
सन् १९७१ मा बंगलादेशको जन्ममा भारतको भूमिका अभूतपूर्व थियो । नरसंहारबाट भागेका करिब एक करोड शरणार्थीलाई आश्रय दिनेदेखि लिएर पाकिस्तानको सैन्य शासनलाई घुँडा टेकाउने निर्णायक युद्धमा संलग्न हुनेसम्म सार्वभौम बंगलादेशको उदयमा भारतको योगदान महत्वपूर्ण थियो । स्वतन्त्रता संग्राममा देखिएको यो एकताको विरासतलाई कुनै समय दुवै देशले अपार गौरवका रूपमा लिन्थे । तर, सहकार्यको यो गहिरो र पीडादायी इतिहासका बाबजुद बंगलादेशमा भारतविरोधी भावना निरन्तर बढ्दै गएको छ । र, पछिल्ला वर्षहरूमा भारतविरोधी भावना अझ स्पष्ट र तिखर बनेको छ ।
आखिर, जुन देशको निर्माणमा भारतीय रगत र हतियार प्रयोग भएको छ, उही अहिले सोही सघाउने देशलाई किन शंकाको नजरले हेर्ने गर्छ । र, समाजका धेरै तप्कामा किन भारतप्रति आक्रोश र क्रोध छ ? यो भावनालाई केवल शत्रुता वा अनावश्यक आक्रोशका रूपमा व्याख्या गरेर मात्र पुग्दैन । वास्तविकता थप जटिल छ । यस भावनालाई वर्षौँको राजनीतिक गतिशीलता, कथित आर्थिक असन्तुलन र पूरा नगरिएका अपेक्षाले आकार दिएको छ । तथापि, यो भारत वा भारतीयप्रतिको शत्रुताबाट प्रेरित छ भन्न होइन । बरु, यो द्विपक्षीय सम्बन्धमा समान व्यवहार, पारस्परिक सम्मान र बढी स्वायत्तताको चाहनाबाट उत्पन्न भएको भन्न सकिन्छ ।
धेरै बंगलादेशीले भारतलाई सहयोगी साझेदारका रूपमा नभएर असमान महसुस हुने सम्बन्धको अहंकारी पक्षका रूपमा हेर्छन् । र, जब असमान सम्बन्धमा हस्तक्षेप भएको महसुस हुन्छ, धक्का प्रायः अपरिहार्य हुन्छ । भारत–बंगलादेशबिचको तनावको सबैभन्दा ठुलो स्रोतमध्ये एक बसाइँसराइ रहने गरेको छ । सन् १९७१ मा हिंसाबाट भागेका बंगलादेशीका लागि आफ्नो सिमाना खोल्ने भारतको निर्णय एक मानवीय कार्य थियो । तर, यसले एक स्थायी छाप छाड्यो । हालैका वर्षहरूमा समेत भारतीय राजनीतिक बहस त्यसमा पनि विशेष त आसाम र पश्चिम बंगाल राज्यमा बंगलादेशी नागरिकको प्रवेशको कथ्य बढी नकारात्मक रूपमा प्रस्तुत हुने गरेको छ । भारतका केही हिन्दुवादी राजनीतिज्ञ तथा मिडियाहरूले ती राज्यमा कागजात नभएका आप्रवासीबारे चर्चा गर्दा बंगलादेशीलाई छिमेकीका रूपमा नभएर सुरक्षा चिन्ताका रूपमा देखाउँछन् । यी धारणा भारतभित्र बहस भए पनि तिनलाई पारिका मानिसले पनि हेरिरहेका हुन्छन् ।
