१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २५ आइतबार
  • Sunday, 08 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २५ आइतबार २१:१६:oo
Read Time : > 1 मिनेट
समाचार

३० जेठदेखि काठमाडौंमा राष्ट्रिय दलित गोलमेच सम्मेलन हुँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २५ आइतबार २१:१६:oo

३० जेठदेखि १ असारसम्म काठमाडौंमा राष्ट्रिय दलित गोलमेच सम्मेलन हुने भएको छ। दलित समुदायमाथि बढ्दै गएको उत्पीडन, विभेद तथा छुवाछुतलाई रोक्दै दलित समुदायको मुक्तिका लागि पूर्वराजदूतसमेत रहेका डा. निर्मल विश्वकर्माको योजनामा राष्ट्रिय दलित गोलमेच सम्मेलन गर्न लागिएको हो। 

सम्मेलनको उद्घाटन अन्तरजातीय विवाह गर्दा मारिएका काभ्रेका अजित मिजारका बुवा हरिभक्त ढकाल मिजार र सिराहाको औरहीमा महायज्ञको नाममा गाउँपालिकाले डोजर चलाई घर भत्काएर विस्थापित भएका दीपक मल्लिक डोमले संयुक्त रूपमा गर्नेछन्। 

काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा गरिने सम्मेलनको तयारी पूरा भइसकेको राष्ट्रिय दलित गोलमेच सम्मेलनका संयोजक डा. निर्मल विश्वकर्माले बताए। 

नेपालमा गोलमोच सम्मेलन हुन लागेको यो पहिलोपटक हो। ‘विश्वमा गोलमेच सम्मेलन सफल अभ्यास मानिन्छ। तर, नेपालमा यस्तो सम्मेलन हुने गरेको थिएन,’ उनले भने, ‘नेपालमा जातीय विभेद तथा छुवाछुत कायमै छ। त्यसलाई अन्त्य गर्दै दलित समुदायको मुुक्तिका लागि नेपालमा पनि गोलमोच सम्मेलन गर्न लागेका हौँ। यसले दलित समुदायको मुक्तिमा सहयोग पुग्ने विश्वास छ।’

भारत तथा अमेरिकामा भएका गोलमेच सम्मेलन र नेपालको दलित आन्दोलनको इतिहासलाई समीक्षा गर्दै दलित आन्दोलनको नयाँ कार्यदिशा अवलम्बन गर्ने विश्वास छ। देशभरका अधिकारकर्मीलगायतका प्रतिनिधिको सहभागिता हुने कार्यक्रममा राज्यसत्तामा पूर्ण समानुपातिक प्रतिनिधित्व, राज्यका स्रोतहरूमा हिस्सेदारी र धर्म सुधारलगायतका एजेन्डामा बहस हुनेछ। 

सामाजिक अभियन्ता होमराज आचार्यले २१औँ शताब्दीमा पनि दलित समुदायमाथि विभेद तथा छुवाछुत हुनु दुःखद पक्ष भएको बताएका छन्। दलित समुदायको मुुक्तिका लागि सबैले संघर्ष गर्न आवश्यक रहेको उनको भनाइ छ। 

गोलमेच सम्मेलनका प्रवक्ता राजेश मयाल विकले सम्मेलन दलित मुक्तिको लागि कोशेढुंगा साबित हुने बताए। सम्मेलनका मूल आयोजक समिति सचिवालय सदस्य राजेश नेपालीले संविधान आएपछि पनि दलितले न्याय नपाएको बताए। दलित न्यायका लागि अब सही विचारसहितको नवीन आन्दोलन आवश्यक रहेको उनको भनाइ छ। सचिवालयका अर्का सदस्य तारासिंह विकले दलितहरूलाई एक ठाउँमा ल्याउन सम्मेलनले सहयोग गर्ने बताए।