
डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख (डिएफओ) रामबिचारी ठाकुरलाई मोसो दलिएको छ । नेकपा बहुमतनिकट कम्युनिस्ट युवा संगठनका नेता–कार्यकर्ताहरूले (डिएफओ) ठाकुरलाई मोसो दलेका हुन् ।
बिहीबार ठाकुरकै कार्यकक्षमै गएर उनीहरूले मोसो शरीरमै छापेका थिए । कम्युनिस्ट युवा संगठन नेपालको सामाजिक सञ्जाल फेसबुक पेजमा पोस्ट भएको भिडियोअनुसार मोसो दल्न गएका युवाहरूले भ्रष्टाचार गर्ने भन्दै प्रश्न गरिरहेका थिए । कम्युनिस्ट युवा संगठन नेपालले मोसो दलेको भिडियोअनुरूप डिएफओ ठाकुरले काठमा भ्रष्टाचार गरेकोे दाबी गरेको देखिन्छ ।
आफूमाथि कार्यकक्षमै पुगेका सेवाग्राहीका रूपमा आएका तीन युवाहरूले खल्लामछेट्टीका काठ तस्करमाथि किन कारबाही नगरेको भन्दै प्रशन गरेर एक्कासि मोसो फालेर गएको कञ्चनपुरका डिभिजन वन अधिकृत रामबिचारी ठाकुरले बताए । ‘म कार्यकक्षमै बसेकाे थिएँ, तीन युवा भित्र आए, एक बाहिरै रहेछन्,’ उनले भने, ‘काठ तस्करमाथि किन कारबाही नगरेको भन्यो, मैले भने तीन वर्षअघिको घटना मलाई थाहा छैन भन्दै थिएँ, मोसो फालेर गए ।’ आफूले काठदेखि कुनै पनि योजनामा भ्रष्टाचार नगरेकोे उनको दाबी छ । उनले आफूले अनैतिक काम गरेकोे भए छानबिन गर्नसमेत सरोकारवाला निकायसँग आग्रह गरेका छन् ।
कञ्चनपुरमा आउने वन अधिकृतले लामो रकम मोलमोलाई गरेर आउने यसअघि पनि जिल्लाकै दलहरूका नेता–कार्यकर्ताहरूले बताइरहेका थिए । केही वर्षअघि संघीय संसद्को अनुगमनका क्रममा कांग्रेसका एक नेताले कञ्चनपुर आउने डिएफओले सामुदायिक वन, काठ व्यवसायी, तस्करबाट लाखौँ रकम घुस आउने भएपछि जिल्लामा सरुवा भएर आउँदा पनि लाखौँ रकम राजनीतिक, प्रशासनिक पहुँचका भरमा आउने गरेको धारणा सार्वजनिक गरेका थिए ।
यसअघि पनि एक वन अधिकृतले मदिरा सेवन गरेर सुप प्रदेशभरिका डिएफओ कार्यालयबाट कमिसन आउने भिडियो सार्वजनिक भएको थियो । यसरी वन सेवाभन्दा पनि केही भ्रष्ट कर्मचारीका लागि कमाउने धन्दाका भए पनि वास्तविक जनताले घर बनाउनसमेत काठ नपाउने अवस्था सिर्जना भएको नागरिकको गुनासो छ ।
यसअघि पनि नागरिकस्तरमा सामुदायिक वनको काठ कटानी, छुटपुर्जी, आपूर्तिको काठ वितरण, काठ व्यवसायीबाट कमिसन, पहुँचवाला काठ तस्करलाई छुट, दाउरा ल्याउनेमाथि कारबाही भएको गुनासो बढिरहेको थियो ।
बहुमत युवाहरूले भ्रष्टाचारी भन्दै जिल्लाकै डिभिजन वन कार्यालयका प्रमुखलाई मोसो दलेपछि त्यसको पक्ष र विपक्षमा टीकाटिप्पणी भइरहेका छन ।