सीमा क्षेत्रका तनावले पनि सम्बन्धमा असहजता विकास गर्न योगदान पुर्याएको छ । बल प्रयोगलाई सकेसम्म कम गर्न द्विपक्षीय प्रतिबद्धता नभएका होइनन् तैपनि सीमामा बंगलादेशी नागरिक मारिने घटना भइरहेका छन् । तस्करी वा सिमाना वारपार गर्ने विषयबाट सुरु हुने विवादले गहिरो टकराव र अविश्वास विकास गर्ने गर्छ । यी घटनाले धेरै बंगलादेशीको मनमा भारतले आफूहरूलाई हेप्ने गरेको विश्वास बलियो बनाउन भूमिका खेलेका छन् । पानी बाँडफाँट विवादले यस भावनालाई थप बढाउने गर्छ । बंगलादेश एउटा डेल्टा (नदीले बनाएको) राष्ट्र हो, जसको अर्थतन्त्र र पारिस्थिति भारतबाट हुँदै बहने नदीको प्रवाहसँगै गहिरो गाँसिएको छ । दशकौँदेखि, बंगलादेशले टिस्टा नदीमाथि न्यायोचित हिस्सा दिन आग्रह गर्दै आएको छ, तर यसलाई अस्वीकार गरिएको छ । तर, यसमा दिल्लीभन्दा कोलकाताबाट बढी राजनीतिक गतिरोध देखिने गरेको छ ।
सन् १९७५ देखि सञ्चालनमा रहेको फरक्का ब्यारेज नदीको माथिल्लो भागमा रहेको देश (भारत)ले लिएको एकतर्फी निर्णयको तीतो अनुभव बंगलादेशीले गरेका छन् । ब्यारेजले तल्लो भेगको बंगलादेशी कृषि भूमिलाई नकारात्मक प्रभाव पार्छ । शेख हसिनाको पहिलो कार्यकालमा सन् १९९६ मा गंगाको पानी बाँडफाँटसम्बन्धी सन्धिमा हस्ताक्षर भएको थियो । धेरै बंगलादेशीले भारतलाई नदी बेचेको अर्थमा लिने यो सन्धिको समयसीमा अर्को वर्ष समाप्त हुँदै छ । नयाँ सन्धि नभएमा प्रत्येक सुक्खा मौसममा बंगलादेशीमाझ फेरि पनि भारतले बंगलादेशलाई घाटा हुने गरी आफ्नो आवश्यकतालाई मात्र प्राथमिकता दिन्छ भन्ने भावना बढ्नेछ । यस सन्दर्भमा पानी केवल प्राकृतिक स्रोत मात्र होइन, यो शक्ति र सम्मानको ब्यारोमिटर पनि हो ।
बंगलादेश र भारतबिचको आर्थिक सम्बन्ध बढेको छ, तर त्यसलाई पनि असमान भएको मानिन्छ । भारत बंगलादेशको दोस्रो ठुलो व्यापारिक साझेदार बनेको छ र दुई देशबिच व्यापार असन्तुलन उल्लेखनीय छ । आर्थिक वर्ष २०२३–२४ मा बंगलादेशले भारतमा लगभग तीन अर्ब डलरको सामान निर्यात गरेको थियो, जबकि सोही अवधिमा उसले १३ अर्ब डलरभन्दा बढी सामान भारतबाट आयात गर्यो । व्यापार सहकार्य बढाउने प्रयास गरिएका छन् । तथापि, धेरै बंगलादेशी व्यवसायीका अनुसार भन्सार र गैरभन्सार अवरोधले भारतीय बजारमा स्वच्छ पहुँच कठिन छ । जबकि, भारतीय सामान भने बंगलादेशमा सर्वत्र उपलब्ध छन् । यो असमानताले आर्थिक सम्बन्ध सहयोगपूर्ण नभएको धारणालाई बढावा दिन्छ । भारतले तयारी पोसाकसहित बंगलादेशी निर्यातको ‘ट्रान्ससिपमेन्ट’ सुविधा अचानक फिर्ता लिएपछि द्विपक्षीय सम्बन्धमा थप तनाव आयो । यस सुविधाले बंगलादेशी निर्यात कार्गोलाई भारतीय स्थल भन्सार स्टेसन प्रयोग गरेर तेस्रो देशमा ढुवानी गर्न अनुमति दिन्थ्यो ।
