Skip This
अस्पताल जाँदै थिइन् चन्द्रा, तर सडकमै जन्माइन् छोरा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ६ मंगलबार
  • Tuesday, 20 May, 2025
मोहन विष्ट कञ्चनपुर
२o८२ जेठ ६ मंगलबार २o:४९:oo
Read Time : > 1 मिनेट
समाचार

अस्पताल जाँदै थिइन् चन्द्रा, तर सडकमै जन्माइन् छोरा

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ जेठ ६ मंगलबार २o:४९:oo

सुदूरपश्चिम प्रदेशकोे राजधानी जिल्ला कैलाली सडकलगायत अन्य सुविधाका हिसाबले सुगम मानिन्छ । तर, त्यही सुगम जिल्लाकी एक गर्भवती महिलाले सडकमै बच्चा जन्माएकी छिन् । 

गोदावरी नगरपालिका–१, वसन्तपुर गुरही टोलमा डेरा गरी बस्दै आएकी थलारा गाउँपालिका बझाङकी २४ वर्षीया चन्द्रा आचार्यले मंगलबार सडकमै बच्चा जन्माएकी हुन्। 

बिहान इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियामा वसन्तपुर गुरही टोलमा एक महिला बेवारिसे अवस्थामा सडक छेउमा बेहोस भएको खबर आउँछ । त्यही खबरमा आधारमा इप्रका मालाखेतीका इन्चार्ज प्रहरी नायब उपरीक्षक(डिएस्पी) रणबहादुर चन्दले खैराना प्रहरी बिटलाई बुझ्न निर्देशन दिन्छन् । खैराना प्रहरी बिटमा कार्यरत प्रहरी जवान चन्द्रिका देउवा उद्धारका लागि जान्छिन् । उद्धारका लागि पुगेकी प्रहरी जवान देउवा एक गर्भवती महिला बेहोस अवस्थामा देखेपछि त्यही पहरा दिएर बस्छिन् । साथै, अस्पताल लैजान एम्बुलेन्स पनि बोलाउँछिन् । तर, एम्बुलेन्स समयमा पुग्दैन, महिलालाई सुत्केरी व्यथाले च्यापिसकेको हुन्छ । छोरा जन्माएपछि मात्रै एम्बुलेन्स पुग्छ । बच्चा जन्माइसकेपछि पुगेको पद्मा अस्पतालका डा. गणेश फुलारा नेतृत्वको टोलीले बच्चा र महिलालाई अस्पताल लैजान्छ ।

इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाका इन्चार्ज डिएसपी रणबहादुर चन्दले सुत्केरी महिला र शिशुको अवस्था अहिले समान्य रहेको बताए । सुत्केरी आचार्यको उद्धारमा खटिएकी प्रहरी जवान चन्द्रीका देउवाले आफू महिला भएको स्थानमा पुग्दा बेहोस अवस्थामा भेटिएको बताइन् । ‘मलाई अफिसले महिला भएको स्थानमा खटायो, म त्यहाँ गए। त्यहाँ पुग्दा एक स्थानीयको आँगनमा राखिएको थियो । केही बेरमै चन्द्राले छोरा जन्माइन्, मैले सालनाल पनि सफा गरिदिएँ,’ उनले भनिन्।

दशकअघि प्रहरी सेवामा प्रवेश गरेकी देउवाले राष्ट्र सेवासँगै जनताको सेवा गर्न पाउँदा प्रहरीमा जागिर खाएको गर्व लागेको बताइन् ।

भेरीगंगा नगरपालिका–८ सुर्खेतकी चन्द्राले केही समयअघि बझाङका युवक डम्बर जोशीसँग विवाह गरेकी थिइन्। चन्द्राका श्रीमान् रोजगारीका लागि भारतमा छन् । डेरामा एक्लै बस्ने चन्द्रा बेथाले च्यापेपछि पैदलै अस्पताल आउँदै थिइन्। तर, बिच बाटैमा बेहोस भइन्। यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।