१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २८ बुधबार
  • Thursday, 12 June, 2025
शुरोजंग पाण्डे काठमाडाैं
२o८२ जेठ २८ बुधबार o६:५३:oo
Read Time : > 6 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एमालेमा ध्रुवीकरण बढ्दै

पक्ष–विपक्षमा सामाजिक सञ्जालमै संग्राम

Read Time : > 6 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २८ बुधबार o६:५३:oo
  • नेतृत्वको उमेरहदसँगै अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारी पक्षले एक–अर्काको कार्यशैली र नियतमाथि उठाउन थाले प्रश्न, महाधिवेशन नजिकिँदै गर्दा प्रतिस्पर्धीजस्तै देखिन थाले ओली र भण्डारी

अध्यक्ष केपी ओलीको तेस्रो कार्यकालका लागि पनि चुनिने ‘चाहना’ र पुनः सक्रिय राजनीतिमा फर्केर एमालेको नेतृत्व सम्हाल्ने पूर्वराष्ट्रपति विद्या भण्डारीको ‘महत्वाकांक्षा’ले दुई पक्षबिच वाक्–युद्ध सुरु भएको छ । दुवै पक्षले एक–अर्काको कार्यशैली र नियतमाथि प्रश्न उठाउँदा तथा नेतृत्वको उमेरहदका विषयमा मतभेद देखिँदा पार्टीभित्र ध्रुवीकरण बढ्दै गएको छ । भण्डारी चीन भ्रमणबाट फर्केपछि ओलीसँग वाक्–युद्ध चर्किँदा समर्थक पनि जोडिन थालेका छन् ।

ओली र विद्याबिचको शक्तिसंघर्ष एमालेको आगामी भदौमा हुने भनिएको विधान र ०८२ को अन्त्यसम्म गर्ने लक्ष्य राखिएको नियमित महाधिवेशनमा देखिने उनीहरूनिकट नेता–कार्यकर्ता बताउँछन् । एमालेभित्र आन्तरिक लोकतन्त्र कमजोर रहेको भनिएको वेला सुमधुर सम्बन्ध रहेको मानिएका ओली र विद्याबिचको मतभेदले एमालेको आन्तरिक एकतालाई चुनौती मात्र दिएको छैन, आगामी राजनीतिक परिदृश्य तनावपूर्ण बनाउने जनाउ पनि गरेको छ । झापामा विद्या एमालेकै ब्यानरको कार्यक्रममा सहभागी भएपछि ओली झस्किएका छन् ।

विद्याको सक्रियता, भेटघाट र उनका केही समययताका अभिव्यक्ति पूर्वराष्ट्रपतिको हैसियतमा सीमित नभई एक सक्रिय र नेतृत्वदायी भूमिकामा रहेको राजनीतिज्ञका जस्ता देखिन–सुनिन थालेका छन् । एमालेमा ओलीप्रतिको आक्रोश र असन्तुष्टि विद्यातिर केन्द्रित हुँदै छ । र, यसलाई रोक्न ओलीले एमालेको विधानदेखि परम्परासम्मका उदाहरण दिएर कारबाही हुन सक्ने चेतावनी दिएका छन् । तर, यस्ता चेतावनीबाट विद्या समूह भयभीत छैन, बरु थप संगठित हुने प्रयासमा जुटेको छ ।

एमालेले राष्ट्रिय महाधिवेशनअघि आगामी २० देखि २२ भदौमा काठमाडौंमा विधान महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यस महाधिवेशनले पार्टीको संगठनात्मक संरचना, उमेरहदसँगै कार्यदिशा टुंगो लगाएपछि सकभर ०८२ भित्रै नयाँ नेतृत्वका लागि राष्ट्रिय महाधिवेशन गर्ने तयारीमा एमाले छ । यही सिलसिलामा ओली–विद्याबिच वाक्–युद्धको पारो माथिमाथि चढ्दै छ ।

