१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १० शनिबार
  • Saturday, 24 May, 2025
विष्णु नेपाल
२o८२ जेठ १० शनिबार ११:२४:oo
Read Time : > 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

‘ठाँटीको घाम’ तापेपछि

Read Time : > 1 मिनेट
विष्णु नेपाल
नयाँ पत्रिका
२o८२ जेठ १० शनिबार ११:२४:oo

उनी जन्मेको जिल्ला खोटाङको सेरोफेरोमा केन्द्रित छ यो उपन्यास । ग्रामीण परिवेशभित्रका विविध पात्र र घटनाक्रमबाट उनिएको यस उपन्यासमा त्यहीँको माटोको सुगन्ध छ । पात्रहरूको चित्रण जीवन्त छ । मानौँ, ती हाम्रै आँखाअगाडि उभिएका छन् । तिनले कहिले हँसाउँछन् । कहिले रुवाउँछन् । कहिले छक्क पार्छन् र कहिले मख्ख पार्छन् । उपन्यास पढ्दा यस्तो लाग्छ, हरेक लेखक आफ्नै माटोमा उभिएको हुन्छ । उसले जीवनका सपना त्यहीँबाट देख्न थालेको हुन्छ । प्रकृतिका ऋतुचक्र उसकै जीवनवरिपरि घुमिरहेका हुन्छन् ।

खोटाङपूर्वको माझ किराँत । ‘ठाँटी’ त्यहाँका किराँतहरूको संस्कृति हो । पहिचान हो । मरेका प्रिय मान्छेका नाममा बनाइएको चौतारी हो । स्मृति चिह्न हो । त्यसबिचमा ठड्याइएको एउटा ढुंगामा बितेर गएका आफन्तको नाम र ऊसँग सम्बन्धित केही कुरा खिपिएको हुन्छ । त्यो ठाँटी चौताराको छेउछेउमा वरपीपल रोपिएको हुन्छ । जहाँ बटुवारेहरू भारी बिसाउँछन् । एकछिन सुस्ताउँछन् र जिन्दगीका गीत गुन्गुनाउँछन् । यो ‘ठाँटीको घाम’ उपन्यास त्यसैको सेरोफेरोमा केन्द्रित छ ।

‘...बा रेडियो बोकेर हिँडे । दिखुवापारि पुगेपछि बालाई दिसा लागेछ । बालाई रेडियो मार्न र खोल्न सिकाउन काकाले बिर्सेछन् । रेडियोका मान्छे आफैँ चुप लाग्लान् भनेर बाले सोचेका रछन् । ...तिमरु चुप लागेर वरै बस भनेर बाले सतीबयरका बुटामुनि रेडियो राखेर पर्तिर लागेछन् । तर, रेडियोमा बोल्ने मान्छे चुप नलागेपछि रेडियोका मान्छेले दिसा गरेको देख्लान् भनेर बाले सतीबयरका सेउला भाँचेर रेडियो छोपेछन् ।’

यस्ता रोचक कथा धेरै छन् उपन्यासमा । दर्शने, भैरे, बिर्खे, रिट्ठे, नन्दे, इन्द्रे, मालती, कमली र काइँलाउका गोठाले जिन्दगीका खुसी पोखिएका छन् यस उपन्यासमा । पात्रले भोगेका थुप्रै दुःख छन् । स–साना सुख छन् । दुःखभित्र पनि खुसीका झिल्का लुकेका छन् । गाउँले मायाप्रेमका कुरा छन् । साइँली बजू र काइँलाउका सुखदुःखका कथा र अनेक रैथाने कहानी छन् । ती कथा, कहानी र श्रुतिमा गाउँले जिन्दगीका दुःख मिसिएका छन् । परम्परा र विश्वास उभिएका छन् ।

आफ्ना सपना पूरा गर्न देश छाडेर अरबको मरुभूमिमा भौँतारिएका युवाका कथाव्यथा पनि निकै छन् उपन्यासमा । तर, उपन्यासकार देशको यस भयावह अवस्थाप्रति अत्यन्त चिन्तित छन् र बिदेसिएका युवालाई देश फर्काउने विभिन्न विकल्प अघि सारेका छन् । यहाँका युवामा सरकारी जागिरप्रति पनि ठुलो वितृष्णा छ । तलबले सामान्य अवस्था धान्न पनि मुस्किल छ । चाकडी–चाप्लुसी, आफ्नो मान्छे, राम्रो अफिस, राजनीतिक पार्टीपिच्छेका कर्मचारी संगठन र सरकारी जागिरको यस्तैयस्तै विकृतिको कारण ठाँटीगाउँमा एउटा नयाँ जागरण अर्थात् ‘आ–उठ’ अभियान सुरु हुन्छ । ‘जा’ अनि ‘गिर्’ होइन । ‘आऊ’ अनि ‘उठ’ । आफ्नै पौरख र स्वाभिमानमा बाँच । कौडीको भाउमा विदेशमा पसिना बगाउनेहरू आऊ आफ्नै देशमा पसिना पोख । आफू पनि बन र आफ्नो ठाउँ पनि बनाऊ । उपन्यासका प्रमुख पात्र सुदर्शन र सुबानी ठाँटीका घाम हुन् । तिनले बिस्तारै–बिस्तारै आफूजस्तै अरू युवालाई पनि साथमा लिएर पूरै गाउँमा उज्यालो छरिरहेछन् । तिनीहरू गाउँका विश्वास र भरोसा हुन् । विकास र समृद्धिका संवाहक हुन् । उनीहरूको त्याग र सुकर्मले आकर्षित भएर बिदेसिएका युवा आफ्नै गाउँ फर्किन थालेका छन् । सुदर्शन र सुबानीको सत्मार्गमा समाहित भइरहेका छन् ।

यो उपन्यास पढिरहँदा पाठकलाई तानिरहने कुरा धेरै छन् । भाषाशैली कलात्मक छ । यसमा सामाजिक रीतिथितिका कुरा छन् । बिहेमा बेहुला र बेहुली पक्षबिच भनिने सिलोकका घम्साघम्सी छन् । दसैँ र तिहारका रौनक छन् । रोटे र लिंगे पिङका रोचक सन्दर्भ छन् । गाउँमा लाहुरप्रतिको आकर्षण र लाहुरे जिन्दगीका कुरा छन् । माओवादी जनयुद्धका राप र तापका कुरा छन् । कमली र भैरेको प्रसंगबाट बैंसालु मन आफूलाई नियन्त्रण गर्न नसक्दा कसरी जवानीको उर्लंदो भेलमा हाम फाल्छन् र जिन्दगीभर पछुताउँछन् भन्ने कुराको यथार्थ चित्रण छ ।