Skip This
विश्व कूटनीतिमा टर्किएले देखाएको सन्तुलित भूमिका
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ८ बिहीबार
  • Thursday, 22 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ ८ बिहीबार o९:३७:oo
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

विश्व कूटनीतिमा टर्किएले देखाएको सन्तुलित भूमिका

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ ८ बिहीबार o९:३७:oo
  • रुसले युक्रेनमाथि आक्रमण सुरु गरेदेखि टर्किएले युक्रेनलाई हतियार दिइरहेको छ भने रुससँगको घनिष्ठ सम्बन्धलाई पनि कायम राखिरहेको छ 

गत शुक्रबार (मे १६) रुस र युक्रेनबिच फेब्रुअरी २०२२ मा युद्ध सुरु भएयता पहिलो प्रत्यक्ष भेटवार्ता भयो । टर्किएको इस्तानबुलमा भएको भेटवार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबिच भेट हुने आशा थियो । पुटिन वार्तामा नआएपछि त्यहाँ गइसकेका जेलेन्स्कीले आफ्ना प्रतिनिधिलाई मात्र वार्तामा पठाए । वार्तामा दुई देशका प्रतिनिधिमण्डलले युद्धबन्दीलाई आदानप्रदान गर्ने सहमति जनाए । 

युक्रेन र रुसबिचको पछिल्लो वार्ताका लागि चुनिएको टर्किएले बढ्दो प्रभावलाई संकेत गर्छ । युक्रेन युद्धको अतिरिक्त टर्किएले सिरियामा पनि आफ्नो प्रभाव विस्तार गरेको छ । पछिल्लो समय अमेरिकाले सिरियामा गठन भएको टर्किए समर्थित नयाँ सरकारमाथिको प्रतिबन्ध हटाएको छ । त्यसबाहेक हालसालै टर्किएले देशभित्रै पनि एक उल्लेखनीय जित हासिल गरेको छ । कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) विघटन भएको घोषणा गरिएसँगै टर्किएको केन्द्र राज्यविरुद्ध पिकेकेको ४० वर्ष लामो युद्ध समाप्त भयो ।

‘संयुक्त राज्य अमेरिका र रुसका साथै युक्रेनसँग समेत भित्री कूटनीतिक कदम चाल्न सक्ने टर्किएको हैसियतले उसको कूटनीतिक सफलतालाई दर्साउँछ,’ रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युट (आरयुएसआई)मा आबद्ध जिया मेरलले भने । विगत १५ वर्ष वा सोभन्दा बढी समययता टर्किएले आफूलाई एक महत्वपूर्ण कूटनीतिक खेलाडीको रूपमा स्थापित गरिसकेको छ । अफ्रिकामा समेत टर्किएको प्रभाव विस्तार भएको छ । त्यस्तै, छिमेकी सिरियामा ६० वर्ष पुरानो असद परिवारको शासनलाई अपदस्थ गर्नमा उसको निर्णायक भूमिका रह्यो । रुस–युक्रेन युद्धमा युद्धरत पक्षबिच  सन्तुलन कायम राखिरहेको छ । 

‘टर्किएले वार्ता आयोजना गर्नुपछाडि धेरै कारण छन्,’ द एट्लान्टिक काउन्सिलका गैरआवासीय फेलो ओमर ओज्किजिल्सिकले भने, ‘रुसले युक्रेनमाथि आक्रमण गरेको केही समयपछि नै टर्किएले अमेरिकाबाट अलग रहेर शान्ति प्रक्रिया सुरु गरेको थियो । त्यही प्रयासस्वरूप सन् २०२२ को इस्तानबुल प्रोटोकलमा सहमति भएको थियो । त्यो आफैँमा टर्किएद्वारा अग्रसर गरिएको वार्ताको नयाँ मोडेल पनि हो,’ उनले भने । तर, रुसले पछिल्लो समय इस्तानबुल सम्झौताबाट युक्रेन र पश्चिम टाढा भएको आरोप लगाउँदै आएको छ ।

