१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ६ मंगलबार
  • Tuesday, 20 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ ६ मंगलबार o७:o४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ओली–बालेन विवाद शृंखला 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ ६ मंगलबार o७:o४:oo

काठमाडौं महानगरका मेयर बालेन शाहले मेयरमा उम्मेदवारी दिएपछि चुनावकै वेला एमाले अध्यक्ष केपी ओलीबाट टिकट पाएका एमाले उम्मेदवार केशव स्थापितले ‘र्‍यापर केटो आफूसँग भिड्न आएको’ भन्दै होच्याउने गरी व्यंग्य कसेका थिए । भलै त्यसलाई चुनावी घोचपेचको रूपमा मात्रै लिइयो । जब स्थापितलाई तेस्रो नम्बरमा धकेलेर बालेन मेयरमा उदाए, त्यसको केही समयपछि ओली नै बालेनविरुद्ध खनिन थाले । 

महानगरको फोहोर नउठेपछि बिग्रिएको सम्बन्धबिच ओलीले बालेनलाई ‘केटाकेटी’ भनिदिएपछि सामाजिक सञ्जालमा ‘वार’ सुरु भयो । बालेनको निर्देशनमा धरहरामा पार्किङ खुलाएपछि त ओली झन् बिच्किए । यिनै घटनाक्रमबिच बालेनले झापा दमकमा ओलीको पहलमा ठड्याइएको बिजनेस टावरलाई फेसबुकबाटै ‘अग्लो घर’को संख्या दिए ।

सरकारले चक्रपथ निर्माणमा ढिलासुस्ती गरेर जनतालाई सास्ती दिएको भन्दै मेयर बालेनले गत वर्ष एमालेबाट भौतिक पूर्वाधारमन्त्री रहेका रघुवीर महासेठलाई दैनिक एक ट्रक धुलो उपहार पठाउने भन्दै फेसबुकमा लेखे । त्यसलगत्तै सडक विभागअन्तर्गत सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंको गेटमा एक ट्रक धुलो फ्याँकेको भिडियोसमेत सार्वजनिक गरे । ओली झन् आकोशित भए, सार्वजनिक कार्यक्रमबाटै विरोध गरे ।

न्युरोडमा सडकपेटी विस्तारका क्रममा महानगर र सडक विभागबिचको विवादमा पनि एमाले बालेनको आलोचनामा उत्रियो । त्यसबारे एमाले सचिव योगेश भट्टराई सदनमै बोले । एमालेबाट निर्वाचित वडाध्यक्ष चिनीकाजी महर्जनले बालेनले क्षेत्राधिकार मिचेर न्युरोडमा सडकपेटी विस्तार गरेको भन्दै विरोध गरे । यो प्रकरणमा एमाले र कांग्रेस जनप्रतिनिधिले उनलाई घेरे ।

महानगरले भत्काएको न्युरोडको सडक ओली सरकारले बनाउन लागेपछि बालेनले गिरिबन्धु टी–स्टेटमा मुछिएका ओलीमाथि फेसबुकबाटै कटाक्ष गरे । ‘यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउन थाल्नुभएछ,’ उनले लेखे । विवाद बढ्दै जाँदा बालेन समर्थकले ओलीको फेसबुक पेज अनफलो अभियान नै चलाए ।

ओलीसँग बालेनको अर्काे टकरावको विषय एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्मासम्बन्धी मुद्दा हो । शर्माको घरमा काम गर्ने एक बालिकालाई महानगरपालिकाले गत वर्ष जेठमा उद्धार गरेको थियो । छानविनको क्रममा उनलाई शर्माले यातना दिने गरेको खुल्यो । सोही आधारमा महानगरले सांसद शर्माविरुद्ध काठमाडौं प्रहरीमा जाहेरी दियो ।

तर, ओली सरकारकै दबाबमा शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय गरिएकोमा बालेन आक्रोशित बनेका थिए । पछिल्लो समय प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर टकराव चलिरहेको छ ।