Skip This
श्रेष्ठ र राजकर्णिकारमाथि ओसिएको कारबाही
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ८ बिहीबार
  • Thursday, 22 May, 2025
२o८२ जेठ ८ बिहीबार o८:३३:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

श्रेष्ठ र राजकर्णिकारमाथि ओसिएको कारबाही

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ८ बिहीबार o८:३३:oo

ओलम्पिक कमिटी अफ एसिया (ओसिए)को इथिक्स कमिटीले नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ र नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारमाथि कारबाही गरेको छ । इथिक्स कमिटीले श्रेष्ठ र राजकर्णिकारलाई ओसिएको कुनै पनि कार्यक्रममा तीन महिना सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाएको हो । ओसिएले दुवैलाई १८ मेदेखि लागू हुने गरी कारबाही गरिएको जनाएको छ । 

ओसिएको निर्देशन र सम्झौताअनुसार जिम्मेवारी निर्वाह नगरेको र नेपाली खेलाडीको हितविरुद्ध कार्य गरेको जनाउँदै दुवै संघका अध्यक्षलाई कारबाही गरेको इथिक्स कमिटीका प्रमुख देवेन्द्रनाथ सरान्गीले जनाएका छन् । ‘एनओसी र ओसिएसँगको सम्झौताअनुसारको जिम्मेवारी निर्वाह गर्न नसकेको र ओसिएको निर्देशनको पालनमा नगरेका कारण कारबाही गरिएको जानकारी गराउँदछौँ,’ ओसिएको पत्रमा भनिएको छ । 

कारबाहीमा परेका श्रेष्ठले भने राज्यले मान्यता नदिएको एनओसीले गैरकानुनी रूपमा ओसिएको सहयोगमा आफूहरूलाई कारबाही गराएको आरोप लगाएका छन् । ‘ओसिएले गरेको कारबाही सत्य हो, तर यो प्रक्रिया गलत हो,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘हामी कहिल्यै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओसिएको विरुद्धमा गएका छैनौँ, ओलम्पिक मुभमेन्टअनुसार अगाडि बढिरहेका छौँ ।’ 

कुवेतमा भएको सम्झौता पालना नगरेको आरोप
गत ११ मार्चमा कुवेतमा भएको सम्झौता श्रेष्ठ र राजकर्णिकारले पालना नगरेको आरोप ओसिएले लगाएको छ । ओसिएका महानिर्देशक हुसेन अल मुसल्लमको अध्यक्षतामा दुईबुँदे सम्झौता भएको थियो । गत १३ पुसमा भएको एनओसी निर्वाचनअघि पाँच राष्ट्रिय संघहरूले अदालतमा मुद्दा हालेका थिए । नेपालको ओलम्पिक विवाद सुल्झाउन ओसिएले ती पाँच संघका पदाधिकारीलाई कुवेतमा बोलाएर छलफल गरेको थियो । बैठकबाट पाँच संघलाई एनओसीको पूर्ण सदस्यता प्रदान गर्ने र अदालतमा राखेको मुद्दा फिर्ता लिने सम्झौता भएको थियो । बैठकको १५ दिनभित्रै एनओसीले भर्चुअल विशेष साधारणसभाबाट पाँच संघलाई पूर्ण सदस्यता प्रदान ग¥यो । एनओसीले विशेष साधारणसभाबाट पेन्ट्राथलन, घोडचढी, रग्बी, स्केटिङ तथा स्केट बोर्डिङ र बेसबल संघलाई मान्यता प्रदान गरेको थियो । ओसिएले २४ मार्चमा सम्झौताअनुसार मुद्दा फिर्ता लिन निर्देशन दिएको थियो । चार संघले अदालतबाट मुद्दा फिर्ता लिइसकेका छन् । तर, घोडचढी संघका अध्यक्ष राजकर्णिकारले भने अहिलेसम्म फिर्ता लिएका छैनन् । कुवेतमा भएको छलफलमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ उपस्थित थिए । निलेन्द्रराज श्रेष्ठलाई भने ओसिएले तत्कालीन एओसीकै महासचिवका रूपमा बोलाएको थियो । 

सफाइ नदिई कारबाही
ओसिएको ९० दिनको कारबाहीमा परेका ट्रायथलन संघका अध्यक्ष श्रेष्ठले भने आफूहरूलाई एकपटक पनि सफाइको अवसर नदिएको गुनासो गरेका छन् । ‘व्यक्ति वा संघलाई कारबाही गर्नुअघि कम्तीमा एकपटक सफाइको मौका दिनुपर्छ, तर ओसिएले सीधै कारबाहीको पत्र पठाएको छ,’ उनले भने, ‘यो सरासर गलत प्रक्रियाबाट कारबाही गरिएको छ ।’ उनले एनओसीविरुद्ध अन्तर्राष्ट्रियस्तरसम्म कानुनी लडाइँ लड्न आफू तयार रहेको चेतावनी दिएका छन् । ‘राज्यको मान्यता नपाएको एनओसीविरुद्ध अन्तर्राष्ट्रियस्तरसम्म लड्छु,’ उनले भने । 

कारबाहीले केही असर गर्दैन : निलेन्द्रराज श्रेष्ठ, अध्यक्ष, ट्रायथलन
ओसिएले ९० दिनको कारबाही गरेको सत्य हो । यसले कुनै असर गर्छजस्तो लाग्दैन । हामीलाई एकपटक पनि सफाइको अवसर नदिई कारबाही भएको छ । सामान्यतः एकपटक आरोपको विषयमा सफाइको अवसर दिनुपर्ने हो, तर ओसिएले गरेन । राज्यबाट मान्यता प्राप्त नभएको एनओसीले हामीलाई कारबाही गराउन ओसिएको सहयोग लिएको देखिन्छ । अहिलेसम्म ओलम्पिक मुभमेन्टअनुसार काम गरिरहेको छु । यसविरुद्ध हामी जान सक्दैनौँ ।