१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २० मंगलबार
  • Wednesday, 04 June, 2025
रमेश सुवेदी काठमाडाैं
२o८२ जेठ २० मंगलबार o६:o१:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ : करण चम्किँदा स्कटल्यान्डविरुद्ध  नेपालको रोमाञ्चक जित

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २० मंगलबार o६:o१:oo
  • नवौँ नम्बर क्रिजमा आएका करणले ४१ बलमा तीन चौका र चार छक्कासहित अविजित ६५ रन बनाए 
  • नेपालको जितमा कुशल भुर्तेल र आसिफ शेखबिच ७२, भीम सार्की र कप्तान रोहितकुमार पौडेलबिच ७४ तथा करण र गुल्सनबिच ६० रनको साझेदारी भयो । त्यस्तै, करण र सन्दीप लामिछानेबिच नवौँ विकेटका लागि ३८ रनको साझेदारी भएको थियो ।

नवौँ नम्बर क्रिजमा पुगेका करण केसी चम्किएपछि नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा घरेलु टोली स्कटल्यान्डविरुद्ध रोमाञ्चक एक विकेटको जित निकालेको छ ।

सोमबार अन्तिम बलमा १ रन चाहिएको अवस्थामा स्कटल्यान्डका खेलाडीले वाइड बल फ्याँकेपछि नेपालले रोमाञ्चक जित निकाल्यो । नेपालको जितमा करण केसीले सर्वाधिक अविजित ६५ रन बनाए । ओपनर कुशल भुर्तेलले ५३ रनको योगदान गरे । यो  खेलसँगै नयाँ प्रशिक्षक स्टुआर्ट लले सुखद सुरुवात गरेका छन् । नेपालका लागि उनको यो आधिकारिक पहिलो खेल हो । 

फोर्थहिलमा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २९७ रनको लक्ष्य प्रस्तुत गर्‍यो । प्रत्युत्तरमा नेपालले एक बलअघि जित निकाल्यो ।

स्कटल्यान्डविरुद्ध शीर्ष ब्याटरले औसत प्रदर्शन गर्दा मध्यक्रम भने चल्नै सकेन । तल्लो क्रमका करण केसी र गुल्सन झाले नेपालको जितको आधार तय गरेका थिए । आशा गरेका दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

नेपाल लिग–२ को चौथो शृंखला जित्नैपर्ने दबाबमा छ । शृंखलामा नेपालले स्कटल्यान्ड र नेदरल्यान्डसँग समान २ खेल खेल्नेछ । स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले एक स्थान सुधार गर्‍यो ।  १३ खेलमा  तीन जित निकालेको नेपाल ८ अंक जोड्दै सातौँ स्थानमा उक्लियो । नेदरल्यान्ड २६ अंकसहित दोस्रो र २० अंक जोडेको स्कटल्यान्ड चौथो स्थानमा छ । २८ अंक जोडेको अमेरिका शीर्ष स्थानमा छ ।

कुशलको नवौँ, करणको पहिलो अर्धशतक 
नेपालका लागि ओपनर कुशल भुर्तेल र करण केसीले अर्धशतक बनाए । कुशलले ४१ बलमा ११ चौकासहित अर्धशतक बनाए । उनले ४४ बलमा ५३ रन बनाएका हुन् । ओडिआई करिअरमा कुशलको यो नवौँ अर्धशतक हो । उनको नाममा एक शतक पनि छ ।

नवौँ नम्बर क्रिजमा आएका करणले ४१ बलमा तीन चौका र चार छक्कासहित अविजित ६५ रन बनाए । करणको एकदिवसीयमा यो पहिलो अर्धशतक हो । गुल्सन झाले ३० बलमा समान तीन चौका र छक्कासहित ४२ रन बनाए ।

तेस्रो नम्बर क्रिजमा आएका भीम सार्कीले ४८ बलमा तीन चौकासहित ४० रनको योगदान गरे । कप्तान रोहितले पनि ३७ रन बनाए । यसअघि अर्का ओपनर आसिफ शेख २० रन बनाएर पेभिलियन फर्किँदा नेपालले ११.६ ओभरमा ७२ रन बनाएको थियो । पहिलो विकेटका लागि ७२ रनको साझेदारी भयो । तेस्रो विकेटका लागि भीम र कप्तान रोहितबिच पनि ७४ रनको बलियो साझेदारी भएको थियो ।

आठौँ विकेटको लागि  करण र गुल्सनबिच ६० रनको साझेदारी भयो । करण र सन्दीपबिच नवौँ विकेटका लागि ३८ रनको साझेदारी भएपछि नेपालको जित पक्कापक्की भएको थियो । सन्दीपले ५ रन बनाए ।

स्कटल्यान्डको तीन बलियो साझेदारी 
१६ रन जोड्दा पहिलो विकेट गुमाएको स्कटल्यान्डले तीन बलियो साझेदारी गरेपछि बलियो लक्ष्य प्रस्तुत गरेको थियो । स्कटल्यान्डका ओपनर चार्ली टेअरले सर्वाधिक ८० रन बनाए । ७२ बलमा १२ चौका र १ छक्का हिर्काएका चार्लीलाई करण केसीले आसिफ सेखबाट क्याचआउट गराएका थिए । पाँचौँ नम्बर क्रिजमा आएका फिन्ली म्याकक्रेथले ६७ बलमा ५५ रन बनाए । तीन चौका र १ छक्का हिर्काएका उनलाई सोमपालले कप्तान रोहितकुमार पौडेलको हातबाट क्याचआउट गराएका थिए । कप्तान रिची बेरिन्टनले ४६ बलमा ४० रन बनाएका हुन् । उनलाई पनि करणले आसिफबाटै क्याच गराएका हुन् ।

३९ रन बनाएका म्याथ्यु क्रोसलाई सन्दीप लामिछानेले कुशल भुर्तेलबाट क्याच गराएका थिए । सोमपाल कामीले ब्रान्डन म्याकमुलेनलाई वैकल्पिक खेलाडी बसिर अहमदबाट क्याच गराए । यसअघि ओपनर जर्ज मुन्सीलाई रिजन ढकालले सोमपालबाट क्याच गराएका हुन् । १८ रन बनाएका माइकल लेस्कलाई रिजनले भीम सार्कीबाट क्याचआउट गराउन सफल भएका थिए ।

दोस्रो विकेटका लागि म्याकमुलेन र टेअरले ६१, तेस्रो विकेटका लागि बेरिंघटन र टेअरले ७९ तथा पाँचौँ विकेटका लागि क्रुस र म्याकक्रेथले ७८ रनको साझेदारी गर्दा स्कटल्यान्ड बलियो स्कोर बनाउन सफल भयो । नेपालका लागि करण, रिजन र सोमपालले समान सर्वाधिक दुई तथा सन्दीप लामिछानेले एक विकेट लिएका थिए । कुशल भुर्तेल, आसिफ सेख र गुल्सन झा भने विकेटविहीन रहेका थिए । १० ओभर बलिङ गरेका रिजन भने महँगो साबित भए । उनले ७८ रन खर्चिएका थिए । 

 

 

छुटाउनुभयो की ?