द्विपक्षीय सम्बन्धको राजनीतिक आयामले पनि जनभावनालाई आकार दिएको छ । एक दशकभन्दा बढी समयदेखि भारतको मोदी सरकारले शेख हसिनाको नेतृत्वमा रहेको अवामी लिग सरकारसँग घनिष्ठ सम्बन्ध कायम राख्यो । यो बंगलादेशका लोकतान्त्रिक संस्थाले निरन्तर धक्का खाएको समय थियो । गैरन्यायिक गतिविधि, मिडियामाथिका प्रतिबन्ध र विवादित चुनावका घटना घरेलु र अन्तर्राष्ट्रिय रूपमा आलोचनाका विषय बनेका थिए । यी घटनाक्रमबिच पनि भारतीय जनता पार्टी (भाजपा) सरकारले हसिना सरकारलाई निरन्तर समर्थन गर्दा धेरै बंगलादेशीमा नयाँदिल्लीले लोकतान्त्रिक जवाफदेहिताभन्दा राजनीतिक स्थिरतालाई विशेषाधिकार दिएको भान पर्यो । विद्यार्थी नेतृत्वमा भएको आन्दोलनपछि अगस्ट २०२४ मा हसिना भाग्न बाध्य भइन् । हसिनाको अन्तिम बर्खास्तगीलाई कतिपय बंगलादेशीले राजनीतिक संक्रमणका रूपमा मात्र नभई घरेलु मामिलामा भारतीय प्रभावको अस्वीकृतिका रूपमा पनि हेरेका छन् ।
सत्ताच्युत भएपछि भारतमा शरण लिने हसिनाको निर्णय र उनलाई स्विकार्ने भाजपा सरकारको तत्परताले त्यहाँको सार्वजनिक धारणामा थप अविश्वास बढाएको छ । भारतको कदमलाई कूटनीतिक रूपमा बुझ्न सकिन्छ । तर, बंगलादेशभित्र भने हसिनालाई शरण दिने नयाँदिल्लीको कदमलाई उसको आन्तरिक मामिलामा भारतको हस्तक्षेपको थप प्रमाणका रूपमा व्याख्या भइरहेको छ । हसिनाको बहिर्गमनपछि हुने गरेका प्रदर्शनमा भारतविरोधी नारा समावेश हुनुले यही गैरहस्तक्षेपको व्यापक चिन्ता प्रतिबिम्बित गर्छ ।
भूराजनीतिक परिवर्तनले द्विपक्षीय समीकरणमा जटिलता थपेको छ । हाल अन्तरिम सरकारको नेतृत्व गरिरहेका नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले मार्चको अन्त्यमा बेइजिङको भ्रमण गरे । भ्रमणमा उनले बंगलादेशलाई भारतका उत्तरपूर्वी राज्यहरूको समुद्री प्रवेशद्वार भएको बताए । युनुसले खासमा क्षेत्रीय एकीकरणबारे बंगलादेशसँग रणनीतिक अवसर रहेको जोड दिन त्यो कथन भनेका थिए । तर, भारतीय संस्थापनले यसलाई शंकाको नजरमा हेर्यो (विशेषत भारत र चीनबिच बढ्दो क्षेत्रीय प्रतिस्पर्धाले यसलाई बढावा दियो) । प्रतिक्रियामा, भाजपा नेतृत्वको केन्द्र सरकारले प्रतिशोधात्मक रूपमा भारतीय बन्दरगाहमार्फत बंगलादेशको कार्गो ट्रान्ससिपमेन्ट विशेषाधिकारसमेत खारेज गर्यो । यस कदमपछि बंगलादेशमा भारतले राजनीतिक असन्तुष्टि व्यक्त गर्न आर्थिक उपकरण प्रयोग गरिरहेको धारणालाई बढावा दिएको छ ।