तर, विधान महाधिवेशनमै भावी नेतृत्वको पनि तस्बिर देखिने भएकाले अध्यक्ष ओलीसहित शीर्ष नेताहरू आगामी नेतृत्वलाई लिएर ध्रुवीकृत हुन थालेका छन् । खास गरेर एमालेभित्र उमेरहदको पक्ष–विपक्षमा बहस बढ्दै गएको छ । उमेरहदका विषयमा अध्यक्ष ओलीले नै विपक्षमा अभिव्यक्ति दिएपछि ‘काउन्टर’मा दोस्रो नेता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उभिएका छन् । यसले तलैसम्म एमालेपंक्तिलाई तरंगित गराएको छ र ११औँ महाधिवेशनलक्षित ध्रुवीकरणमा मलजल गरेको छ ।

विधान महाधिवेशन नजिकिएसँगै पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा सक्रिय रहेको सन्देश दिएलगत्तै अध्यक्ष ओलीले अध्यक्षको आकांक्षाबाट ‘ब्याक’ हट्न सन्देश मात्रै दिएनन्, अबको महाधिवेशनमा उमेरहद खुला हुने बताएर आफैँ नेतृत्वमा आउने चाहना प्रकट गरे । ओलीको त्यस्तो सन्देशलाई पूर्वराष्ट्रपति भण्डारीले मंगलबार सार्वजनिक रूपमै जवाफ दिएकी छिन् ।

‘म पनि समाजकै मानिस हुँ । मैले पनि भेटघाट र जनसम्बन्ध बनाउनुपर्छ । यसैले जनतासँग भेटघाट गरेर जनधारणा बुझ्नु मेरो पनि कर्तव्य हो,’ ६ दिनको कोशी प्रदेश भ्रमण सकेर मंगलबार काठमाडौं फर्किने क्रममा विराटनगर विमानस्थलमा पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘राष्ट्रिय आकांक्षालाई साकार बनाउन हामी सबै लाग्नुपर्छ । त्यो हाम्रो परम् कर्तव्य पनि भएकाले देश र नयाँ पुस्ताका लागि हामीले बाँचुन्जेल संघर्ष गर्नुपर्छ । यसैले देशभित्र घुमफिर गरिरहन मैले कसैको अनुमति लिइरहनुपर्दैन ।’ निकट एक नेताका अनुसार आफ्नो सक्रियताप्रति संकेत गरेर ओलीले पछिल्लोपटक गरेको टिप्पणीको जवाफ फर्काउँदै भण्डारीले धारणा सार्वजनिक गरेकी हुन् ।

तीन दिनअगाडि अर्थात् २५ जेठमा कीर्तिपुरमा अनेरास्ववियुको महधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले नाम नलिए पनि बुझिने अर्थमा भण्डारीले नेतृत्व लिन खोजेको र उनकै नाममा गुट बन्न खोजेको संकेत गरेका थिए । ‘अहिले हल्ला चलेको छ– तलतल यो ग्रुप भनेका छन्, त्यो ग्रुप भनेका छन् । यसको कुनै आवश्यकता छैन । यहाँ अर्को खेल हुन खोजेको छ । फलानो आउने रे, यस्तो–उस्तो भनिएको छ,’ ओलीले भनेका थिए, ‘को अध्यक्ष, को उपाध्यक्ष भनेर पार्टीमा कुनै छलफल भएको छैन । महाधिवेशनको पनि घोषणा भएको छैन । बाहिरबाहिर हल्ला चलाएर पार्टीलाई कमजोर पार्न खोज्ने र पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्नेलाई निस्तेज पार्नुस् । स्टाटस सिस्टाटसलाई जवाफ दिनुस् ।’

त्यति मात्र होइन, ओलीले आफू ७० नै कटे पनि अध्यक्ष रहेकाले उमेरहद फेल खाइसकेको भन्दै नेतृत्व तत्कालीन आवश्यकताले चुनिने बताएका थिए । उनले आफैँ नेतृत्वका लागि अग्रसर हुने संकेत गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङ र साइप्रसको कम्युनिस्ट पार्टीदेखि विगतमा एमालेभित्रै नेतृत्वको सवालका गरिएका प्रयोगका उदाहरण दिएका थिए । ‘७० वर्ष उमेरको कुरा आयो । ७० वर्ष उमेरहदको विषय एमालेमा फेल खाइसक्यो । अहिले म ७४ मा चल्दै छु, ७० मा रिटायर्ड हुने भन्ने कुरा फेल खाएन त ?’ उनले भने, ‘चार वर्ष उमेर घटाउन भएन क्यारे ।’

