
एमालेनिकट अनेरास्ववियुको आइतबारबाट सुरु हुने २४औँ राष्ट्रिय महाधिवेशनमा ३२ वर्षे उमेरहद लागू हुने निश्चित भएपछि अध्यक्षको प्रतिस्पर्धीका रूपमा नेतृत्व लिन पाँच सचिव अग्रसर भएका छन् । उमेरहदका कारण नेतृत्वको दाबेदार मानिएका उपाध्यक्ष र महासचिवसँगै १५ जना पदाधिकारीको अवकाश हुने भएकाले ‘जुनियर पदाधिकारी’का रूपमा काम गरिरहेका सचिवहरू अध्यक्ष बन्न अग्रसर भएका हुन् । महाधिवेशनको उद्घाटन आइतबार अध्यक्ष केपी ओलीले त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा गर्दै छन् ।
११ जेठमा बसेको एमाले सचिवालय बैठकले कांग्रेस र माओवादीको विद्यार्थी संगठन नेविसंघ र अखिल क्रान्तिकारीमा जस्तै उमेरहद लागू गर्ने निर्णय गरेर कार्यान्वयनका लागि पार्टीको जनसंगठन समन्वय संयन्त्र संयोजक र इन्चार्जलाई निर्देशन दिएको थियो । सो निर्णयसँगै अध्यक्षका लागि बलियो दाबेदार मानिएका महासचिव नरेश राेकायसहित उपाध्यक्षहरू रामचन्द्र घर्ती, गोविन्द गिरी, मर्यादा विष्ट र धर्म गिरी उमेरहदकै कारण बिदा हुँदै छन् । उनीहरूसहित १५ पदाधिकारीको बिदाइसँगै ३२ वर्षमुनि उमेरमा रहेका पाँचजना सचिवहरू दीपक धामी, अञ्जना सिवाकोटी, प्रकाश पौडेल, सुजन कँडरिया र आरती भट्टराई बाँकी छन् । सम्मेलन उद्घाटनको दिन आइतबारसम्म जनसंगठन समन्वय संयन्त्रले उनीहरूमध्ये कसैको नाममा पनि सहमति जुटाउन नसकेका कारण सबैजनाले अध्यक्षका उम्मेदवारका रूपमा प्रचार गरिरहेका छन् । अध्यक्षका लागि सचिव अञ्जना शिवाकोटीले प्रचार तीव्र बनाएकी छिन् । पुरुषहरूमध्ये दीपक धामी, प्रकाश पौडेल र डा. सुजन कडरिया अग्रसर भएका छन् । अन्यको तुलनामा महिलाबाट शिवाकोटी र पुरुषबाट धामी बलियो उम्मेदवारको रूपमा खडा भएको र जनसंगठन समन्वय संयन्त्रले पनि कार्यकारी भूमिकामा दुवैको व्यवस्थापन गराएर अरुलाई उपाध्यक्षमा समेट्ने गरी आन्तरिक छलफल बढाएको छलफलमा सहभागी एमालेको एक केन्द्रीय सदस्यले बताए ।
कम उमेरका कारण पूर्ण कार्यकाल काम गर्न सक्ने, कराँतेको अन्तर्राष्ट्रिय खेलाडी तथा स्नातकोत्तर उत्तीर्ण शिवाकोटीलाई रामकुमारी झाँक्री, नवीना लामा र सुनिता बरालपछिको अध्यक्ष बनाउँदा राम्रो सन्देश जाने भन्दै अखिलकै पूर्वनेतृहरूले पनि लबिङ गरिरहेका छन् । धामीको पक्षमा रहेकाहरूले भने शिवाकोटीको उमेर बाँकी नै रहेकाले अहिलेलाई महासचिव र उपाध्यक्षमा व्यवस्थापन गरेर अर्कोपटक नेतृत्वमा लैजान सकिने विकल्प अगाडि सारेका छन् । पार्टीले विवेकसम्मत ढंगले नै सर्वसम्मत नेतृत्व चयनको निर्णय लिनेमा आफू् विश्वस्त रहेको भन्दै शिवाकोटीले प्रतिनिधिहरूको भावनाबमोजिम चुनावी प्रतिस्पर्धाको विकल्पमा पनि आफू तयार रहेको बताइन् ।
