१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २८ बुधबार
  • Thursday, 12 June, 2025
२o८२ जेठ २८ बुधबार o६:५९:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

वेस्ट इन्डिजका पुरनले लिए सन्न्यास

२९ वर्षको उमेरमै वेस्ट इन्डिजका विकेटकिपर निकोलास पुरनले अन्तर्राष्ट्रिय क्रिकेट छाडे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २८ बुधबार o६:५९:oo

वेस्ट इन्डिजका पूर्वकप्तान तथा विकेटकिपर निकोलास पुरनले २९ वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । निकोलासले मंगलबार सोसल मिडियाबाट सन्न्यासको घोषणा लिएका हुन् । ६१ एकदिवसीय खेलमा १९८३ रन र १०६ टी–२० आईमा दुई हजार दुई सय ७५ रन बनाएका निकोलासले सन्न्यास लिँदा कठिन भएको बताए । 

‘मैले सन्न्यास निर्णय लिँदा धेरैपटक सोचेँ, यो कदम उठाउने सही समयजस्तो लाग्छ,’ उनले लेखेका छन्, ‘मैले वेस्ट इन्डिजबाट खेल्ने मौका पाएँ, त्यो नै मेरो करिअरकै अविस्मरणीय क्षण हो ।’ वेस्ट इन्डिजले इंग्ल्यान्डविरुद्धको टी–२० आईमा उनी टोलीमा थिएनन् । वेस्ट इन्डिजसँगै विश्व क्रिकेटमा निकोलासको सन्न्यास अप्रत्याशित रूपमा लिइएको छ । गत वर्ष मात्र उनले वेस्ट इन्डिजबाट टी–२० आईमा सय खेल पूरा गरेका थिए । 

उनले एकदिवसीय खेलमा सय खेल खेल्ने विश्वास थियो । यद्यपि, सन् २०२३ को एकदिवसीय विश्वकप छनोटबाट वेस्ट इन्डिज बाहिरिएपछि निकोलासले त्यसपछि प्रतिस्पर्धा गरेका थिएनन् । उनले कप्तानीका रूपमा वेस्ट इन्डिजको नेतृत्व गर्न पाउनु सम्मान भएको बताए । ‘वेस्ट इन्डिजको टोलीलाई युवा अवस्थामै कप्तानी गर्न पाउनु मेरो सम्मान थियो,’ उनले भने, ‘जसलाई म सधैँ आफ्नो हृदयको नजिक राख्नेछु ।’

उनले सन् २०१६ मा पाकिस्तानविरुद्ध टी–२० आईमा डेब्यु गरेका थिए । सन् २०१९ मा उनले इंग्ल्यान्डसँगको सिरिजमा एकदिवसीय खेलमा डेब्यु गर्न अवसर पाए । सन् २०२२ मा उनी वेस्ट इन्डिजका कप्तान बने । वेस्ट इन्डिज क्रिकेट बोर्डले उनलाई टी–२० फम्र्याटमा कप्तानी बनाएको थियो ।

टी–२० का कप्तान
सन् २०२२ मा अस्ट्रेलियामा भएको टी–२० विश्वकपमा टोलीको प्रदर्शनपछि उनले पदबाट राजीनामा दिए । उनले वेस्ट इन्डिजबाट अन्तिमपटक सन् २०२३ को डिसेम्बरमा बंगलादेशविरुद्धको घरेलु टी–२० आई खेलेका थिए । सन् २०२४ मा उनले एकै वर्ष सर्वाधिक १७० छक्का प्रहार गरे । सोही वर्ष उनले इन्डियन प्रिमियर लिगमा पाँच सय २४ रन जोडेका थिए । उनले करिअरमा ५० ओभरको खेलमा ६१ खेलमा तीन शतक तथा ११ अर्धशतक बनाएका छन् । यसैगरी, १०६ टी–२० आईमा उनले १३ अर्धशतकीय इनिङ्स खेले । उनले लिस्ट ‘ए’मा चार शतकको सहयोगमा तीन हजार ४० रन जोडेका छन् । टी–२० खेलमा उनले तीन सय ९८ प्रतिस्पर्धाबाट नौ हजार एक सय ६६ रन बनाए । यसक्रममा उनले तीन शतक तथा ५६ अर्धशतक जोडेका छन् ।