ओलीको थप भनाइ थियो, ‘उमेरले होइन, अरू थुप्रै फ्याक्टर हुँदारहेछन् । आवश्यकता थुप्रै हुँदारहेछन् । माधव नेपाललाई ७० र झलनाथलाई ७० पुगेर हटाएको होइन । हटाउनुपर्ने आवश्यकता हुँदोरहेछ । कतिपय अवस्थामा ७० पुगेर पनि हटाउन मिल्दोरहेनछ । मनमोहनजीलाई ७८ वर्षसम्म हटाएनौँ । उहाँ उमेर पुगेर, बितेर जानुभएको हो, हामीले हटाएका होइनौँ ।’

ओलीको त्यस्तो अभिव्यक्तिको वरिष्ठ उपाध्यक्ष पोखरेलले एक टेलिभिजन अन्तर्वार्तामार्फत ‘काउन्टर’ गरेका छन् । उनले महाधिवेशनभन्दा शक्तिशाली अरू कोही पनि हुन नसक्ने भन्दै आफू उमेरहदको पक्षमा रहेको र ओलीले पनि बिदा लिनुपर्ने आशयको धारणासमेत राखेका छन् । ‘विगत महाधिवेशनले नेतृत्वका सन्दर्भमा दुईवटा कुरा तय गरेको छ । पहिलो– ७० वर्ष उमेर सीमा, दोस्रो– कार्यकारी पदमा लगातार दुई कार्यकालभन्दा बढी बस्न नपाउने,’ पोखरेलले भनेका छन्, ‘७० वर्ष उमेरहदको हकमा समाजवादीमा गएका साथीहरू वा अन्य पुराना पार्टीका नेताहरू फर्केर आउँदा त्यो सीमा समस्या बन्ने देखिएपछि हामीले हाललाई त्यसलाई खुला गर्‍यौँ ।’

तर, पोखरेलले आफू ७० वर्षे उमेरहद कायम रहनुपर्ने आफ्नो मान्यता रहेको स्पष्ट गर्दै ओलीलाई पुनः नेतृत्वको चाहना नराख्न सुझाव दिएका छन् । ‘तपाईं केपी ओली पनि आउँदो कार्यकालमा अध्यक्ष नहुनुहोस् । म पनि उमेरको हिसाबले ७० कटिसकेँ । यो मैले व्यक्तिगत रूपमा उठाएको मुद्दा होइन । कसलाई लागू हुन्छ भन्ने प्रश्नभन्दा पनि हामीले जुन मान्यताको आधारमा व्यवस्था गरेका थियौँ, त्यस मान्यताप्रति अडिनुपर्छ भन्ने मेरो अडान हो ।’

एमालेभित्र ओलीसहित शीर्ष नेताहरूको विभाजित अभिव्यक्ति आएसँगै एमालेभित्र नयाँ ध्रुवीकरण भइरहेको विश्लेषण हुन थालेको छ । ‘ईश्वर पोखरेलजी पक्कै पनि एक्लै बोल्नुभएको होइन । उहाँकै हाराहारी अन्य नेताहरू पनि पक्षमा हुनुहुन्छ होला । उहाँले उमेरको कुरा मात्र होइन, दुई कार्यकाल कार्यकारी पदमा कोही पनि बस्नुहुँदैन भन्ने धारणा प्रस्ट्याएर ओलीजी दोहोरिन नहुने कुरा गर्नुभएको छ,’ राजनीतिक विश्लेषक कृष्ण पोखरेल भन्छन्, ‘पूर्वराष्ट्रपतिले अध्यक्षको जवाफ सांकेतिक रूपमा फर्काउनुभएकाले एमालेभित्र नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने पक्षमा ध्रुवीकरणसहित केही न केही जनमत बन्दै गरेको देखिन्छ ।’