अध्यक्षका अर्का आकांक्षी धामी तत्कालीन अध्यक्ष नवीना लामाको टिममा केन्द्रीय सदस्य, स्थायी कमिटी हुँदै अघिल्लोपटक सचिवमा निर्वाचित भएका थिए । झन्डै दुई दशक अखिलको विभिन्न तहगत कमिटीमा काम गरेको भन्दै उनको नाममा सर्वसम्मति जुटाउने गरी पनि छलफल सुरु भएको छ । ‘स्कुलमा पढ्दै गर्दा अनेरास्ववियुको गतिविधि र विद्यार्थीहरूको हक, हित र अधिकारका लागि काम गरेको देखेर नै अनेरास्ववियुमा आबद्ध भएको हुँ । जुन दिनदेखि अनेरास्ववियुमा आबद्ध भएँ, त्यहीवेलादेखिको क्रियाशीलताले आइपुगेको छु । प्रतिनिधिहरूको साथ पाउँदा संगठनको नेतृत्व गरेर विद्यार्थीहरूको समस्या समाधान गर्न दिलोज्यान दिएर लाग्नेछु,’ उनले भने । धामी एमालेको चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनमा डोटी जिल्लाबाट कान्छा प्रतिनिधिका रूपमा प्रतिनिधित्व गर्दै सहभागी थिए ।
अर्का आकांक्षी प्रकाश पौडेलले आफूलाई निरन्तर उमेरहदको पक्षपातीका रूपमा उभ्याउँदै नेतृत्वमा अगाडि बढेको सन्देश दिएका छन् । ‘तल्लो कमिटीदेखि निरन्तर क्रियाशील छु, उमेरहदबारे पहिलोपटक २१ वर्षको उमेरमै कुरा उठाएको थिएँ । कथंकदाचित भोलि यो अधिवेशन समयमा भएन र मेरो उमेर कटे पनि दोधारे कुरा गर्दिनँ, उमेरहदको पक्षमै हुन्छु,’ प्रवक्तासमेत रहेका पौडेलले भने । उनी पनि स्थायी कमिटी हुँदै सचिव थिए ।
अध्यक्षका अर्का आकांक्षी डा. सुजन कँडरिया सांगठनिक क्रियाशीलतासँगै स्वास्थ्यक्षेत्रबाट सामाजिक सेवामा पु¥याएको योगदानलाई मुख्य आधार बनाउँदै नेतृत्वका लागि अगाडि बढेका छन् । नेसनल मेडिकल स्टुडेन्टस एसोसिएसनका संस्थापक अध्यक्षसमेत रहेका कँडरियाले भूकम्पपछिको विपत्तिमा विभिन्न जिल्लामा पुगेर चिकित्सा सेवा गरेको र मेडिकल क्षेत्रको भ्रष्टाचारको मुद्दा उठाएकाले आफू योग्य भएको बताएका छन् । ‘मैले विद्यार्थी हकहितमा मात्र होइन, चिकित्सा क्षेत्रबाट सामाजिक सेवाका साथै भूकम्पपछिको विपत्तिमा पनि खटिएर काम गरेको छु, त्यसैले मैले अनेरास्ववियुको सफल नेतृत्व गर्न सक्छु,’ उनले भने ।अध्यक्षकै अर्की दाबेदार आरती भट्टराईले युवा पुस्ताको प्रतिनिधित्व गर्दै हर प्रश्न र गुनासो समाधानका लागि अग्रसर भएको बताएकी छिन् ।