि ठेकेदारले हालसम्म ४० प्रतिशत मात्रै काम गरेको छ। उक्त सडक कालोपत्रेको जिम्मा पाएको सन्तोषी थेगिम जेभीले ११ करोड ८६ लाखमा ठेक्का पाए पनि कछुवाको गतिमा बनाइरहेकोे छ । तर, हालसम्म पाँच करोड २४ लाख भुक्तानी लिइसकेको पूर्वाधार कार्यालयले जनाएको छ।
जिल्लाको दक्षिणी क्षेत्र जोड्ने बेलौरी–कलुवापुर सडक स्तरोन्नतिको साटो दिन प्रतिदिन बेहाल भइरहेको छ । मुलुक राजतन्त्रदेखि गणतान्त्रिक युगसम्म आइपुग्दा पनि सडककोे स्तरवृद्धि हुनुको साटो दिनप्रतिदिन बेहाल भइरहेको छ । देशमा तीन सरकार छन्, संघ सरकारबाट प्रदेश सरकारमा आएको उक्त सडक दुईपटक कालोपत्रेका लागि उद्घाटन गरिए पनि अझै निर्माण कार्य पूरा भएको छैन। सडकमा पर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले यसअघि अवरोध गरेको सडक मात्रै होइन, अवरोध नभएकोे कलुवापुरदेखि बन्साहसम्मको सडक पनि उस्तै छ।
निकुञ्ज क्षेत्रमा पर्ने कालागौडीदेखि चान्देबसम्म झन्डै पाँच किलोमिटर सडक निर्माण नहुँदा ठुल्ठुला खाल्टाखुट्टीले यात्रु नागरिकमाथि अन्याय भएको छ। एकातिर खाल्टाखुल्टी अर्कातिर जंगल भएकाले जोखिम यात्रा गर्न बाध्य भएका छन्। हिउँदमा धुलाम्मे, वर्षातमा हिलाम्मे सडक रोपाइँकै खेतजस्तै हुने गरेको छ। अनि जनप्रतिनिधिहरूलाई नागरिकको दुःख सुखमा परिणत गर्नुकोे साटोे नियमित सरकारी योजनामा कार्यकर्ता सामाजिक सञ्जालमा खटाएर जस लिने होडबाजी मात्रै, तर उक्त सडक सुधारका लागि कसैले पनि प्रभावकारी पहल नगरेको जनताको दुखेसो छ। पटकपटक आन्दोलन गर्दासमेत उक्त सडक अहिलेसम्म स्तरोन्नति हुन सकेको छैन। पूर्वाधार विकास कार्यालय कञ्चनपुरले निर्माण व्यवसायीलाई ताकेतादेखि निकुञ्जलाई काम गर्ने वातावरणका लागि सहज बनाइदिन आग्रह गरेको जनाएको छ।
पूर्वाधार विकास कार्यालयका इन्जिनियर हेमराज भट्टले निकुञ्जबाट ‘प्रारम्भिक वातावरणीय परीक्षण (आइई) गरेर मात्रै निकुञ्जले सडक कालोपत्र गर्न दिने भनेपछि काम अगाडि बढ्न सकेको बताए। उनका अनुसार उक्त क्षेत्रको सडकको ठेक्का नै तत्कालका लागि रद्द गरिएको छ, आइई भएपछि मात्रै पुनः ठेक्का सम्झौता गरी काम बढाइएको छ। बन्साहाबाट कलुवापुर र कलुवापुरबाट बेलडाँडी, दोमिल्लासम्मको सडक कालोपत्रको कार्य र नाली निर्माणको कार्य भने अगाडि बढ्ने थियो।
सम्झौताअनुसार निर्माण व्यवसायीले निर्धारित समयभित्रै सडक कालोपत्रको कार्य गर्न नसकेपछि स्थानीय बासिन्दाले सडक नै अवरुद्ध गरी पटक–पटक आन्दोलन गर्दै आएका छन्। कलुवापुरबाट बन्साह खण्डसम्मको तीन किलोमिटर सडक निर्माण व्यवसायीको ढिलासुस्तीका कारण लामो समयदेखि कालोपत्र हुन सकेको छैन। सोही सडकको ढक्का चानदेउबाट कालागौँडीसम्मको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने तीन किलोमिटर सडक कालोपत्र गर्ने कार्य पनि अलपत्र छ ।
बेलौरीका स्थानीय रमेश कार्कीले सडक कालोपत्रे नहुँदा जिल्ला मुकाम आउन–जान समस्या भएको बताए । ‘सडक कालोपत्र अगाडि बढाउनुपर्याे, त्यो तत्काल हुन नसके सडकमा उड्ने धुलो रोक्नुपर्छ,’ उनले भने, ‘सडकमा उड्ने धुलो घरभित्र पस्छ, बस्नै नसकिने अवस्था आएको छ ।’ चान्देवका स्थानीय रनी चौधरीले ठुलाठुला खाल्टाखुल्टीले सवारी दुर्घटना निम्त्याइरहेको बताए । उनले यात्रुसहित विद्यालय जान बस कुर्दा सडकमा उड्ने धुलोले बालबालिका पूरै धुलाम्मे हुने गरेको, धुलोले समस्या सिर्जना गरी बिरामी पर्न थालेको बताए । धुलो माटोका कारण बालबालिका र वृद्धवृद्धा बिरामी परेको उनले अनुभव छ ।
बन्साहका अर्का स्थानीय एवं क्रान्तिकारी माओवादीका नेता राम महरा (चिन्तक)ले ११.५ किलोमिटर सडकखण्ड कालोपत्रेका लागि मन्त्री, सांसदसहितका जनप्रतिनिधिले जनतामा भ्रम छर्नका लागि रिबन काटेर बन्दै वबनेको सडक उद्घाटन गरेर उदांगाे चरित्र देखाएको बताए । ‘सम्झौताअनुसार एक किलोमिटर पनि सडक कालोपत्रे भएको छैन,’ उनले भने, ‘बरु कालोपत्रेका लागि पहिलो चरणको लेयर सबै भत्किसकेको छ ।’ सडक कालोपत्रे हुन नसक्दा दक्षिणी क्षेत्रका जनताको दैनिक जनजीवन, जिल्ला मुकामदेखि अन्यन्त्र जान, आर्थिक सामाजिक विविध क्षेत्रमा प्रभाव परिरहेकोे छ ।