१९ जेठ ०८० मा बसेको सचिवालय बैठकले नेकपा एसका वरिष्ठ नेता मुकुन्द न्यौपानेलाई पार्टीमा भित्र्याउन ७० वर्षे उमेरहदको व्यवस्था निलम्बन गर्ने निर्णय गरेको थियो । यस विषयमा विधान महाधिवेशनले निर्णय गर्ने भए पनि पार्टीले संगठनात्मक संरचना र उमेरहदबारे कस्तो प्रस्ताव लैजाने विषयमा कमिटी बनाएर कामै सुरु गरेको छैन । जबकि एमालेमा आगामी २० देखि २२ भदौमा पार्टीको विधान महाधिवेशन गर्ने निर्णय भइसकेको छ । 

एमालेका अर्का उपाध्यक्ष युवराज ज्ञवाली पनि ७० वर्षे उमेरहदको पक्षमा देखिएका छन् । उनका अनुसार एक विशिष्ट अवस्थामा ७० वर्षको उमेरहद र एउटा व्यक्ति दुई कार्यकालभन्दा बढी दोहोरिन नपाउने व्यवस्था एमालेमा कायमै छ । र, आगामी नेतृत्वबारे बहस गर्ने वेला अझै भइनसकेको उनको दाबी छ ।

‘नेकपा एसबाट मुकुन्द न्यौपानेजीलाई प्रवेश गराउन तत्कालका लागि निलम्बन गरेर बाधा अड्काउ फुकाइए पनि महाधिवेशनले गरेको कार्यकारी पदमा ७० वर्षको उमेरहद र एउटा व्यक्ति दुई कार्यकालभन्दा बढी दोहोरिन नपाउने व्यवस्था अहिले पनि कायमै छ,’ उनले मंगलबार राति नयाँ पत्रिकासँग भने, ‘यसलाई राख्ने कि नराख्ने अबको विधान महाधिवेशनले मात्र निर्णय गर्न सक्छ । त्यसैले यसमा धेरै बहस आवश्यक नै छैन । को व्यक्ति अध्यक्ष बन्ने, कसलाई बनाउने भन्ने अहिलेको बहसको विषय नै होइन । महाधिवेशनले अहिलेकै व्यवस्थालाई निरन्तरता दियो भने एउटा होला, दिएन भने अहिलेको अध्यक्ष तेस्रो कार्यकाल दोहोरिन पनि सक्नुहुन्छ ।’ उपाध्यक्ष ज्ञवालीले नयाँ अनुहार नेतृत्वमा आउँदा त्यसले सकारात्मक सन्देश दिने बताए ।

स्थायी समिति सदस्य तथा केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विधान अधिवेशनको तयारी नै सुरु नभई नेताहरूले सार्वजनिक रूपमा बहसको बिस्कुन लगाउनु उपयुक्त नभएको बताए । ‘अहिले विधान महाधिवेशनको तयारी नै भएको छैन । त्यहाँ लैजाने मस्यौदा तयारै भएको छैन र बहस खुला पनि गरिएको छैन । यस्तो वेला शीर्षस्थ नेताले नै आफूलाई लागेको विचारमाथि छिटफुट अभिव्यक्ति दिए पनि त्यसलाई सचिवालयको बैठकमा राखेर बहस गर्नुपर्छ । बाहिर बिस्कुन लगाउनुहुँदैन । बैठकमा दर्ज नगरी सडकमा पानी पार्ने कुराले अर्थ राख्दैन,’ उनले भने । 

पक्ष–विपक्षमा सामाजिक सञ्जालमै बहस

पूर्वराष्ट्रपति भण्डारीको सक्रियतासँगै एमालेका नेता–कार्यकर्ता सामाजिक सञ्जालमै पक्ष–विपक्षमा बहस गर्न थालेका छन् । 

