
बागमती प्रदेश सभाको विषयगत समितिहरूमा विचाराधीन चार विधेयकका प्रतिवेदन प्रदेश सभा बैठकमा पेस भएका छन्। संसद्को हिउँदे अधिवेशनमा पेस भएर छलफलका क्रममा रहेका यी संशोधन विधेयकका प्रतिवेदनहरू मंगलबार बसेको प्रदेश सभा बैठकमा पेस भएका हुन्।
बैठकमा संसदीय समितिले दफावार छलफलपछि संशोधन प्रस्तव पारित गरी तयार गरेको विधेयकका प्रतिवेदन पेस गरिएको हो। मंगलबारको बैठकमा शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुरप्रसाद ढकालले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी प्रतिवेदन र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, ०७६ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी प्रतिवेदन पेस गरेका हुन्।
यस्तै, उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले प्रदेश औद्योगिक व्यवसाय ऐन, ०७६ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी प्रतिवेदन र प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन ०७६ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी प्रतिवेदन पेस गरेका हुन्।
मंगलबारकै बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरेका छन् भने मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले मुख्य न्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन पेस गरेका छन्।
त्यसअघि मंगलबारको प्रदेश सभा बैठकमा विशेष समयको कार्यसूची रहेको थियो। विशेष समयमा बोल्ने अधिकांश सांसदले प्रदेश सरकारको कामकाज र विकास निर्माणको विषयमा आ–आफ्नो धारणा राखेका थिए। उनीहरूले सरकार जनताप्रति गम्भीर बन्न नसकेको भन्दै गुनासो गरेका थिए। यसैगरी, उनीहरूले सरकारले बजेट विनियोजनलाई सन्तुलित बनाएर समानुपातिक विकासमा जोड दिनुपर्ने धारणा पनि राखेका थिए।