
भिजिट भिसामार्फत भएको मानव तस्करी र ठगीमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर विपक्षी दलहरूले सदन अवरुद्ध गर्ने रणनीति बनाउँदा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले भने पेलेरै सदन चलाउने संकेत गरेका छन् ।
सोमबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले गृहमन्त्री लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्रविपरीत भएको टिप्पणी गर्दै मंगलबारदेखि संसद्का नियमित गतिविधि सञ्चालन हुने दाबी गरे ।
‘एउटा कर्मचारीलाई अख्तियारले बोलाएर सोध्यो अरे भनेका भरमा, के सोध्यो पनि थाहा छैन, बयान लिएको छैन । त्यस्तो अवस्थामा हामीलाई रिस उठ्या छ गृहमन्त्री, त्यसकारण राजीनामा गर्नुपर्यो भन्नेजस्ता कुराले संसद् अवरोध हुँदैन । म स्पष्ट भन्न चाहन्छु, तपाईंहरू मेन्टल्ली तयार बस्नुस् । संसद् अवरोध हुँदैन । यसरी संसद् अवरोध चल्दैन । जहिले पनि संसद् अवरोध ? दुईजना उठ्यो, करायो, हल्ला गर्यो, संसद् अवरोध ? संसद् अवरोध त्यसरी हुन सक्दैन । त्यसकारण उहाँहरू कराउनुहोला । तर, संसद् अगाडि बढाउनुपर्छ । धेरै भयो उहाँहरूको ज्यादति धेरै भयो अब, अति भयो क्या,’ उनले आफ्ना सांसदहरूलाई निर्देशन दिँदै भने ।
सुशासन र देश विकासबाहेक अन्त सरकारको ध्यानै नभएको, नचाहिने काममा सरकार नलागेको दाबी गर्दै रचनात्मक हुन विपक्षीलाई अनुरोध पनि गरे । अर्घेला कुरा गरेर कसैको राजीनामा माग्ने र राजीनामा दिएन भने संसद् अवरुद्ध गर्नु प्रतिगामी कदम र व्यवस्थाविपरीतको कदम भएको ओलीको भनाइ थियो ।