पोलिटब्युरो सदस्य  महेश बस्नेतले पूर्वराष्ट्रपति भण्डारीलाई अध्यक्षको आकांक्षा नपाल्न सचेत गराउँदै अन्यथा इतिहासले गिज्याउन सक्छ भनेर टिप्पणी गरेका छन् । ‘विद्या भण्डारीले राष्ट्रपतिको आठवर्षे कार्यकालपछि फेरि सक्रिय दलगत राजनीतिमा फर्किने चाहना राख्नुभएको हो भने उपयुक्त हुँदैन । उहाँ त समग्र मुलुकको अभिभावक हो, नसके सम्पूर्ण वाम आन्दोलनको मार्गदर्शक वा एमालेको अभिभावकको भूमिका निर्वाह गर्नु नै शोभनीय हुन्छ,’ बस्नेतले भनेका छन्, ‘सगरमाथा चढिसकेपछि लिपुलेक चढ्न तम्सिनुजस्तो अवस्था राजनीतिक व्यक्तित्वका लागि लाजमर्दो हुन सक्छ । बेलैमा सोचेर कदम चाल्नु उचित हुनेछ, नत्र इतिहासले गिज्याउनेछ ।’

पूर्वराष्ट्रपति भण्डारीलाई नेतृत्वमा ल्याउनुपर्ने पक्षमा खुलेका स्थायी समिति सदस्य कर्णबहादुर थापाले बस्नेतलाई नै लक्षित गरेर शक्तिको पक्षमा भक्तिभाव देखाउँदै जथाभावी टिप्पणी नगर्न सचेत गराएका छन् । ‘नेपालको राजनीतिक इतिहासमा भीमसेन थापा र जंगबहादुर राणाजति शक्तिशाली मानिस कोही थिएनन्/छैनन् । यी दुवै व्यक्तिको मृत्युुबारे समेत इतिहासकारका अलग–अलग धारणा रहेका छन् । सत्ताको भक्तिमा गीत गाउनेहरू हिजो पनि थिए । आज पनि छन् । सत्ताका सबै शक्तिलाई पराजित गरेर लोकतान्त्रिक व्यवस्था स्थापना भएको हो,’ उनले भनेका छन्, ‘आफ्नो स्वार्थका लागि विवेकशून्य हुनेहरूले अरू विवेकशीलहरूलाई आफ्नो पंक्तिमा उभिएन भनेर तथानाम नगरेको राम्रो हुन्छ । भक्तिभाव गरेर जीवन चलाउनु, पद खानु तर स्वाभिमानी मानिसहरूलाई दास बनाउन बल गरेर समय खेर नफाल्नु । सबै विवेकशील र स्वाभिमानी मानिसहरूको तर्फबाट शालीन निवेदन गर्दछु ।’ 

अर्का नेता गोकुल बाँस्कोटाले पनि ओलीनिकट विष्णु रिमाल, बस्नेतलगायतलाई लक्षित गर्दै वेलावेला सामाजिक सञ्जालमा कूटनीतिक सन्देशसहित विरोधमा टिप्पणी गर्दै आएका छन् । ओलीले थापा, बाँस्कोटाजस्ता नेताहरूलाई लक्षित गरेर जथाभावी सामाजिक सञ्जालमा लेख्ने गरेको भन्दै प्रतिवाद गर्न अखिलको महाधिवेशनमा नेता–कार्यकर्तालाई निर्देशन दिएका थिए । ‘स्टाटस–सिस्टाटसलाई जवाफ दिनुस्,’ ओलीले भनेका थिए ।

राजनीतिक विश्लेषक कृष्ण पोखरेल भन्छन्– शीर्ष नेताहरूको विभाजित अभिव्यक्ति आएसँगै एमालेभित्र नयाँ ध्रुवीकरण भइरहेको जस्तो देखिन्छ

ईश्वर पोखरेलजी पक्कै पनि एक्लै बोल्नुभएको होइन । उहाँकै हाराहारी अन्य नेताहरू पनि पक्षमा हुनुहुन्छ होला । उहाँले उमेरको कुरा मात्र होइन, दुई कार्यकाल कार्यकारी पदमा कोही पनि बस्नुहुँदैन भन्ने धारणा प्रस्ट्याएर ओलीजी दोहोरिन नहुने कुरा गर्नुभएको छ । पूर्वराष्ट्रपतिले अध्यक्षको जवाफ सांकेतिक रूपमा फर्काउनुभएकाले एमालेभित्र नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने पक्षमा ध्रुवीकरणसहित केही न केही जनमत बन्दै गरेको देखिन्छ ।