१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १२ सोमबार
  • Tuesday, 27 May, 2025
आइतबार बालुवाटारमा बसेको सत्तागठबन्धनका शीर्ष नेताहरूको बैठक
शुरोजंग पाण्डे काठमाडाैं
२o८२ जेठ १२ सोमबार o७:१o:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको बचाउमा कांग्रेस–एमाले

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १२ सोमबार o७:१o:oo

भिजिट भिसाका नाममा अवैध असुली प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको बचाउमा सत्तारूढ दल नेपाली कांग्रेस र एमाले उत्रिएका छन् । कांग्रेसभित्रका केही नेता र नागरिकस्तरबाट गृहमन्त्री लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग उठिरहेका वेला सत्तागठबन्धन भने उनीप्रति प्रतिरक्षात्मक बनेको छ । प्रधानमन्त्री केपी ओली पनि गृहमन्त्री लेखकको बचाउमा लागेका छन् । 

आइतबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको सत्तागठबन्धनका शीर्ष नेताहरूको बैठकले गृहमन्त्री लेखकको राजीनामाको आवश्यकता नरहेको निष्कर्ष निकालेको छ । बैठकमा सहभागी नेताहरूका अनुसार गृहमन्त्रीमाथि उठेको विवादबारे संसद्मार्फत स्पष्ट पार्दै अघि बढ्ने सहमति भएको छ । चौतर्फी दबाबबिच पनि सत्तारूढ दलहरू तत्काल राजीनामाको पक्षमा छैनन् । यस विषयमा थप छलफल गर्न कांग्रेसको सोमबार पदाधिकारी बैठक बस्दै छ । 

कर्मचारीले गल्ती गर्र्दैमा मन्त्रीले राजीनामा दिनुनपर्ने निष्कर्षमा कांग्रेस र एमालेका शीर्ष नेता पुगेका छन् । बैठकमा भिजिट भिसा प्रकरणलाई विपक्षी दलले संसद्मा उठाए कसरी जवाफ दिने भन्ने विषयमा समेत छलफल भएको थियो । मंगलबार गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणबारे सदनलाई जानकारी दिँदै छन् । संसद् सचिवालयमार्फत उनले जवाफ दिने समय लिइसकेका छन् । सत्तारूढ दलहरूले संसद्मा प्रकरणबारे स्पष्ट पार्दै अगाडि बढ्ने रणनीति बनाएका छन् ।

शीर्ष छलफलमा सहभागी कृषिमन्त्री रामनाथ अधिकारीले कर्मचारीको विषय जोडेर गृहमन्त्रीको राजीनामाको विषय उठाउनु स्वाभाविक नहुने बताए । ‘अहिले अनावश्यक विषय उठिरहेको छ । एउटा कर्मचारीले कहाँ कमजोरी गरेको हुन्छ, बदमासी गरेको हुन्छ । त्यसमा सिधै फलाना ढिस्काना भन्ने प्रवृत्ति एकदमै खराब हो,’ उनले भने । कृषिसम्बन्धी विषयमा कुरा गरेपछि आफू बाहिरिएको उनले बताए ।

त्यसैबिच कांग्रेस मुख्य सचेतक श्याम घिमिरेले भने शेखर कोइरालाले राजीनामा माग्दैमा गृहमन्त्रीले राजीनामा नदिने दाबी गरे । ‘राजीनामा किन दिने ? उहाँले आगामी संसद् बैठकमा सबै कुरा प्रस्ट पार्नुहुन्छ । कसैले राजीनामा देऊ भन्दैमा गृहमन्त्रीको राजीनामा आउँदैन,’ घिमिरेले भने ।

विवादमा तानिएसँगै गृहमन्त्रीले राजीनामा दिनुपर्ने र नपर्ने विषयमा कांग्रेसमा दुई धार छ । मानव तस्करीजस्तो विषयमा जोडिएपछि गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्ने कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले माग गरेका छन् । त्यस्तै, कांग्रेसका सांसद राजेन्द्र बजगाईंले गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गरेका छन् । बजगाईंले मुख्यसचेतक घिमिरेमार्फत सभापति शेरबहादुर देउवालाई पत्र पठाएर विवादित मन्त्रीलाई बर्खास्त गर्न माग गरेका छन् । ‘पार्टीको छवि जोगाउन भ्रष्टाचारमा संलग्न र कमजोर प्रदर्शन गर्ने मन्त्रीहरूलाई तुरुन्त बर्खास्त गर्नुपर्ने सम्बन्धमा’ भन्ने विषय उल्लेख गरेका छन् ।

 गृहमन्त्री लेखकको प्रतिरक्षा गर्दै प्रधानमन्त्री ओलीले एमाले बैठकमा भने–एउटा कर्मचारीले गल्ती गर्दा मन्त्रीले राजीनामा दिँदै जाँदा सरकार कसरी चल्छ ?  
प्रधानमन्त्री केपी ओली भिजिट भिसा असुली प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको प्रतिरक्षामा उत्रेका छन् । गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा गर्नुपर्ने आवाज उठिरहेका वेला प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकको बचाउ गरेका हुन् । प्रधानमन्त्री ओलीको प्रश्न छ– एउटा कर्मचारीले गल्ती गर्दा मन्त्रीले राजीनामा दिँदै जाँदा सरकार कसरी चल्छ ? 

‘उहाँ (गृहमन्त्री)ले गल्ती गरेको होइन । अख्तियारको अनुसन्धानमा उहाँको संलग्नता देखिएको छैन । उहाँको मन्त्रालयको कुनै कर्मचारीले गल्ती गर्‍यो, थप छानबिन हुँदै जाला । एउटा मन्त्रालयमातहतमा हजारौँ कर्मचारी हुन्छन् । प्रमाणित भए वा दोषी देखिए बेग्लै कुरा हो,’ प्रधानमन्त्री ओलीले भने, ‘नत्र एउटा कर्मचारीले गरेको गल्तीमा मन्त्रीले राजीनामा दिँदै जाने हो भने सरकार कसरी चल्छ ? गल्ती रहेछ भने जोकोहीलाई कानुनअनुसार कारबाही हुन्छ ।’ 

रास्वपाले गृहमन्त्रीको राजीनामा संसद्मा सशक्त उठाउने 
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसामा अवैध असुलीमा तानिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको माग दोहोर्‍याउँदै यो विषय सदनमा सशक्त उठाउने तयारी गरेको छ । केन्द्रीय समितिको आइतबार बसेको बैठकले राजीनामा दिएर निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने माग गर्दै त्यसको कार्यान्वयनका लागि सदनमा आवश्यक कदम चाल्ने निर्णय लिएको छ । 

‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनुपर्छ’ भन्ने दृष्टान्तअनुरूप ‘यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानलाई सघाउन माग गरेको’ स्मरण गराउँदै बैठकले यसको कार्यान्वयनका लागि आवश्यक प्रभावकारी कदम चाल्न संसदीय दललाई निर्देशन दिएको छ ।

सचेतक निशा डाँगीका अनुसार मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीको विषयमा रणनीति बनाउन संसदीय दलको बैठक बोलाइएको छ । सोमबार अपराह्न चार बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्नेछ । कार्यवाहक प्रवक्ता मनीष झाले भन्छन्, ‘पर्सिको बैठक सामान्य हुनेछैन ।’