‘पहिले द्वन्द्वमा कुनै हिस्सा नभएका स्विट्जरल्यान्डजस्ता तटस्थ राज्यहरूले मध्यस्थता गर्ने गर्थे । अहिलेको नयाँ मोडेलअन्तर्गत कूटनीतिक, आर्थिक तथा भूराजनीतिक स्वार्थ जोडिएको टर्किएले द्वन्द्वरत पक्षबिच सफलतापूर्वक वार्ता गरिरहेको छ,’ ओज्किजिल्सिकले थपे । टर्किएले यसबाहेक पछिल्लो समय इथियोपिया र सोमालियाबिच पनि मध्यस्थताको भूमिका खेलेको थियो । उक्त वार्ताको परिणामस्वरूप डिसेम्बरमा ती दुई मुलुकबिच ‘ऐतिहासिक मेलमिलाप’ भएको राष्ट्रपति रेसेप तैयप एर्दोगानले बताएका थिए । 

रोचक के छ भने टर्किएले जुन देश जोडिएको द्वन्द्वको मध्यस्थता गरिरहेको छ, तिनै देशलाई हतियार आपूर्ति पनि गरिरहेको छ । जस्तो युक्रेनलाई उसले आफ्नो अत्याधुनिक ड्रोन आपूर्ति गरेको छ भने सोमालियामा उसको उलेख्य सैन्य उपस्थिति छ । यसका बाबजुद टर्किए यी देश जोडिएको युद्ध रोक्न सम्बन्धित शान्ति वार्तामा आफूलाई भरपर्दो मध्यस्थकर्ताको रूपमा प्रस्तुत गर्न सक्षम छ । ‘यो एक नयाँ टर्किस मोडेल हो, जसअनुसार सो देश क्षेत्रीय कूटनीतिक शक्तिको रूपमा देखा परेको देखिरहेको छ,’ ओज्किजिल्सिकले भने । 

रुससँगको सम्बन्धमा उतारचढाव
रुस र युक्रेनबिचको वार्तामा टर्किएले पछ्याएको सन्तुलनकारी भूमिका सजिलो भने देखिँदैन । विशेषगरी अंकाराले कृष्ण सागर क्षेत्रमा रुसी विस्तारवादको विरोध गर्छ । त्यस्तै मध्यपूर्व र उत्तर अफ्रिकामा अंकारा र मस्कोले परस्परविरोधी पक्षलाई समर्थन गरिरहेको तथ्य पनि भुल्नु हुँदैन । टर्किएले युक्रेनमा रुसी आक्रमणलाई सुरुमा ‘युद्ध’को संज्ञा दियो । त्यसले उसलाई सन् १९३६ को ‘मोन्ट्रो महासन्धि’ लागू गर्ने बाटो खुलायो । यो महासन्धि प्रयोग गरेर उसले प्रभावकारी रूपमा रुसी सैन्य जहाजलाई कृष्ण सागरमा अंकुश लगाएको छ । 

सिरिया र लिबियामा पनि अंकारा र मस्को प्रतिद्वन्द्वी शक्तिको पक्षमा उभिएका छन् । लिबियामा, टर्किएले संयुक्त राष्ट्रसंघको मान्यता प्राप्त सरकारलाई समर्थन गर्छ । जबकि, विद्रोहीको कब्जा रहेको पूर्वी क्षेत्रको सरकारलाई रुसको समर्थन छ । सिरियामा टर्किएले रुस–समर्थित अल–असद शासनलाई सत्ताच्युत गर्न सफल विद्रोही फौजलाई समर्थन गर्‍यो । 

सन् २०१५ मा अंकाराले टर्किए–सिरिया सीमानजिकै एक रुसी लडाकु जेटलाई खसालेपछि सिरियाको विषयमा यी दुई देश झन्डै एक–अर्काबिच प्रत्यक्ष लड्ने स्थितिमा पुगेका थिए । उक्त घटनापछि रुस र सिरियाबिच कूटनीतिक र आर्थिक सम्बन्धमा गम्भीर गिरावट आयो । अर्को वर्ष टर्किएले एक वक्तव्य जारी गर्दै त्यस घटनाप्रति खेद जनायो । त्यसपछि दुई देशमा सम्बन्धमा सुधार आउन थाल्यो । रुस–युक्रेन युद्ध अवधिभरि टर्किएले युक्रेनलाई ड्रोन र अन्य सैन्य उपकरणको आपूर्ति गर्दा पनि उनीहरूको मित्रतापूर्ण सम्बन्ध जीवित छ । रुसले टर्किएको उक्त कदमप्रति आँखा चिम्लिएर उससँगको ‘आर्थिक, कूटनीतिक र ऊर्जा सम्बन्ध’ कायम राखेको ओज्किजिल्सिकले भने ।

