
भोटेकोशी गाउँपालिका मित्रराष्ट्र चीनसँग जोडिएको उत्तरी नाका हो । भौगोलिक विकटता रहेकाले कृषि उत्पादन न्यून हुन्छ। तातोपानी नाकामा भारी बोकेर कतिपय मजदुरले जीविकोपार्जन गरिरहेका छन्। नाकामा सानोतिनो व्यापार र भारी बोकेर गुजारा चलाइरहेका सीमावर्ती स्थानीय महाभूकम्पपछि थातथलोबाट नै तितरबितर भए । पाँचवटै वडाका युवा विदेश पलायन हुन थाले ।
वडा नं. ३ का वडाध्यक्ष निमा सोना शेर्पाका अनुसार भूकम्पपछि चीनको सीमामा रहेको गाउँ बोक्चेनबाट मात्रै झन्डै सयको संख्यामा युवाहरू अमेरिका, अस्ट्रेलिया, जापान पुगे । चिनियाँ जंगलमा चौँरी र भेडा चराउने अनि दिनदिनै घाँस काट्न खासाआसपास जाने सीमाका युवा अमेरिका जान थालेपछि भोटेकोशी क्षेत्रमा चिनियाँ चासो बढ्नु स्वाभाविक नै हो । शेर्पा भन्छन्, ‘सीमामा भविष्य नभेटेपछि भोटेकोशीका अधिकांश युवा विदेश पलायन भएका छन् ।’
आजभोलि सीमाका बस्तीमा जाने र नेपालीलाई सहयोग गर्ने रणनीतिमा चीन सरकार रहेको देखिन्छ। चिनियाँ रणनीति दुईवटा छन्। एउटा खासा र तातोपानीमा व्यापार–व्यवसाय बढाउने र अर्काे सीमाका युवालाई चिनियाँ भाषामा पोख्त बनाएर रोजगार दिलाउने । पहिलो रणनीतिअन्तर्गत चीन सरकारले सिमानामा खासा सहर निर्माण गर्दै छ। जहाँबाट व्यापार प्रवर्द्धन गर्ने, विदेशी पर्यटक भित्र्याउने र सीमाका स्थानीयलाई रोजगार प्रदान गर्ने।
भूकम्पअघि नेपालका झन्डै पाँच हजार युवायुवती सीमा क्षेत्रका बजारमा व्यापार र मजदुरी गर्थे। अब खासा पुनर्निर्माणपछि धेरै स्थानीयले रोजगार पाउने अवस्था सिर्जना हुँदै छ । दोस्रो रणनीतिमा चिनियाँहरू सीमाका शिक्षित युवालाई उच्च शिक्षा प्रदान गरेर स्वरोजगार बनाउन चीन लाँदै छन् । सोही लक्ष्यअन्तर्गत लुम्बिनी विश्वविद्यालय र भोटेकोशी गाउँपालिकाले एउटा समझदारीमा १३ जेठमा हस्ताक्षर गरेका छन् । लुम्बिनी विश्वविद्यालयका कुलपति सुवर्णलाल बज्राचार्य र रजिस्ट्रार तिलकराम आचार्यसँग भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले समझदारीमा हस्ताक्षर गरेका छन् ।
अध्यक्ष शेर्पाका अनुसार लुम्बिनी विश्वविद्यालयले भदौबाट सुरु हुने नयाँ सेसनमा भोटेकोशीका विद्यार्थीलाई चिनियाँ भाषा सिकाएर उच्चशिक्षाका लागि चीनको विभिन्न सहरमा लैजाँदै छ । पहिलो वर्ष कम्तीमा ५० विद्यार्थी चीन जानेछन्। विश्वविद्यालयसँग भएको सम्झौतामुताबिक पालिकाले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेर सो विषयलाई गाउँसभाबाट पारित गर्नेछ ।
‘नजिकै रहेको गाउँसभाबाट हामी लुम्बिनी विश्वविद्यालयसँग भएको सम्झौता पारित गरेर जानेछौँ,’ शेर्पाले भने। चीन पठाउने विद्यार्थी छनोट प्रक्रिया सुरु भएको उनले सुनाए । प्लस टु सकेर बसेका र अब पासआउट हुने विद्यार्थीलाई यो कार्यक्रममा राखिनेछ । विश्वविद्यालयले सुरुमा पालिकामै आएर ६ महिनादेखि एक वर्षसम्म चिनियाँ भाषा पढाउनेछ। जहाँ सहभागी विद्यार्थीलाई खान–बस्नको व्यवस्थापन पालिकाले गर्नेछ भने शिक्षकहरू चीनबाट आउनेछन्।
आधारभूत भाषा सिकेपछि उनीहरूलाई चीन सरकारले चिनियाँ सहरका विभिन्न कलेजमा निःशुल्क भर्ना र होस्टेलको चाँजोपाँजो मिलाउनेछ। विद्यार्थीलाई पकेट खर्चसमेत चीन सरकारले दिनेछ । उच्चशिक्षा हासिल गरेपछि विद्यार्थीले रोजेको काम पाउनेछन् । ‘ब्याचलर डिग्री सकेपछि चीन सरकारले नै रोजगार प्रदान गर्नेछ,’ शेर्पाले भने । चिनियाँ भाषाको प्रभाव विश्वबजारमा राम्रो रहेको बताउँदै उनले भने, ‘भाषा जान्नेले नेपालमै मासिक एक लाख रुपैयाँ सजिलै कमाउँछन् ।’
युवालाई विदेश पलायनबाट रोक्न कफी बनाउने, गलैँचा बुन्ने, कागजको काम गर्ने, कार्पेट बनाउने, कृषिमा पशुजन्य फार्मसम्बन्धी तालिम दिएको र पालिकाभित्र सञ्चालनमा रहेका हाइड्रोपावरमा घरलौरी रोजगार प्रदान गरेको उनले प्रस्ट्याए ।
चिनियाँहरूले केही वर्षदेखि झिर्पु माध्यमिक विद्यालयमा चिनियाँ भाषा कक्षा सञ्चालन गरेका छन् । यहाँ भाषा सिकेका केही विद्यार्थी चीन पठाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आङछिरी शेर्पाले बताए। भोटेकोशीमा अध्ययनरत विद्यार्थीलाई चिनियाँ सहरमा पढाउने अभियानमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष शेर्पा पटकपटक चीन गएका छन् । भोटेकोशीमा चिनियाँ भाषा कक्षा सञ्चालन गर्न उनको ठुलो योगदान रहेको छ ।