धार्मिक पहिचानको राजनीतिले पनि सीमापार धारणालाई प्रभाव पारेको छ । भाजपाको आगमनपछि हिन्दु राष्ट्रवादी नीतितर्फ भारतभित्र भइरहेका परिवर्तनमाथि बंगलादेशीले ध्यान दिइरहेका छन् । सन् १९९२ मा बाबरी मस्जिदको विनाश, एक दशकपछि गुजरात दंगा, गाई हत्याको आशंकामा गरिएका ‘लिन्चिङ’ र ‘अखंड भारत’को बयानबाजीजस्ता घटना बंगलादेशमा व्यापक प्रचार भएका छन् । यसले भारत मुस्लिमप्रति बढ्दो रूपमा असहिष्णु छ भन्ने छाप विकास भएको छ । यस धारणाले बंगलादेशभित्रै इस्लामिक राजनीतिको उदयलाई सघाउ पुर्याएको छ । उनीहरूले आफूलाई मुस्लिम पहिचानको रक्षकका रूपमा अघि सार्ने गरेका छन् ।
यता भारतीय मिडियाले यही राजनीतिलाई देखाउँदै बंगलादेश इस्लामिक अतिवादको केन्द्र बन्दै गएको चित्रण गर्न थालेका छन् । दुवै पक्षले अर्कोलाई राक्षसीकरण गर्ने र डर बढावा दिने काम गरिरहेका छन् । यसले पारस्परिक शत्रुता विकास गर्ने कुचक्र सिर्जना गरेको छ । बंगलादेशका युवामाझ विशेष रूपमा भारतसँगको असमान सम्बन्ध, हस्तक्षेपकारी भूमिका र प्रतिरोधको कथ्यले द्रुत प्रचार पाइरहेको छ । तिनका लागि भारतप्रति आशंका वैचारिकभन्दा पनि अनुभावात्मक देखिन्छ । यति सबै भनिसकेपछि बंगलादेशमा भारतप्रति नकारात्मक धारणा छ भन्नु पनि गलत हुन्छ ।
दुई देशबिच सांस्कृतिक सम्बन्ध अझै बलियो छ । प्रविधि, शिक्षा र आर्थिक क्षेत्रमा भारतले हासिल गरेको उपलब्धिको धेरै प्रशंसा हुने गर्छ । बलिउड फिल्म र क्रिकेटले जनता–जनता सम्बन्धलाई बढावा दिन जारी राखेका छन् । ऐतिहासिक सम्बन्ध बिर्सिएको छैन । धेरै बंगलादेशीले सन् १९७१ को साझा इतिहासलाई महत्व दिन्छन् । तर, प्रशंसा स्वतः मित्रवत् सम्बन्धमा परिणत हुँदैन । बंगलादेशीले खोजिरहेको कुरा समानता र पारस्परिक सम्मानमा आधारित सम्बन्ध हो । भारत र बंगलादेशबिचको सम्बन्ध स्वतन्त्रता र न्यायका लागि सामूहिक संघर्षबाट जन्मिएको थियो । त्यो विरासतले गर्व र जिम्मेवारी दुवै निम्त्याएको छ । वर्तमान निराशालाई विकासोन्मुख सम्बन्धको हिस्सा ठानेर यसलाई शत्रुतामा परिणत हुन रोक्न सकियो भने सम्बन्ध नवीकरणको बाटो भेटिनेछ । बंगलादेशमा परिवर्तन माग गर्नेहरूले भारतलाई अस्वीकार गरिरहेका छैनन् । तिनले द्रुत गतिमा परिवर्तन भइरहेको संसारमा आफ्नो देशको सार्वभौमिकता र मर्यादा पुनः प्राप्त गर्न चाहेका मात्र हुन् ।
अशोक स्वाइन स्विडेनको उप्साला विश्वविद्यालयका ‘शान्ति र द्वन्द्व अनुसन्धान’ विषयका प्राध्यापक हुन्
–द स्क्रोलबाट