
इन्डियन प्रिमियर लिग (आइपिएल) १८औँ संस्करणको फाइनल मंगलबार हुँदै छ । अहमदाबादमा हुने उपाधि भिडन्तमा रोयल च्यालेन्जर्स बेंगलुरु र पन्जाब किंग्स प्रतिस्पर्धा गर्दैे छन् । दुबै टोली पहिलोपटक आइपिएल उपाधि जित्ने योजनामा छन् । पन्जाब श्रेयर यय्यरको कप्तानीमा छ । यो टिम पाँच वर्षमा तेस्रोपटक फाइनल खेल्दै छ । यय्यरले मुम्बईविरुद्धको दोस्रो क्वालिफायरमा अविजित ८७ रन बनाउँदै टोलीलाई जित दिलाएका थिए ।
यता, आरसिबीको कप्तानी पहिलोपटक रजत पटिदारले गरिरहेका छन् । यो आइपिएलमा उनी भाग्यमानी पनि देखिएका छन् । उनको टिम घरबाहिर लगातार आठ खेल जित्दै फाइनलमा पुगेको हो । उनले ६ महिनाअघि आफ्नो टिमलाई सैयद मुस्ताक अली टी–२० लिगको फाइनलमा पुर्याएका थिए ।
रिकी पोन्टिङको प्रशिक्षणमा रहेको पन्जाबलाई कप्तान श्रेयससँगै प्रियान्श आर्या, प्रभसिमरन सिंह, जस इङलिस, नेहल वाधेरा, शशांक सिंह, मार्कस स्टोइनिस, अजमुतुल्लाह ओमार्जाइ, केली जामिसन र अर्शदीप सिंहको साथ छ । यता, नयाँ कप्तान रजतलाई पूर्व कप्तान विराट कोहलीसँगै फिल साल्ट, मयंक अग्रवाल, लिआम विभिंघस्टोन, जितेश शर्मा, रोमारिओ सेफर्ड, क्रुनाल पाड्या, भुवनेश्वर कुमार, यस दायल र जस हैजलवुडले साथ दिनेछन् ।
भाग्यमानी रजत पटिदार
आइपिएलमा पहिलोपटक कप्तानी गरिरहेका रजतले पहिलो अवसरमै टोलीलाई फाइनलमा पुर्याउन सफल भएका छन् । आरसिबी आइपिएल इतिहासम नौ वर्षपछि फाइनलमा स्थान बनाएको हो । यस यात्रामा अवे सबै खेल जित्न सफल भयो । पटिदारले कोलकाता र चेन्नईविरुद्ध अर्धशतक पनि बनाएका थिए । उनकै अर्धशतकसँगै आरसिबीले पहिलोपटक चेन्नईलाई सिजनको दुवै भेटमा हरायो । रजत आरसिबीको १७ वर्षको पर्खाइ तोड्ने प्रयासमा छन् । पटिदारलाई आरसिबीले ११ करोडमा रिटन गरेको थियो । यस सिजन उनको कप्तानीमा आरसिबीले १२ खेल खेल्दा नौ जित र तीन हार व्यहोरेको थियो ।
पाँच वर्षमा यय्यरको तेस्रो फाइनल
कप्तान श्रेयस यय्यरले पछिल्लो पाँच वर्षमा टोलीलाई तेस्रोपटक आइपिएलको फाइनलमा पुर्याएका छन् । सन् २०२० मा दिल्लीले उनकै कप्तानीमा फाइनल खेल्यो । तर, टिम चुक्यो । सन् २०२४ मा कोलकातालाई भने उपाधि नै दिलाए । अब, पन्जाबलाई ११ सालपछि फाइनलमा पुर्याएका छन् । सन् २०१४ मा पन्जाबले अन्तिमपटक फाइनल खेलेको थियो । फाइनलमा कोलकातासँग चुकेको हो । यय्यरकै कप्तानीमा पन्जाबले आइपिएलकै इतिहासमा कम स्कोर पनि पूरा गरेको थियो । पन्जाबले कोलकाताविरुद्ध १११ रन बनाएको थियो । तर, कोलकतालाई ९५ रनमै रोक्न सफल भयो । यस आइपिएलमा उनले १६ खेल खेल्दा १० जित र पाँच हार व्यहोरे । कप्तान श्रेयसले १५ खेलमा ६०३ रन बनाएका छन् ।
ओरेन्जमा साई सुदर्शन तथा पर्पलमा प्रसिद्धको लडाई
आइपिएल २०२५ को ओरेन्ज क्यापमा साई सुदर्शन तथा पर्पल क्याप जित्ने दौडमा प्रसिद्ध कृष्ण रहेका छन् । सर्वाधिक रन बनाउने ओरेन्ज तथा धेरै विकेट लिनेले पर्पल क्याप जित्ने गर्छन् । गुजरात टाइटन्सका साई सुदर्शनले १५ इनिङ्समा सर्वाधिक ७५९ रन बनाएका छन् । उनको नाममा एक शतक र ६ अर्धशतक छ । सुदर्शनलाई पछ्याउने क्रममा मुम्बईका सूर्यकुमार यादवले ७१७ रन बनाएका हुन् । बलिङतर्फ गुजरातकै प्रसिद्ध कृष्णले सर्वाधिक २५ विकेट लिएका छन् । उनले १५ इनिङ्समा यो उपलब्धि हासिल गरेका हुन् । चेन्नईका अफगानी बलर नुर अहमदले २४ विकेट लिँदा मुम्बईका ट्रेन्ट बोल्डले २२ विकेट लिएर तेस्रो स्थानमा रहेका छन् ।