Skip This
राजमार्गका पुल भाँचिन र सडक भत्किन थालेपछि सीमानाकामै भारमिलान गर्न व्यावसायीलाई निर्देशन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ६ मंगलबार
  • Tuesday, 20 May, 2025
२o८२ जेठ ६ मंगलबार २२:३८:oo
Read Time : > 1 मिनेट
अर्थ

राजमार्गका पुल भाँचिन र सडक भत्किन थालेपछि सीमानाकामै भारमिलान गर्न व्यावसायीलाई निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ६ मंगलबार २२:३८:oo

केही महिनाको फरकमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीका दुई पुल भाँचिएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले ‘ओभरलोड’ नियन्त्रण गर्न कडाइ गरेको छ ।

मंगलबार बसेको सुरक्षा निकायको बैठकले बेलहिया नाकाबाट नेपाल प्रवेश गर्न भारतीय मालबहाक सवारीसाधनका कारण राजमार्ग भत्किनुका साथै केही महिनाको अन्तरालमा दुई पुल भाँचिएपछि रुपन्देही प्रसाशनले ओभरलोड नियन्त्रणमा कडाई गरेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । 

निर्णय गरेर सम्बन्धीत निकायमा कार्यान्वयनका लागी परिपत्र गरिसकेको उनको भनाइ छ । उनले भने, ‘बिहीबारदेखि निर्णय कार्यान्वयन प्रक्रियामा कडाई गर्छाैँ ।’

निर्देशन अव्यवहारिक : उद्योग व्यवसायी
भारतबाट नेपाल प्रवेश गर्ने ढुवानी साधनलाई भन्सार कार्यालय परिसरमा नै भार मिलान गर्ने जिल्ला प्रशासन कार्यालय रुपन्देहीको निर्देशनलाई उद्योग व्यवसायीले विरोध गरेका छन् । मंगलवारदेखि मालवाहक ढुवानी साधन चेकजाँच र भारमिलान गर्न प्रहरीलाई निर्देशन दिएपछि व्यावसायीले विरोध गर्न थालेका हुन् ।

भुकम्प र कोभिडको माहामारी पछि संकटमा परेका नेपालमा उद्योग कलकारखानालाई बन्द गराउने नियतका साथ प्रमुख जिल्ला अधिकारीबाट यो निर्देशन आएको उद्योग व्यवसायीहरूको भनाइ छ ।

विगतमा पनि विभिन्न निकायहरूले मालवाहक ढुवानी साधनहरुलाई  विभिन्न प्रकारका समस्याहरु भन्सार विन्दुमा पार्ने गरेपछि मिति २ जेठ ०७६ गृहमन्त्रीस्तरको निर्णयले औद्योगिक कच्चा पदार्थ बोकेका ढुवानी साधनलाई नरोक्ने निर्देशन जिल्ला प्रशासन कार्यालयहरूलाई गरेको थियो । 

गृहको परिपत्रअनुसार नजिकको बजार र औद्योगिक क्षेत्रसम्म पैठारी गरिने फलामे रड, बिलेट, जिप्सन, खनानी, वायर, कोइला जस्ता औद्योगिक कच्चा पदार्थ ढुवानी गर्न दिने निर्णय भए पनि त्यसको वेवास्ता गर्दै प्रमुख जिल्ला अधिकारीले निर्देशन दिएको व्यावसायीहरूको दाबी छ । 

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले प्रमुख जिल्ला अधिकारीको एकतर्फी निणर्य अव्यवहारिक भएका बताए ।

‘सर्वपक्षिय सरसल्लाह र छलफलबाट यस्ता निणर्य प्रमुख जिल्ला अधिकारीले गर्नुपर्ने हो ।’ अध्यक्ष आचार्यले भने, ‘यो एकतर्फी निणर्य र निर्देशनले संकटमा परेका उद्योग बन्द हुनेछन् ।’ यो निणर्य सच्चाउन उद्योग व्यवसायीहरूको माग छ ।

नेपाल आयल निगममा आउने ८० टनभन्दा माथिका ट्याङ्करहरूमा पेट्रोलियम पदार्थलाई प्रमुख जिल्ला अधिकारीको निर्देशनले कसरी भारमिलान हुन्छ भन्दै अध्यक्ष आचार्यले प्रतिप्रश्न गरे । 

उनले भने, ‘मार्मल उद्योगमा आउने एउटै ढुंगा ८५ टन भन्दामाथिका हुन्छन् ।’ तेस्रो मुलुकबाट आउने कच्चा पदार्थ स्वाविन तेल, सनफ्लावर तेल बोकेका ट्याङ्करलाई समेत भारमिलान गर्न नसकिने सिद्धार्थ उद्योग वाणिज्य संघले जनाएको छ ।

भैरहवा भन्सार एजेन्ट संघ, रुपन्देहीका अध्यक्ष मधुप्रसाद पन्थीले प्रमुख जिल्ला अधिकारीको निर्देशन अव्यवहारिक भएको बताए । धेरैजसो कच्चा पदार्थ भारमिलान गर्न नमिल्ने प्रकारका हुने भन्दै अध्यक्ष पन्थीले जिल्ला प्रशासनको एकतर्फी निणर्य भन्सारले मान्न बाध्य नहुने जनाए ।

नेपाल भन्सार एजेन्ट महासंघका पूर्व सचिव तथा सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव कृष्णप्रसाद घिमिरेले के अव भन्सारमा राजस्व फारम भर्न पनि ढुवानी व्यवसायीलाई सोध्न पर्ने हो ? भन्दै प्रमुख जिल्ला अधिकारीलाई प्रतिप्रश्न गरे । 

भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले भन्सार विन्दुमा भारमिलानका लागि प्रमुख जिल्ला अधिकारीको निर्देशात्मक परिपत्र भन्सार ऐन ०६४को दफा ८८ को विपरित हुने बताए ।

भन्सार परिसरभित्र रहेको मालवस्तु भन्सार कार्यालयबाट जाँचपास भै भन्सार क्षेत्रबाट नहटाएसम्म सो मालवस्तुका सम्बन्धमा कुनै अधिकारी वा निकायले कुनै प्रकारको हस्तक्षेप गर्न नमिल्ने कानुनी प्रावधान रहेको प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिए । भारमिलानका लागि भन्सार कार्यालय परिसरबाट बाहिर लगेर मात्र गर्न सकिने भन्सार अधिकृत रेग्मीले बताए ।