
‘गाउँ आएको बाटो’ चलचित्रको वितरण अधिकार बेलायतको वितरण कम्पनी ‘अन्डरग्राउन्ड स्लेट’ले किनेको छ। ‘अन्डरग्राउन्ड स्लेट’ले एक वक्तव्य जारी गर्दै दुई वर्षका लागि वितरण अधिकार किनेको जनाएको छ। योसँगै नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’ जुलाई पहिलो सातादेखि बेलायतको ४० भन्दा बढी हलमा प्रदर्शन हुने भएको छ।
नेपाली ग्रामीण परिवेशको कथामा आधारित चलचित्रले गाउँमा पुगेको सडकले एउटा परिवारमा ल्याएको परिर्वतन र त्यसले निम्त्याएको चुनौतीलाई चित्रण गर्छ। दयाहाङ राई, पशुपति राई र प्रसन राईको मुख्य भूमिका रहेको यो चलचित्रले आधुनिकता र परम्पराको लडाइँले मानिसले भोग्नुपरेको विषयलाई गहन रूपमा उठान गरेको छ।
अन्डरग्राउन्ड स्लेटका सह–संस्थापकले ग्याब्रिएल वेट्जले निर्देशक नवीन सुब्बाको चलचित्र प्रदर्शनको लागि सहकार्य गर्न पाउँदा उत्साहित रहेको बताएका छन्। विज्ञप्तिमा उनले भनेका छन्, ‘क्षमतावान नेपाली फिल्ममेकर नबीन सुब्बासँग सहकार्य गर्न पाउँदा अत्यन्त उत्साहित छौँ।’
निर्देशक सुब्बाले नेपाली सिनेमालाई अझै पनि विश्वस्तर दर्शकमाझ प्रर्याप्त रूपमा प्रदर्शन गर्न नसकेको बताए। ‘नेपाली सिनेमा अझै पनि विश्वस्तरमा पर्याप्त रूपमा प्रदर्शन हुन सकेको छैन। त्यसैले, यस्तो अन्तर्राष्ट्रिय सहकार्य महत्वपूर्ण छ,’ उनी भन्छन्, ‘अन्डरग्राउन्ड स्लेटले सीमान्तको कथा मेनस्ट्रीमको लागि योग्य ठानेर मेरो विश्वासलाई सेयर गरेको छ। यो चलचित्रले नेपाली लेन्समार्फत विश्वव्यापी विषयलाई चित्रित गर्छ। सांस्कृतिक गहिराइ र रचनात्मक जोखिमलाई महत्त्व दिने टिममार्फत बेलायतती दर्शकमाझ देखाउन पाउँदा उत्साहित छु।’
बेलायतका लागि नेपाली राजदूत चन्द्र घिमिरेले नेपाली कथा र सांस्कृति बोकेको चलचित्र बेलायती दर्शकलाई देखाउँदा दुई देशबिचको सम्बन्ध थप बलियो बनाउने बताए।
फिल्मका निर्माता अमोद राईले नेपाली कला र संस्कृतिलाई विश्वमञ्च पुर्याउन सधैँ लागि परिरहेको बताए। निर्माता राईले चलचित्रलाई अस्ट्रेलिया र इटालीमा प्रदर्शन लागि वितरण कम्पनीसँग सम्झौता गरिसकेकोसमेत बताए। यसअघि ‘गाउँ आएको बाटो’ हङकङ र थाइल्यान्ड बक्स अफिसमा समेत रिलिज भइसकेको छ।