
एकपटकको कुरा हो– एक नवविवाहित दम्पती कुनै भाडाको घरमा बस्न थाले । नयाँ घरमा बस्न थालेको केही दिनपछि एक बिहान उनीहरू दुवै खाजा खान लागेका थिए । त्यति नै वेला पत्नीको ध्यान झ्यालतिर पुग्यो । उनीहरू बस्ने कोठाको झ्यालबाट पल्लो घरको छत देखिन्थ्यो । त्यहाँ केही कपडा धोएर डोरीमा टाँगिएका थिए । ती लुगा देख्नासाथ पत्नीले भनिन्– त्यस घरमा बस्ने मानिसलाई त लुगा कसरी धुनुपर्छ भन्ने पनि थाहा छैन कि के हो ? हेर्नुस् न कति मैला कपडा सुकाइरहेका छन् !
पतिले पत्नीको गुनासो सुनेर यसो झ्यालतिर आँखा डुलाए, तर विनाकुनै प्रतिक्रिया चुपचाप खाजा खानमै केन्द्रित भए । केही दिनपछि फेरि पनि सोही स्थानमा थप केही कपडा सुकाइएका थिए । देख्नासाथ पत्नीले पहिलेकै कुरा दोहोर्याइन् । उनले भनिन्– कहिले सिक्छन् होला यिनले कपडा धुन, हे ईश्वर ! आज पनि पतिले पत्नीको भनाइ सुने तर कुनै प्रतिक्रिया दिएनन् । तर, यो हरेक दिन दोहोरिइरहने गुनासो बन्न थाल्यो । जहिलेसुकै छतमा सुकाएको कपडा देख्नासाथ पत्नी केही न केही प्रतिक्रिया दिइरहन्थिन्, पति चुपचाप सुनिरहन्थे । लगभग एक महिनापछि पतिपत्नी एकसाथ बसेर बिहानी खाजा खाँदै थिए । सधैँझैँ पत्नीको दृष्टि छिमेकीको छततिर पुग्यो । देखनासाथ आश्चर्य मान्दै उनले भनिन्– वाह ! आज त यिनको बुद्धि ठेगानमा आयो जस्तो देखिन्छ । कपडा बिल्कुलै सफा देखिन्छन् । पक्कै पनि यिनलाई कसैले यसबारे केही न केही सुनायो होला ।
यसपटक भने पतिले मुख खोले– होइन, उनीहरूलाई कसैले केही सुनाएको छैन । पतिको जवाफ सुनेर पत्नी चकित भइन् । उनले सोधिन्– तपाईंलाई कसरी थाहा भयो यो सब ? पतिले जवाफ दिए– आज म बिहान केही छिटो उठेको थिएँ । खासै काम केही नभएकाले मैले यो झ्यालको सिसा बाहिरबाट सफा गरिदिएको थिएँ । त्यसैले, तिमीले कपडा सफा देखिरहेकी छ्यौ । पतिका कुरा सुनेपछि पत्नी झ्यालतिर हरेकोहेर्यै भइन् ।