१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १० शनिबार
  • Saturday, 24 May, 2025
२o८२ जेठ १० शनिबार o७:१३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रतिगमनको कुचेष्टालाई धुलोपिठो बनाइन्छ : प्रधानमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १० शनिबार o७:१३:oo

पोखरामा युवा संघको महाधिवेशन सुरु

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले राजावादीहरूको आन्दोलनतर्फ लक्षित गर्दै प्रतिगमनको कुचेष्टालाई धुलोपिठो बनाइने चेतावनी दिएका छन् । १५ जेठमा राजावादीहरूले काठमाडौंमा प्रदर्शनको तयारी गरिरहेका वेला प्रधानमन्त्री ओलीले त्यसमा दमन हुन सक्ने जनाउ दिए ।

शुक्रबारदेखि पोखरामा सुरु भएको एमालेको युवा संगठन युवा संघ नेपालको दसौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै ओलीले जनताले फालिसकेको राजतन्त्र अब फर्कने कुनै सम्भावना नरहेको र फर्काउन चाहने प्रयास रोक्न युवा संघ अगाडि आउनुपर्ने बताए । ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई जवाफ पनि दिए ।

‘प्रधानमन्त्रीलाई भाग्न हेलिकोप्टरको सुविधा दिनेजस्ता उत्ताउलो कुरा पनि गरेका छन् । म भन्न चाहन्छु– कुनै पनि प्रतिगमनको कुचेष्टालाई धुलोपिठो बनाइन्छ । त्यस्ता प्रयास रोक्न अग्रभागमा युवा संघ आउनुपर्छ । कुनै पनि समय हामी त्यस्ता प्रयासलाई नियन्त्रण गर्न अगाडि बढ्नुपर्ने हुन्छ,’ ओलीले भने, ‘तयारी अवस्थामा रहन म सबैलाई आग्रह गर्छु ।’ राप्रपा अध्यक्ष लिङ्देनले केही दिनअघि राजतन्त्र पुनस्र्थापनाका लागि आन्दोलन गरिने र प्रधानमन्त्री देश छाडेर भाग्न चाहे हेलिकोप्टरको व्यवस्था गरिदिने बताएका थिए ।

प्रधानमन्त्री ओलीले देशबाट जनताले राजतन्त्र उल्टाएर फालिसकेको र नयाँ संविधान बनेर राष्ट्रपति आइसकेकाले अब राजतन्त्रको सपना नदेख्न पनि चेतावनी दिए । ‘राजावादी पार्टी, संघसंस्थाले १५ जेठबाट राजालाई सिंहासनमा राख्छन् रे । देशको राजसिंहासन गइसक्यो अब घरमै सिंहासन बनाएर राख्ने होला,’ उनले भने ।

प्रधानमन्त्री ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति जगमान गुरुङलाई पनि जवाफ दिए । ‘पूर्वराजाको कुण्डली मात्रै हेरेर हुँदैन । जनताको कुण्डली हेर्नुपर्छ । ज्योतिषीहरूले मेरो कुण्डली पनि हेरे हुन्छ । राजसिंहासनको कल्पना अब हुन्न । नेपाली जनताले फालिसकेको राजतन्त्र अब फर्कन्न । राजतन्त्रविरुद्ध लडेका हामी यस देशमा छँदै छौँ, प्रतिगमनका त्यस्ता सपना नदेख्न म आग्रह गर्छु,’ उनले भने ।

भदौ लागेपछि भ्यागुता ट्वार–ट्वार गरेजस्तौ भदौ सकिएपछि ट्वार–ट्वारसमेत समाप्त हुने उल्लेख गर्दै ओलीले राजतन्त्रको भ्रममा पर्नुपर्ने आवश्यकता नरहेकाले ट्वार–ट्वार गर्नेहरूको स्वर केही समयका लागि मात्र भएको र पछि आफैँ बन्द हुने बताए ।

ओलीले झुटा लाञ्छना लगाएर जनतालाई एमालेबाट टाढा बनाउन एक समूह लागेको आरोप पनि लगाए । ‘एमालेमाथि आन्तरिक र बाह्य पक्षहरू तथा विरोधीहरूले केन्द्रीकृत र चौतर्फी आक्रमण गरेका छन् । एमालेले गल्ती गरेको भए अहिले हामी जुन ठाउँमा छौैँ, त्यस ठाउँमा आउन दिने थिएनन् । एमाले सही नीति, सुशासन र विकासका निम्ति काम गर्ने पार्टी हो । एमालेको पक्षमा बोल्दा झोले भनेर हतोत्साहित गर्नेहरूको भ्रम र अन्योलमा नपरी आफ्ना कर्तव्य पूरा गर्न म आग्रह गर्दछु,’ उनले भने ।

अध्यक्षका लागि पाँचजनाको दाबी 
युवा संघको नेतृत्वका लागि वर्तमान अध्यक्ष क्षिजित थेबे, उपाध्यक्षहरू प्रकाश गौतम, कृष्णहरि केसी, महाराज गुरुङ र महासचिव सुमन पुरीले दाबी गरेका छन् । तर, ओलीले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । ११ जेठसम्म चल्ने महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष दुई, महासचिव, उपमहासचिव, सचिव चारजना नौजना पदाधिकारीसँगै १५१ सदस्यीय नयाँ कमिटी चयन गर्नेछ । महाधिवेशनमा दुई हजार प्रतिनिधि पोखरामा छन् ।