टर्किएका केही नीतिप्रति मस्कोमा भित्रभित्रै असन्तुष्टि रहे पनि यस सम्बन्धले रुसलाई पनि केही फाइदा पुर्‍याएको छ । सन् २०२२ मा टर्किएले रुसमाथि लगाइएको पश्चिमी प्रतिबन्धको विरोध गर्दै त्यसलाई  परिस्थितिलाई ‘उत्तेजित’ पार्ने कार्यको रूपमा वर्णन गर्‍यो । रुसका छिमेकी देश स्विडेन र फिनल्यान्डले नेटोको सदस्यता लिने वेला टर्किएले असन्तुष्टि जनाएको थियो । नेटोमा प्रवेश गर्ने देशले विद्यमान सबै सदस्य देशको सहमति चाहिन्छ । टर्किएको असन्तुष्टिका कारण दुई मुलुकले केही महिना ढिलो मात्र सदस्यता पाउन सके । त्यसबाहेक सन् २०१७ मा टर्किएले रुसको ‘एस–४००’ मिसाइल प्रतिरक्षा प्रणाली खरिद गर्ने सम्झौता गरेको थियो । टर्किए रुसको यो प्रणाली प्रयोग गर्ने एक मात्र नेटो सदस्य हो । ‘एस–४००’ प्रणाली खरिद गरिएपछि अमेरिकाले टर्किएविरुद्ध आर्थिक प्रतिबन्ध नै घोषणा गर्‍यो । ‘दुवै पक्षले आफ्ना भिन्नतालाई स्विकार्न सिकेका छन्,’ ओज्किजिलसिकले भने । 

युक्रेनसँगको मित्रता
एस–४०० खरिदपछि बिग्रिएको टर्किए र पश्चिमको सम्बन्ध पछिल्ला वर्षमा पुनः सुमधुर बनेको छ । विशेषगरी, युक्रेन युद्धमा टर्किएको भूमिकाले यसलाई सुधार्न सघायो । सन् २०२२ मा युक्रेनलाई समुद्री मार्गमार्फत अन्न निर्यात गर्न अनुमति दिने सम्झौतामा टर्किएले महत्वपूर्ण भूमिका खेलेको थियो । त्यस्तै टर्किस जातिका तातारहरूको मूलभूमि क्रिमियामाथिको रुसी–कब्जा अन्त्य भएर युक्रेनमै फिर्ता हुनुपर्ने आफ्नो अडानमा पनि टर्किए दृढ रहेको छ । 

‘सेन्टर फर युरोपियन पोलिसी एनलाइसिस’का शीर्ष फेलो स्टिवन होरेलका अनुसार युक्रेन टर्किएको रुससँगको नजिकको सम्बन्धप्रति असन्तुष्ट रहे पनि ‘टर्किएले उनीहरूलाई विगतदेखि दिँदै आएको समर्थनको कदर गर्छन् ।’ गत शुक्रबारको वार्ताको सहजीकरण गर्ने र युक्रेनलाई निरन्तर समर्थन दिने टर्किस कदमका लागि एर्दोगानलाई बारम्बार धन्यवाद दिएका थिए । वार्तामा मध्यस्थताको भूमिकाकै कारण टर्किएको रुससँगको घनिष्ट सम्बन्धलाई पश्चिमले आजकल आलोचना गर्दैन । र, आफ्नै केही लक्ष्य पूरा गर्ने मौका दिन्छ । ‘टर्किएले अन्तर्राष्ट्रिय वार्ता आयोजनास्थलको केही प्रतिष्ठा प्राप्त गर्नेछ । यदि तिनीहरू सफल भए भने अझ बढी,’ होरेलले भने, ‘टर्किस अधिकारीले अहिले आफूलाई क्षेत्रीय शक्तिको रूपमा मात्र नभई विश्वव्यापी मञ्चमा हेर्न थालेका छन् । यदि तिनले शान्तिको लक्ष्य हासिल गर्न सघाउन सफल भयो रुस र युक्रेन दुवैसँगको द्विपक्षीय सम्बन्धमा लाभ पुग्नेछ ।’

अल जजिराबाट