
नवौँ प्रधानमन्त्री कप एनभिए क्लब भलिबल लिगका लागि हेल्प नेपाल र गण्डकीद्वारा समान तीन पाकिस्तानी खेलाडी अनुबन्ध
साबिक विजेता हेल्प नेपाल स्पोर्टस् क्लब र गण्डकी प्रदेश भलिबल संघले बिहीबारदेखि सुरु हुने नवौँ प्रधानमन्त्री कप एनभिए क्लब भलिबल लिगका लागि पाकिस्तानी खेलाडीलाई समावेश गरेका छन् । हेल्प नेपाल र गण्डकीले समान तीनजना पाकिस्तानी खेलाडी अनुबन्ध गरे । हेल्प नेपालमा मुवासर राजा बाट्टो, माजर अली र सेटर वालिद खान छन् । गण्डकीबाट आउटसाइड हिटर वाकर खान, अप्पोजिट हिटर ऐमल खान र सेटर अदनान खानले खेल्नेछन् । पोखरामा प्रतियोगिता १५ जेठसम्म हुनेछ ।
नेपाल भलिबल संघको गत २४ वैशाखमा बसेको कार्यसम्पादन समितिको बैठकले नवौँ संस्करण पोखरामा गर्ने निर्णय गरेको थियो । त्रिपुरेश्वरस्थित कभर्डहल स्तरोन्नतिका लागि मर्मतसम्भारको काम भइरहेकाले यस वर्षको लिग पोखरामा गर्ने निर्णय भएको हो । एनभिए पहिलोपटक काठमाडौंबाहिर हुन लागेको हो ।
१४ टोली सहभागी
लिगमा पुरुषतर्फ आठ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्ने संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए । उनका अनुसार सहभागी प्रत्येक टोलीले तीनजना विदेशी खेलाडी राख्न पाउनेछन् । विदेशी खेलाडीको आबद्धताले खेलाडीको खेलस्तरमा सुधार ल्याउन सहयोग गर्ने चन्दको भनाइ छ ।
पुरुषतर्फ हेल्प नेपाल, नेपाल एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, कोशी, गण्डकी प्रदेश भलिबल संघ, सुदूरपश्चिम र बुटवलको मणिमुकुन्द भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । महिलामा नेपाल पुलिस, एपिएफ, न्यु डायमन्ड युथ स्पोर्टस्, आर्मी, बुटवलको एभरेस्ट भलिबल क्लब र कर्णाली प्रदेश भलिबलले प्रतिस्पर्धा गर्ने भएका छन् ।
विजेताले आठ लाख पाउने
प्रतियोगिताको पुरुष र महिलातर्फको विजेताले समान आठ लाख पाउनेछन् । यसैगरी, उपविजेताले चार लाख र तेस्रो स्थानमा रहने टोलीले दुई लाख पाउने संघले जानकारी दिएको छ । यस वर्ष संघ मोफसलका प्रतियोगितामा व्यस्त रहेको र १०औँ राष्ट्रिय खेलकुदको पटक–पटक तयारी गर्नुपर्दा नवौँ च्याम्पियनसिपको छनोट प्रतियोगिता गर्न नसकेको संघले जनाएको छ । गत वर्षको लिगमा सहभागी भएका टोलीबिच यसपटक लिगमा प्रतिस्पर्धा गराइएको संघले जनाएको छ ।
सर्वाेत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन् । विधागततर्फ उत्कृष्ट हुने लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र टिम प्रशिक्षकले जनही २५ हजार रुपैयाँ हात पार्नेछन् । विजेता टोली आउँदो जुलाईमा माल्दिभ्समा आयोजना हुने काभा च्याम्पियनसिप लिगमा सहभागी हुनेछ । ९० लाख बजेटमध्ये ३२ लाख पुरस्कारका लागि खर्च हुनेछ ।
पोखरामा भलिबलको रौनक
पोखराले पहिलोपटक प्रधानमन्त्री कप भलिबल लिग आयोजना गर्न पाउँदा यहाँको रौनक फरक बनेको छ । दशरथ रंगशालाको कभर्डहलको मर्मरसम्भारको कार्य भइरहेका कारण पोखराले पहिलोपटक प्रतियोगिता आयोजना गर्ने अवसर पाएको हो । संघका अध्यक्ष चन्दले भलिबलका ठुलो प्रतियोगितालाई विकेन्द्रीकरण गर्ने लक्ष्यका साथ पोखरामा आयोजना गर्न लागेको बताए ।
‘संघले ठुलो भलिबल प्रतियोगितालाई विकेन्द्रीकरण गर्ने लक्ष्य राखेको छ, यसकारण पहिलोपटक एनभिए लिग पोखरामा आयोजना गर्न लागेको हौँ,’ चन्दले भने । पोखरामा संघले वार्षिक क्यालेन्डरअनुसार ठुलो प्रतियोगिता गर्न लागेपछि स्थानीय निकै उत्साहित बनेका छन् । संघले आउँदो दिनमा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता पोखरामा आयोजना गर्न सकिने चन्दले बताए । ‘पोखराको कभर्डहलको क्षमता धेरै छ । यहाँ खेलाडीको चेन्जिङ रुमदेखि सुविधा पनि राम्रो छ,’ उनले भने, ‘हलमा बत्तीको राम्रो व्यवस्था हुँदा आगामी दिनमा अझै सुधारको अपेक्षा राखेका छौँ ।’