
मकवानपुरको मनहरीमा बाघको आक्रमणबाट एकजना महिला घाइते भएकी छिन्। प्रहरीका अनुसार स्थानीय ४० वर्षीया फूलमाया चेपाङ घाइते भएकी हुन्।
गाउँपालिकाको वडा नम्बर ९ स्थित ज्यामिरे मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएकी फूलमायालाई बिहीबार दिउँसो बाघले आक्रमण गरेर घाइते बनाएको हो। बाघको आक्रमणबाट गर्धन र गालामा गम्भीर चोट लागेको उनको मनहरी अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार फूलमायासहित चारजना महिलाहरू बिहीबार दिउँसो घाँस काट्न वनमा गएका वेला बाघले आक्रममण गरेको थियो। घाँस काटिरहेको वेला उनलाई एक्कासि बाघले आक्रमण गरेको बताइएको छ। बाघले आक्रमण गरेपछि अन्य तीनजनाले ठुलो आवाजमा कराएपछि बाघ जंगलतिर फर्किएको उनीहरूको भनाइ छ।